निर्णय नं. ३६५२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६५२ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/०८/२१ ३१३८ निर्णय नं. ३६५२ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको फौ.साधक नं. ५९ फैसला भएको मिति : २०४५।८।२१।३ मा वादी : छत्रे देउराली गा.पं.को पत्रले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : धादिङ छत्रेदेउराली गा.पं.वा.नं.८ बस्ने ठुली भन्ने कान्छी तामाङसमेत मुद्दा : कर्तव्य ज्यान (१) जातक बच्चालाई यसले यसरी मार्यो भन्ने प्रतिवादीले उल्लेखसम्म पनि गर्न नसकेको तथा जातकको अस्वाभाविक मृत्यु भएको भन्ने पुष्टी भएको यस अवस्थामा प्रतिवादीले अदालतमा गरेको इन्कारी बयान तथ्ययुक्त तरिकाबाट पुष्टी भएको मान्न नसकिने । (प्रकरण नं. १६) (२) व्यक्तिले साक्षी राखी कर्तव्य गर्ने भन्ने स्वभाविक प्रकृया नहुने, यस्तै प्रत्यक्ष प्रमाण नभएको अवस्थामा परिस्थितिजन्य प्रमाणलाई राम्ररी छानबीन गरी निष्कर्षमा पुग्नु पर्ने । प्रत्यक्ष प्रमाणको अभाव छ भनी त्यसको लाभ अभियुक्त मात्रलाई दिने हो भने परिस्थितिजन्य प्रमाणको धारणा मृतप्रायः हुने स्थिति सृजना हुन जाने । (प्रकरण नं. १६) (३) लोग्ने मरेको स्वास्नी मानिसले जातक जन्माएकोले लोक लाजबाट बच्न जन्मेको जातक मारी कसैलाई थाहा नहुने भन्ने मनसायले गाडेको हुँदा ऐन बमोजिमको सजायँ गर्दा चर्को पर्ने देखिएकोले अ.बं.१८८ नं.बमोजिम ५ वर्ष मात्र कैद हुने । (प्रकरण नं. १६) वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री रामकृष्ण श्रेष्ठ उल्लिखित मुद्दा : लवरु राना थारुको जाहेरीले वादी श्री ५ को सरकार वि.फरेष्टर मानेश्वर मण्डल समेत भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प. २०४२, अंक ३, पृष्ठ ३२३) संयुक्त इजलासबाट सिद्धान्त प्रतिपादन भएको । फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।११।२६ को फैसला साधक निकासाको लागि पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. २०४१।८।३ गते छत्रे देउराली गा.पं.वडा नं.८ जुङे खोला गाउँमा कान्छी तामाङनीले बच्चा जन्माएको कसैलाई थाहा नदिई पुरी राखेको भन्ने विशेष सुत्रबाट पत्ता लागेकोले आवश्यक कारवाही गरी पाउँ भन्ने छत्रे देउराली गा.पं.को ०४१।८।३ गतेको पत्र । ३. मुखबाट रगत बगी सुकेको अन्य शरीरमा घाउचोट नभएको छोरी जातकको लास ठिक छ भन्ने ०४१।८।५ को लाश प्रकृति मुचुल्का । ४. ०४१।७।२६ गते दिनको अन्दाजी २ बजेको समयमा लास प्रकृतिमा लेखिएको बच्चा जीवितै जन्माई केही वेर साल झारी घाँस काट्न लगेको फलामे हँसियाँले नाभी काटी केही वेर बच्चालाई स्याहार गरी अब मलाई गाउँलेले थुक्ने भए भन्ने लागी कसैले थाहा नपाउने गरी मारी गाडी दिन्छु भन्ने सोची घाँटीमा दाहिने हाते थिची सो बच्चाको मृत्यु भएपछि मृतक बच्चालाई घाँसले छोपी घरबाट कोदालो ल्याई खाडल खनी गाडेको हुँ मार्नमा कसैको सहयोग छैन भन्ने समेत व्यहोराको ठुली भन्ने कान्छी तामाङनीले प्रहरीमा गरेको बयान कागज । ५. ठुली भन्ने कान्छी तामाङनीले केही दिन अघि बच्चा जन्माएको शारीरिक लक्षणहरुबाट बुझिएको प्रमाणित गरिन्छ भन्ने ०४१।८।७ को धादिङ हेल्थ सेन्टरको पत्र । ६. कान्छी तामाङनीले को कस्को गर्भ धारण गरी ०४१।७।२६ गते बच्चा जन्माई मारी गाडेको हो भन्ने समेत व्यहोराको ०४१।८।१५ को सरजमीन मुचुल्का । ७. ठुली भन्ने कान्छी तामाङनीउपर ज्यानसम्बन्धीको १३(३) बमोजिम र सोही ऐन