निर्णय नं. ३६१३ - खुन डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६१३ - खुन डाँका भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०५/१७ ३३२५ निर्णय नं. ३६१३ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको फौ.पु.नं. ४६९ फैसला भएको मिति : २०४५।५।१७।६ मा पुनरावेदक/वादी : लक्ष्मण भुजेलको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : जि.सर्लाही पर्सा गा.पं.वा.नं.९ बस्ने विलास महतो सुडीसमेत मुद्दा : खुन डाँका (१) कुनै खास कुरा प्रमाणित गर्ने भार कुनै खास व्यक्तिको हुनेछ भनी नेपाल कानूनमा व्यवस्था भएकोमा बाहेक त्यस्तो कुरा प्रमाणित गर्ने भार सो कुराको अस्तित्व अदालतलाई विश्वास दिलाउन चाहने व्यक्ति माथि नै हुने । (प्रकरण नं. २५) (२) आफ्नो एलिबिको जिकिर प्रमाणित गर्न नसकेकोमा उक्त कुरा निजको विरुद्धमा प्रमाण लाग्ने । (प्रकरण नं. २६) (३) मृतकले आफ्नो मृत्युको कारण र वारदातको यथास्थिति सम्बन्धमा अधिकारप्राप्त अधिकारी समक्ष गरिदिएको बयानबाट प्रतिवादीको अधिकारप्राप्त अधिकारी समक्षको सावितीलाई शंकारहित तवरले पुष्टि गरिदिएकोबाट वादी दावी पुष्टि भएको अवस्था र स्थितिमा एलिवी (Alibi) को जिकिर कानूनसंगत मान्न नमिल्ने । (प्रकरण नं. २६) (४) खून डाँका जस्तो जघन्य प्रकृतिको कसूर संकलित प्रमाणबाट शंकारहित तवरले प्रमाणित भइरहेको अवस्थामा केवल इन्कारीको भरमा आरोपित कसूरबाट सफाई दिन फौज्दारी न्यायको सिद्धान्तले नमिल्ने । (प्रकरण नं. २६) (५) सरजमीनका अधिकांश व्यक्तिहरुले मृतकको सावितीलाई अदालत समक्ष आई बकपत्र गर्दा पनि समर्थन गरी लेखाई दिएको अवस्था र स्थितिमा मृतकको बयान कागजलाई अन्यथा भन्न नसकिने । (प्रकरण नं. २८) (६) प्रतिवादीहरुले आफू उपरको आरोपित कसूरमा इन्कार रही अदालत समक्ष बयान गरेको, सो इन्कारीको पुष्टि गर्ने दायित्व प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार प्रतिवादीहरुको रहेकोमा वारदातमा आफू संलग्न नभए नरहेको भन्ने इन्कारी न्यायसंगत मान्न नमिल्ने । (प्रकरण नं. २८) (७) फौज्दारी कसूरमा एलिवि (Alibi) त्यतिखेर शंकारहित तवरले पुष्टि हुन सक्छ जतिखेर आरोपित कसूर पुष्टि गर्ने अन्य प्रमाणको अभाव रहेको हुन्छ अतः आरोपित कसूर पुष्टि गर्ने प्रमाणको पर्याप्ततामा प्रमाणरहितको इन्कारीको कुनै अस्तित्व रहन नसक्ने । (प्रकरण नं. २८) पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. २०३९।९।१२ गतेको राती हातमा लाठी, बन्दूक, भाला समेत बोकेका डाँकाहरुले फेकु भुजेल समेतको घरमा डाँका गरी मेरो दोकानमा आई डाँका गर्न लाग्दा होहल्ला भई गाउँले र प्रहरी समेतहरु आउँदा लाठी प्रहारबाट रामअसिसको तत्काल मृत्यु भयो । डाँका मध्येका रामचन्द्र महतोलाई पक्राउ गरी दाखिल गरेका छौं, बिगो रु.६००।– दिलाई सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको लक्ष्मण भुजेलको जाहेरी दर्खास्त । ३. ०३९।९।१२ गते राती रामअसिस समेतका ७।८ जवान डाँकाहरुले बन्दूक समेत लिई मेरो घरमा प्रवेश गरी धनमाल समेत लिई भागी जाँदा गाउँलेहरु जम्मा भई भिडन्त हुँदा रामचन्द्र महतो मौकैमा पक्राउ परेका हुन् । रामअसिसको मृत्यु भयो । बिगो रु.३९५।५० को धनमाल डाँका गर