निर्णय नं. ३६३२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६३२ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/१०/१८ २२६७ निर्णय नं. ३६३२ ने.का.प. २०४५ अङ्क ११ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको रिट पूर्ण इजलास नम्बर ७०, ७१ आदेश भएको मिति : २०४५।१०।१८।३ मा निवेदक : श्री ५ को सरकार, सामान्य प्रशासन मन्त्रालयसमेत विरुद्ध विपक्षी/निवेदक : का.न.पं.वा.नं.१७ कुलेचौर बस्ने भैरवप्रसाद उपाध्याय भट्टराई विषय : उत्प्रेषण (१) पुनरावेदन गर्न पाउने वैकल्पिक उपचारको बाटो हुँदाहुँदै सो बमोजिम पुनरावेदनको मार्ग अवलम्बन नगरी पर्न आएको रिट निवेदनमा असाधारण अधिकारक्षेत्र प्रयोग गर्न नमिल्ने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : श्री ५ महाराजाधिराज सरकारको हजूरमा सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको निर्णय पूर्ण इजलासबाट दोहोराई हेरी दिनु भन्ने हु.प्र.बक्स पाउँ भनी सामान्य प्रशासन मन्त्रालय समेतका तर्फबाट चढाएको विन्तिपत्रमा यसमा लेखिएका मुद्दा दोहोराई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम बक्सेको छ भनी मौसूफको प्रमुख सचिवालयबाट लेखी आएबमोजिम पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छ : २. म निवेदक २०२० साल कार्तिक महिनामा श्री ५ को सरकारको प्रशासन सेवाको राजपत्रांकित तृतीय श्रेणीको शाखा अधिकृत पदमा नियुक्ति भई शिक्षा मन्त्रालय, गृहमन्त्रालय, अर्थ मन्त्रालय आदि श्री ५ को सरकारले खटाएको ठाउँहरुमा इमान्दारीपूर्वक सेवा गर्दै आइरहेकोमा गत २०४१ साल चैत्र महिनामा मलाई सर्लाही भन्सार कार्यालयको भन्सार अधिकृतमा सरुवा गरिए अनुरुप सोही कार्यालयमा भन्सार अधिकृतको पदमा रही इमान्दारीपूर्वक सेवा गरी रहेको थिएँ । ३. विपक्षी नं. २ ले विपक्षी श्री ५ को सरकारको मिति २०४३।११।१० गतेको निर्णय अनुसार म निवेदकलाई निजामती सेवा ऐन, २०१३ को दफा ६ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश (ख) बमोजिम पर्चा खडा गरी निजामती सेवा नियमावली, २०२१ को नियम १०.६ (५) अनुसार आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको कसूरमा सोही नियमावलीको नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाइएको व्यहोरा २०४२।११।१४ गते पत्रबाट आफू सो पदबाट हटेको कुरा थाहा भयो । म निवेदकले के कस्तो आचरण गरेको हो भन्ने कुरा उक्त पत्रमा पनि नखुलेको र साथै विपक्षी कार्यालयहरुमा पर्चाको नक्कल पाउँ भनी अनुरोध गर्दा नक्कल समेत दिन इन्कार गरेकाले पर्चामा के कस्तो अभियोग लगाइएको छ थाहा हुनसकेन, मसंग विपक्षीहरु कसैले पनि कुनै प्रकारको स्पष्टीकरण माग गरेका छैनन् । ४. विपक्षी श्री ५ को सरकारले म निवेदकलाई नोकरीबाट हटाउने निर्णय गर्दा नि.से.ऐन, २०१३ को दफा ६(१) र सो अन्तर्गत बनेको नि.से.नि., २०२१ को नियम १०.९ अनुसारको स्पष्टीकरण सम्म लिन नपर्ने भन्ने कुरासम्म संकेत गर्न खोजेको देखिन्छ । तर ऐनको व्यवस्थाले के कस्तो अभियोगमा कारवाही र सजायँ गरिएको हो भन्ने कुरा उल्लेख गर्नु नपर्ने उन्मुक्ति दिएको होइन । जागिरबाट अवकाश गर्ने जस्तो निर्णय गर्ने अधिकारी जोसुकै भए पनि यस्तो निर्णयलाई न्यायिक निर्णय मानिने हुँदा न्यायिक मनको प्रयोग गरी सजायँ गर्नका लागि लिइएका आधारहरु खुलाउन सो अधिकारी