निर्णय नं. ३६८१ - आगलागी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६८१ - आगलागी भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/११/०४ २३६१ निर्णय नं. ३६८१ ने.का.प. २०४५ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको फौ.पु.नं. ४०९ फैसला भएको मिति : २०४५।११।४।४ मा पुनरावेदक/वादी : भोला चौधरी समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : मोरंग बाहुनी गा.पं. वार्ड नं. २ बस्ने गोग्दु खवास मुद्दा : आगलागी (१) सरजमीनका चस्मदिद गवाहहरुले अदालत समेतमा आई चस्मदिद भई सरजमीनको व्यहोरालाई पुष्टाई गर्दै बकपत्र गरिदिएकोमा २ जना सरजमीनका व्यक्तिले नदेखेको भनी सफाई दिँदैमा प्रतिवादीले आरोपित कसूर गरेनन् होला भनी मान्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. १५) (२) बैशाख महिनामा पानी कुर्नु पर्दैन, पानी प्रशस्त पुग्छ भनी त्यसलाई क्षेत्रीय अदालतले हाम्रो देशको किसानहरुको अस्वाभाविक प्रकृया हो भनी भन्नु या मान्नु कृषि प्रधान देशको किसानहरुको दैनिक चर्या पटक्कै बुझ्न नसकेको भन्ने कुरा प्रष्ट देखिन्छ र यस्तो किसिमको तर्कलाई युक्तियुक्त तर्क मान्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदकतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्रीकृष्णराम श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी फैसला न्या.गजेन्द्रकेशरी वास्तोला : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. ०३६ साल बैशाख १३ गते बेलुका हामी घरमा खाना खाई सुतेपछि रातको १० बजेको समयमा बाहुनी गा.पं. वडा नं. ३ बस्ने नितलाल खवास, टिभरलाल खवास, गोगदु खवास समेत तीन जनाले मेरो घरको पछाडी गाई गुवालीको चारै छेउबाट आगो लगाएछन् गुवाली बल्न थाल्दा मैले थाहा पाई बाहिर निस्कँदा अपराधी तीन जना भागेको उज्यालोमा चिने । आगलागी भयो भनी गाउँमा हल्ला गरे हावा चलेकोले सुमित खवास, निलप्रसाद आचार्य, ज्ञानलाल, भोला चौधरी समेत ४ जनाको घर समेत नोक्सान भएको हुँदा जाहेरी दर्खास्तमा भएको बिगो दिलाई अपराधीलाई कानून बमोजिम सजायँ गरी पाउँ भन्ने जाहेरी दर्खास्त । ३. ०३६।१।१३ गतेको राती जाहेरवालाको घरमा आगो लागेको ठीक हो । कस्ले आगो लगायो भन्न सक्दिन हामीहरुले आगो लगाएको होइन हामीहरु निर्दोष छौं । केशव कार्कीले चुनावमा भोट नदिएको रीसले झुठ्ठा उजूर दिन लगाएका हुन भन्ने गोगदु खवास, निमुलाल र टिमलालको एकै मिलानको प्रहरीमा भएको कागज । ४. पक्राउ परेका तीनै जना अभियुक्तहरु राम्रो चाल चलनका व्यक्तिहरु होइन । तीन जनाले आगो लगाएको हामी खेतमा पानी लगाउन पैनीमा जाँदा देखेका हौं भन्ने समेतको सरजमीन मुचुल्का । ५. अभियुक्तहरु, तीनै जना उपर आगो लगाएकोमा मुलुकी ऐन आगो लगाउनेको महलको ५ नं. बमोजिम र बिगोको हकमा ऐ. को ९ नं. बमोजिम सजायँको माग दावी गरी प्रस्तुत गरेको प्रहरी प्रतिवेदन । ६. ०३६।१।१३ गतेको रात गाउँकै कितुवा खवासले रामायण भनेकाले म निजकै घरमा रामायण सुनि बसेको थिएँ । आगो लागेको देखि म पनि आगो निभाउन जान लागेको थिएँ । धान छ नजानु होस् भनी सासुले भनेको हुँदा आगो निभाउन गइन । मैले आगो लगाएको होइन भन्ने टियरलाल खवासको बयान कागज । ७. ०३६।१।१३ गतेको रात मेरो घरमा पाहुना आएकोले सत्कार गर्न घरमै बसेको छु । घटनास्थलमा म गइन । मैले आगो लगाएको होइन । सो रात प्रतिवादीहरुसंग मेरो भेटघाट समेत भएन भन्ने गोगदु खवासको बयान कागज । ८