निर्णय नं. ८८१७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८१७ - उत्प्रेषण भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६९/०२/११ ३६८८ ने.का.प. २०६९, अङ्क ४ निर्णय नं.८८१७ सर्वोच्च अदालत, सयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की संवत् २०६६ सालको रिट नं. २०६६–WO–०७१७ आदेश मितिः २०६९।२।११।५ मुद्दा : उत्प्रेषण । निवेदकः जिल्ला पाँचथर इम्वुङ्ग गा.वि.स.वडा नं. १ बस्ने नारायणप्रसाद नेम्वाङ्ग विरुद्ध विपक्षीः रघुवीर नेम्वाङ्ग समेत § अदालतबाट अन्तिम फैसला भैसकेपछि सम्बन्धित पक्षले कानूनले निर्धारण गरेको हदम्याद र कार्यविधिलाई अंगीकार गरी दरखास्त दिएको अवस्थामा त्यसबाट फैसला कार्यान्वयनतर्फ आवश्यक कामकारवाही अगाडि बढाउनु पर्ने । (प्रकरण नं.४) § अ.वं. ८५ नं. फैसला कार्यान्वयनका दरखास्तका हकमा आकर्षित हुन सक्ने देखिँदैन । कारण यो कानून फैसला हुने प्रकृतिका मुद्दाका हकमा मात्र लागू हुन्छ । अदालतबाट बिगो भरीभराउ हुने ठहरी भएका अन्तिम फैसलाको कार्यान्वयनमा अवरूद्धता उत्पन्न गनका लार्गि कानूनद्वारा प्रष्ट शब्दमा बन्देज लगाइएको अवस्था विद्यमान हुनुपर्ने । (प्रकरण नं.५) § फैसला कार्यान्वयनको विषयलाई अन्य फिराद सरह हेर्ने अवस्था रहँदैन । अ.वं. ७२ नं. फिराद दावीलाई समेट्ने कानून हो । अ.वं. ८५ नं. मुद्दाका हकमा लागू हुन्छ । फैसला कार्यान्वयन न्यायिकभन्दा पनि प्रशासनिक कार्य भएकाले उही वादी, उही प्रतिवादी उही प्रकृतिका उही दिन फैसला भएका उही प्रकृतिका चार अलग–अलग फैसला कार्यान्वयनका लागि शुरूमा एउटै दरखास्त दर्ता गरे पनि भूल महसूस गरी पहिलो फैसलाका हकमा सोही दरखास्त कायम गरी बाँकी तीन फैसलाका हकमा अन्य दरखास्त लिनु र ती पछिका दरखास्त समेत दण्ड सजायको ४२ नं. ले तोकिदिएको अवधिभित्रै दायर हुनु प्रचलित कुनै पनि कानूनप्रतिकूल नहुने । § भूल त्रुटि सच्याइएकोमा कसैको हक गयो भन्न मिल्दैन । हकको सिर्जना वा समाप्ति केवल कानूनबाट मात्र हुन्छ । चारवटा मुद्दाको बिगो भरिभराउका लागि एउटै दरखास्त दिइसकेपछि पुनः तहसीलदारको आदेशबाट अलग–अलग दरखास्त लिई बिगो भरिभराउको कारवाही अगाडि बढाएकै कारणबाट फैसला कार्यान्वयनको सम्पूर्ण कामकारवाही कानूनविपरीत हो भन्न नसकिने । (प्रकरण नं.६) निवेदकका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता राजेन्द्रकुमार श्रेष्ठ अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन अदालती वन्दोवस्तको ७२ नं. § अ.वं. ८५ नं. § दण्ड सजायको ४२ नं. आदेश न्या.प्रकाश वस्तीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– म निवेदकलाई प्रतिवादी बनाई विपक्षी रघुवीर नेम्वाङ्गले मिति २०५८।१२।२१ मा दे.नं.२६२,२६१,२६३ र २६४ समेतका चार थान लेनदेन मुद्दा दायर गरेकोमा पाँचथर जिल्ला अदालतबाट वादी दावीबमोजिम वादीले प्रतिवादीबाट साँवा तथा व्याज भरिपाउने ठहर्याई मिति २०६१।११।१२ मा पाँचथर जिल्ला अदालतबाट फैसला भएकोमा उक्त फैसला चित्त नबुझी सोउपर पुनरावेदन अदालत इलाममा म निवेदकले पुनरावेदन गरेकोमा उक्त अदालतबाट मिति २०६३।१२।१८ मा शुरु फैसला सदर हुने गरी फैसला भएको थियो । उक्त फैसलाबमोजिम विपक्षी रघुंवीर नेम्वाङ्गले दे.दा.नं.१०।२६१ को मुद्दामा विगो रु.३,००,०००।– दे.दा.नं. २६२ को मुद्दामा विगो रु.५,८०,०००।– दे.दा. नं. २६३ को मुद्दामा विगो रु.३