निर्णय नं. ३६५९ - सवारी दुर्घटना कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६५९ - सवारी दुर्घटना कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/११/०३ २८६७ निर्णय नं. ३६५९ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.पु.नं ६२२ फैसला भएको मिति : २०४५।११।३।३ मा पुनरावेदक/वादी : दिलप्रसादको जाहेरीले वादी श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : झापा, चारपाने गा.पं.वा.नं.३ बस्ने लक्ष्मीनारायण भट्टराईसमेत मुद्दा : सवारी दुर्घटना कर्तव्य ज्यान (१) अनिश्चित स्थितिमा खाली शंकाजनक रहेको झगडाको आधारमा मात्र दावी बमोजिम अभियुक्तले मार्ने मनसायले ट्रकबाट किचाई मारेको भनी ठहर गर्न न्यायसंगत नहुने । (प्रकरण नं. १७) वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिं बोगटी फैसला न्या.हिरण्येश्वरमान प्रधान : वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन परी दर्ता भई इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. २०४१।१०।९ गतेका दिन मे.अं. ३१ नं.को ट्रक नाम नजानेको चालक र गाडी मालिक लक्ष्मीनारायण भट्टराई पृथ्वी याक थुम्वासंग बालुवा सिमेन्ट ढुवानी गर्ने तय गरी बालुवा सिमेन्ट पुर्‍याई पहिले भएको शर्तमा बेमञ्जूर गरी भाडामा विवाद हुन जाँदा जाहेरवालाको छोरा रुद्रकुमार पनि विवाद भएको ठाउँमा पुगी पहिले भइसकेको बन्दोवस्त अनुसार हुनुपर्छ भनी भन्दा ट्रक मालिक लक्ष्मीनारायण र रुद्रप्रसादको बीच झगडा शान्त गराएपछि हेर्लास तलाई भनी दागा धरी गएछन् । भोलिपल्ट १० गते रुद्रप्रसाद मे.अ.१२ नं. को मोटर साइकिलमा चन्द्रगढी आउँदै गर्दा उक्त नं. ३१ को ट्रक गाडी मालिकले चलाउँदै आइरहेका रहेछन् उक्त मोटरसाइकिल ट्रक पछि पछि आइरहेको अवस्था विहान करिब ७.३० बजे झापा गरामुनी गा.पं.वा.नं.३ शुक्रराज प्रा.वि.भन्दा केही पश्चिम आई पुग्दा मोटर साइकिललाई अगाडि लगाई अघिल्लो दिन भएको झगडाको कारणबाट जानाजान जाहेरवालाको छोरा रुद्रले चलाएको मोटर साइकिल माथि चलाई ठक्कर दिई ३० फुट जति घिस्याई टाउको समेत फुटाई मारी पिच माथि नै ट्रक छाडी ट्रक चलाउने मानिस निस्की गएछन् । घटना भएको कुरा श्रीप्रसाद, भीमप्रसाद लिम्बूले प्रत्यक्ष देखेकोले जाहेरी दिन आएको छु कानून बमोजिम सजायँ गरिपाउँ भन्ने व्यहोराको जाहेरी दर्खास्त । ३. २०४१।१०।१० गते मे.अं.ख. ३१ नं.को ट्रकले मे.अ.ख. १२ नं. को मोटर साइकिलमा आएको व्यक्ति जि.पं.स.रुद्रकुमारको घटना स्थल मै मृत्यु भएको देखिएकाले लाश सुरक्षित राखी प्रतिवेदन गरेको छु भन्ने समेत प्र.ह.गंगाबहादुरको प्रतिवेदन । ४. लाश रहेको ठाउँबाट करिब ३ फिट पश्चिमबाट पिचको बीच सेन्टर देखि केही दक्षिण साइडबाट ट्रकले मोटर साइकिललाई घिसारेर लगेको हो पिचमा कोरिँदै ट्रक रोकिएको ठाउँसम्म लाश रहेको ठाउँबाट करिब १२ फुट अगाडि गई ट्रक रोकी राखेको मृतकको टाउको चकनाचूर भई फुटी छाती देखि टाउको सम्म चक्काले पेली चेपिएको देखिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का र मृत्युका कारण हेड इन्जाइटी भन्ने पोष्टमार्टम रिपोर्ट । ५. २०४१।१०।१० गते मेरो ३१ नं.को ट्रक भाइ होमनाथको नाममा दर्ता छ । म धान लोड गरी ट्रकको सिटमा बसी आएको थिएँ । ट्रक खगेन्द्र बरालले चलाएको, हाम्रो साइडबाट मोटर साइकिल ल्याएको एकै चोटी ढयाम्म आवाज आयो । ट्रक रोकी हेर्दा एकजना मानिस बीचमा लडिरहेको टाउकोबाट रगत बगी रहेको, मौखिक मैले प्रहरी कार्यालयमा भनेको थिएँ । रुद्र मेवावोलाई मैले चिनेको छैन ।