निर्णय नं. ३६६८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६६८ - अंश भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/१२/१० २६१३ निर्णय नं. ३६६८ ने.का.प. २०४५ अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश प्रचण्डराज अनिल सम्वत् २०४३ सालको दे.पु.ई.नम्बर ८९ फैसला भएको मिति : २०४५।१२।१०।५ मा निवेदक/वादी : जिल्ला वारा प्रसिका गा.पं. वडा नं. ५ बस्ने सोगरवा जोल हिन विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. ऐ. बस्ने मोसाफिर मियाँ मुद्दा : अंश (१) तत्काल प्रचलित अंशबण्डाको ऐनले मानो छुट्टिएको लिखत हुनु पर्ने व्यवस्था गरेको तर त्यस प्रकार मानो छुट्टिएको लिखत भनी प्रतिवादीले देखाउन र प्रमाणमा पेश गर्न नसकेको स्थितिमा मानो छुट्टिइएको भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) तायदातीमा देखाएको जग्गा प्रतिवादीले निजी आर्जन गरेको भन्ने कुराको प्रतिवादीले कुनै लिखत प्रमाण देखाउन नसकेको स्थितिमा वादीले अंश पाउँदैन भन्न न्यायको दृष्टिमा नमिल्ने । (प्रकरण नं. १५) निवेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतीकाजी स्थापित र विद्वान अधिवक्ता श्री हरिहर दाहाल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको निर्णय दोहराई पाउँ भनी न्यायिक समिति मार्फत चढाएको विन्तिपत्र र न्यायिक समितिद्वारा चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहराई दिनु हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४३।२।२२ गतेमा लेखिआएको व्यहोरा पेश हुँदा सम्माननीय प्रधान न्यायाधीशज्यूबाट मिति २०४३।३।१२ मा भएका आदेशानुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. म जालिम मियाँको बाजे म सोगरवाको ससुरा जकुर मियाँको २ छोरा जेठा म जालीम मियाँको बाबु म सोगरवाको लोग्ने फरमुल्ला मियाँ कान्छा विपक्षी मोसाफिर मियाँ सहोदर दाजु भाइ हुन । सगोलमा बसी भएको चल अचल लिई सम्पत्ति भोगचलन गरी आएकोले हामीहरुलाई खान लाउन नदिई दुःख दिएकोले हाम्रो लोग्ने बाबुको हुने अंश हामीलाई छुट्याई दिनुस् भनी २०३५ साल जेष्ठ २१ गते रोज ७ का दिन माग्दा नदिएकोले २०३५ साल जेष्ठ २० बीस गतेसम्मको तायदाती लिई २ खण्डको १ खण्ड हाम्रो बाबु लोग्नेको अंश हामीलाई दिलाई जग्गा दर्ता गराई पाउँ भन्ने समेत वादीहरुको फिरादपत्र । ३. मेरो दाजु २० सालमा स्वर्गवास हुनु भयो । स्वर्गवास भएको २ वर्ष अगाडि २०१८ सालमा मलाई घरबाट निकाला गरी दिनु भयो । पैतृक सम्पत्ति नहुँदा हाम्रो बीच बण्डा गर्नु पर्ने अवस्था पनि थिएन । हामी २ दुवै भाइ २०१८ साल आषाढ महिनामा नै चुलो मानो छुट्याई आ–आफ्नो खति उपति व्यवहार अलग अलग रही बसी आएका छौं । मैले आफ्नो सीप र प्रयासद्वारा निजी परिश्रमबाट आर्जन गरेको सम्पत्तिमा लोभ गरी माथि झुठ्ठा नालेश गरेको हो मैले अंश दिनु पर्ने होइन, भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. वण्डा भएको भए बण्डा भएको रीतपूर्वकको बण्डापत्रको लिखत वा अन्य कानूनको रीत पुगेको लिखत, दाखिल खारेजको निस्सा समेत पेश गर्न सक्नु पर्ने कुनै प्रमाण पेश दाखिल गर्न नसकेको अंश दिन नपर्ने भन्न प्रतिउत्तर पत्रमा जिकिर लिएको मनासिब देखिन आएन । मानो छुट्टिएको दुवै थरको मुख नमिली फरक पर्न आएकोले आदेशासनुसार नालेश परेको अघिल्लो दिनसम्मको दाखिल भएका तायदातीम