निर्णय नं. ३६६७ - आम्दानी खर्चको हिसाब दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६६७ - आम्दानी खर्चको हिसाब दिलाई पाउँ भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/१२/१० २४२४ निर्णय नं. ३६६७ ने.का.प. २०४५ अङ्क १२ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको देवानी पूर्ण इजलास नम्बर ६४ फैसला भएको मिति : २०४५।१२।१०।५ मा निवेदक/प्रतिवादी : जिल्ला रामेश्वर लखनपुर गा.पं.वडा नं.९ बस्ने मानबहादुर लामा विरुद्ध विपक्षी/वादी : बनेपा नगरपञ्चायत वडा नं. १९ वकुटोल बस्ने लीलाभक्त श्रेष्ठ मुद्दा : आम्दानी खर्चको हिसाब दिलाई पाउँ (१) ठेक्कामा हिस्सेदार बनाएको लिखत प्रमाण बेगर हिस्सेदार भन्न नमिल्ने । (प्रकरण नं. १२) (२) पैसा भुक्तानी लिने मन्जूरनाममा पाटनर भनी लेखिएको आधारमा हिस्सादार भन्न नमिल्ने । (प्रकरण नं. १२) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहराई पाउँ भनी मिति २०४२।७।१ मा न्यायिक समिति मार्फत चढाएको विन्तिपत्र र न्यायिक समितिद्वारा चढाई पठाएको मिति २०३४।३।३० गतेको पत्र तथा पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त फैसला दोहराई दिनु हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट २०४३।४।२ मा लेखी आएको व्यहोरा पेश हुँदा सम्माननीय प्रधान न्यायाधीशज्यूबाट मिति २०४३।४।३० मा भएका आदेशानुसार पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. विपक्षीले गोरखा नारायणगढ राजमार्ग बनाउने काममा ठेक्का लिई तपाई पनि पुँजी लगाउनु होस् म नाम र बुद्धि लगाउँछु भनी भनेकाले मैले ९५,३५४।– पुँजी हाली बराबर लाभांस बाड्ने गरी कागज समेत गरी गोरखा नारायणगढ राजमार्ग अन्तर्गत टोली नं. १ दाशढुंगाको काम लिई काम गर्ने कार्यालय राखी ठेक्का संचालन गर्दै आएको र पुँजी बढ्दै जाँदा लाखौं रुपैयाँको कारोबार भएको र विपक्षीले मिति २०३४।१२।६ गते लगायतमा मलाई पाटनर भनी रुपैयाँ झिकी ल्याउन मन्जूरनामा लेखी दिएकोबाट म पार्टनर भनी व्यवहार गरी आएको र ठेक्काको काम ५०% समाप्त भएको यसरी ठेक्काको काम समाप्त हुन थालेकोले मुनाफा बाँड्न पर्यो भनी विपक्षीलाई भन्दा मिति २०३५।१२।१२ मा कागजपत्र दराजमा राखी सकेछन् साझेदारी र अन्य कागज समेत झिकी लिए । रुपैयाँ कागजपत्र समेत केही दिन्न भने । जम्मा ८,३०,२१४।– योजनाबाट लिनु पर्ने र रु. ७,८५,०१४।– जति विपक्षीले झिकी पाइसकेको सो बाट रु. ४,४२,२६१।७० पैसा जति खर्च भई बाँकी रु. ३,८७,९५२।७ भाग हिस्सा लगाउन पर्ने नलगाएकोले सम्पूर्ण हिसाब गरी मैले पाउने भाग हिस्साको रकम निश्चित ठहर गरी दिलाई पाउँ भन्ने समेतको वादी दावी । ३. विपक्षी लिलाभक्त श्रेष्ठसंग मेरो त्यस किसिमको कबूलियत वा कुनै किसिमको कागज भएको छैन गरेको भएपनि एक प्रति लिनु दिनु गरेको हुनु पर्ने । मैले ठेक्का पट्टाबाट आर्जन गरेको सम्पत्ति दावा गर्न भाग खोज्नु भएको स्पष्ट छ । करार सम्बन्धी ऐन, २०२३ को दफा १८(२) अन्तर्गत नालेश गर्ने वादीले ऐ. ऐनको दफा ४, ५ बमोजिम रीतपूर्वक करारको लिखत भएको छ भनी भन्न सक्नु भएको छैन । मेरो लेखापाल भएको हुँदा मेरो कारोवारमा जानकारी हुन अस्वाभाविक होइन हाम्रो बीच साझेदारीक