निर्णय नं. २६१० - फैसला बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६१० - फैसला बदर भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०९/२९ २८२० निर्णय नं. २६१० ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको दे.पु.नं. ५९८ फैसला भएको मिति : २०४२।९।२९।२ मा पुनरावेदक/वादी : जि. सर्लाही गा.पं.वडा नं.२ बस्ने राम उज्जैन राय विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने अवध विहारी राय यादवसमेत मुद्दा : फैसला बदर (१) वादी दावीको कुरा मध्ये केहीको हकमा मात्र फैसला गर्ने र केहीको हकमा नगर्ने गरी गरेको फैसलालाई अ.बं. १९२ नं.ले मान्यता दिन नमिल्ने । (प्रकरण नं. १५) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् । २. उपनयनदेवी यादवनीले २०११।१२।२१ गते मलाई धर्मपुत्र पास गरी दिनु भएको सो बदर गरिपाउँ भनी प्र.मध्येको दर्वीले चलाउन भएको धर्मपुत्र लिखत बदर मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०२३।१।१५ गतेका फैसलाबाट समेत धर्मपुत्र कायम भएको धर्मआमा उज्जैनदेवीले प्र.अवध, रामनारायण, रामसोगारथ, तिर्थलाल समेतको बाबु भुपनारायण प्र.दर्वीले लोग्ने ह्दयनारायण, मेरो बाबु सत्यनारायण समेत ३ जनाको उपर दायर गर्नुभएको अंश मुद्दा अन्तिम हुँदै धर्मआमा उज्जैनदेवी परलोक हुनु भई मैले मुद्दा सकार गरेकोमा जग्गा विगहा ९–१०–१२ अंश लाग्ने ठहराई ०२३।१।१५।४ मा सर्वोच्च अदालतबाट भएको फैसला अनुसार तथा वहाँको मैले व्यहोरेको र सो जग्गा मेरा नाउँमा दर्ता समेत भइसकेको छ । ०११।१२।२१ गते उज्जैनदेवीले धर्मपुत्र पास गरी दिनु लिनु भए पश्चात नम्बरी ऐलानी समेतका जग्गा मैले आर्जन गरी भोगी आएको समेतको तायदाती फाँटवारी प्र.अवध विहारी, रामनारायण, रामसोगारथ, तिर्थलाल समेतले मेरो निम्न जग्गा समेत तायदातीमा पारी दिनु भई सो जग्गाहरू समेत १।१ खण्ड प्रतिवादीहरूले पाउने ठहराई ०३२।३।१२ गते म.क्षे.अ.बाट फैसला भएको कुरा २०३३।३।२१ गते थाहा पाएको फिराद गर्न आएको छु, निम्न लेखिएको जग्गा ०–९–१६–३ को मोल रु.६,०००। पर्ने नम्बरी र घर घडेरी जग्गा प्रतिवादीले लिन नपाउने गरी मेरो हक पुग्ने जग्गासम्मको फैसला बदर गरी सो जग्गा पूर्ववत मेरो हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र । ३. वादी राम उज्जैन मेरो छोरा भए पनि उपनयन देवीको धर्मपुत्र भएको देखि आफ्नो कारोवार आफैं गरी आएकोले के कति जग्गा आर्जन गरियो मलाई थाहा नभएको र वादीको आर्जनको जग्गाको तायदाती फाँटवारी मैले दिएको नभई प्र.अवध विहारीले दिनु भएकोले भन्ने फिरादबाटै देखिएको छ । वादी राम उज्जैनको आर्जनको जग्गाको अवध विहारीहरूले दिएको तायदाती फाँटवारी बमोजिम ३ खण्डको १ खण्ड मैले पाउने ठहराई म.क्षे.अ.बाट फैसला भएको हुँदा अबध विहारी रामनारायण, रामसोगारथ, तिर्थलाल समेतले १ खण्ड र दर्वीले १ खण्ड अंश पाउने भएकोले प्र. अवध विहारी, प्र. रामनारायण, प्र. राम सोगारथ, प्र. तिर्थलालले र दर्वी यादवनीले समेत सो जग्गाबाट अंश पाउँदैनन् भन्ने मैले पनि नपाएमा मलाई चित्त बुझ्ने निजहरूले अंश पाउने भयो भने मेरो पनि चित्त नबुझ्ने हुनाले मैले पनि अंश पाउने गरिपाउँ भन्ने समेत व्यहोराको सत्यनारायणको प्रतिउत्तरपत्र ।