निर्णय नं. ३६४० - गाली बेइज्जती

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६४० - गाली बेइज्जती भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/१०/११ २७४९ निर्णय नं. ३६४० ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको फौ.पु.नं. ६१३ फैसला भएको मिति : २०४५।१०।११।३ मा पुनरावेदक/प्रतिवादी : रौतहट, गौर गा.पं.वार्ड नं. ८ बस्ने शङ्करबहादुर कुँवर क्षेत्री विरुद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ.वा.नं.९ बस्ने गौरीशङ्कर क्षेत्री मुद्दा : गाली बेइज्जती (१) प्रतिउत्तर दिने कानूनी हकको सिलसिलामा नै भए पनि आफ्नो भाइ छोरालाई आफ्नो भाइ छोरा होइन, गैर व्यक्तिको छोरा भनी देखाएकोबाट वादीको इज्जतमा धक्का पुग्ने नै देखिँदा यस्तोमा गाली बेइज्जती गरेको होइन भन्न सकिने स्थिति नरहने । (प्रकरण नं. १०) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलप्रकाश घिमिरे फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. प्र.गोपालबहादुर, शङ्करबहादुर मेरो सौतेला दाजुभाइ, प्र.नेत्रकुमारी, कृष्णकुमारी सौतेली आमा हुनुहुन्छ । म पनि प्र.हरुको लोग्ने नरबहादुर कुँवर क्षेत्रीको अर्की स्वास्नी तिलकुमारीको गर्भबाट जन्मेको छोरा भएको अंश दिलाई पाउँ भनी प्र.हरुको नाउँमा मैले नालेश गरेको चल्ती मिसिल यसै अदालतमा छ । उक्त मुद्दामा यिनी प्र.हरुले प्रतिउत्तर फिराउँदा मलाई आफ्नो सौतेला छोरा दाजुभाइ भनी ललितपुर इलाका सुनकोठी पञ्चायत वा.नं.२ वाखरको नरबहादुरको छोरा भनी बताई मलाई अंशियार कायम गरी अंश दिनु नपर्ने भन्ने ०४०।२।६ मा प्रतिउत्तर फिराई नातातर्फ बयान गरेमा पनि मलाई अंशियार कायम नगरी गर्नु भएको प्रतिवाद स्वरुप मैले बयान गरी सबूद प्रमाण पनि दाखिल गरेको प्रमाण खण्डमा उल्लेख भएको मिसिल सामेल छँदैछ । सो मुद्दामा यिनी प्र.हरुले दिएको साक्षीहरुमा अरु कसैले पनि बकपत्र नगरी प्र.हिराप्रसादले मात्र बकपत्र गर्नु हुँदा पनि प्र.हरुकै भनाईलाई समर्थन गरी मलाई यिनी प्र.हरुको अंशियार कायम नगरी बकपत्र गरेका हुन् । म प्र.गोपालबहादुर समेत आमा छोरा दाजु भाइहरुको सौतेला छोरा दाजुभाइ भएको भन्ने सो अंश मुद्दाबाट निर्णय हुने नै छ । तर कुनै पनि मानिसले कुनै पनि स्थितिमा आफ्नो बाबुको नाउँ बदल्नु हुँदैन यदि कसैले बदल्छ भने नैतिक स्तर भन्दा धेरै टाढा अर्थात नैतिक आचरण विपरीतको कुरा हुने भएकोले त्यस्तो काम गाली बेइज्जती ऐन, २०१६ को दफा ३ अन्तर्गतको अपराध भएकोले प्र.हरुको नाउँमा नालेश गर्न आएको छु । प्रत्यक्षरुपमा मेरो विषयमा प्र.हरुले लेख्नु लेखाउनु भएको प्रत्यक्षरुपले गाली बेइज्जतीको अपराध भएकोले साक्षी सबूद बुझी गाली बेइज्जती ऐन, २०१६ को दफा ५ बमोजिम प्र.हरुलाई सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. कुनै पनि अपराधमा एकपटक भन्दा बढि सजायँ गर्न नपाउने व्यवस्था छ मैले झुठ्ठा बकपत्र गरेको सावित भएका बखत सजायँ पाउने नै हुँदा मलाई एकै अपराधमा दोहरो सजायँ पाउने गरी वादीले गर्नु भएको नालेश खारेज हुनुपर्ने हो वादीले मेरो बकपत्रलाई झुठ्ठा भनी त्यसबाट निजको बेइज्जती भएको भन्दै वादीको अंश र नाता कायमतर्फको मुद्दा समेतको अन्तिम फैसला नभएसम्म म उपर आरोप ल