निर्णय नं. २६२७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६२७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/०८ २४५५ निर्णय नं. २६२७ ने.का.प. २०४३ अङ्क - २ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नं. २४१३ आदेश भएको मिति : २०४३।२।८।५ मा निवेदक : जि.वारा भतौडा गाउँ पञ्चायत वडा नं.६ बस्ने बालदेव शाह कानू विरुद्ध विपक्षी : जि.वारा भतौरा गा.पं.वडा नं.६ बस्ने रमपतिया देवी कनुइनसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जग्गा धनीले पत्याएका व्यक्तिलाई मोहियानी हक प्राप्त हुने ऐनले व्यवस्था गरेकोलाई गलत व्याख्या गर्दै नजिक हकदार मोहीको पत्नीलाई मोही नामसारी हुने भनी गरेको भूमिसुधार कार्यालय बाराको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश बस्ती प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छ : २. जग्गा धनी रामचन्द्र कोइरी महतो भएको जिल्ला वारा भतौडा गा.पं.वडा नं.६ को कि.नं.१३३ को जग्गा ०–१८–१० मेरो बाबु प्रल्हाद शाह कानूले दर्तावाला मोही भई जोती आएकोमा निजको २०४१ साल पौषमा स्वर्गवास भएपछि उक्त जग्गाको मोही नामसारी गरी मोहीको प्रमाणपत्र पाउँ भन्ने विपक्षी आमा रमपतिया देवी कनूइनले भू.सु.का.वारामा निवेदन दिएको र जग्गा धनीले म निवेदक बालदेव शाह कानूलाई पत्याई दर्तावाला मोहिका छोरा बलदेव शाह कानूको नाममा मोही नामसारी दर्ता कायम गरिपाउँ भन्ने र उक्त जग्गामा स्व.पिताको नाम कट्टा गरी मेरो नाममा नामसारी दर्ता गरी मोही प्रमाणपत्र समेत पाउँ भनी जग्गाधनी रामचन्द्र महतो कोइरी र म बालदेव शाह कानुको भू.सु. कार्यालय वारामा संयुक्त निवेदनपत्र दिएकोमा विपक्षी अधिकारीज्यूले पतिको मृत्युपछि पत्नी नै नजिकको हकदार हुने व्यवस्था मुलुकी ऐनमा भएको र भू.सु.ऐन, २०२१ को दफा २६ मा पति पत्नी वा छोरा मध्ये जग्गावालाले पत्याएको व्यक्ति मोही मानिने भनी नजिकैको हकदारलाई प्राथमिकता दिएको देखिँदा भतौडा गा.पं.वडा नं.६ को कि.नं.१३३ को जग्गा विगहा ०–१८–१० प्रल्हाद शाह कानूको नामको जग्गा निजको पत्नी रमपतिया देवी कनुईनका नाममा मोही नामसारी हुने ठहर्छ भन्ने मिति २०४२।२।११ मा निर्णय गर्नुभएको छ । ३. भू.सं. ऐन, २०२१ को दफा २६(१) मा जग्गावालाले पत्याएको व्यक्तिलाई मोहियानी हक प्राप्त हुने प्रष्ट व्यवस्था भएको र जग्गा धनीले म निज मोहीको छोरालाई भू.सं.ऐनको दफा २६(क) अनुरुप पत्याई निवेदन दिँदा दिँदै उक्त ऐनको वर्खिलाप प्रमाण मूल्याङ्कन नै नगरी त्रुटिपूर्ण रुपले गरिएको उक्त निर्णयबाट संविधानको धारा १०, ११(२)(ङ) र १५ का मौलिक हक हनन् भएकोले उत्प्रेषणको आदेशद्वारा उक्त मिति २०४२।२।११ को विपक्षी भूमिसुधार कार्यालयको निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत मिति २०४२।४।९।४ को सिंगलबेञ्चको आदेश । ५. प्रस्तुत रिट निवेदन जग्गा धनीका तर्फबाट परेको नभई मोही नामसारी गरिपाउँ भन्ने मेरा छोरा विपक्षी रिट निवेदकको मात्र भएकोमा निजले पाउन सक्ने संभावित हकलाई निर्विवाद हक मान्न नमिल्ने हुँदा निजका संवैधानिक हकमा आघात पुगेको छैन । भूमि सम्बन्धी ऐन,