निर्णय नं. ८८१९ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८१९ - परमादेश भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६८/०६/०५ ६६८१ ने.का.प. २०६९, अङ्क ४ निर्णय नं. ८८१९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की संवत् २०६७ सालको –CI– ०२९९ आदेश मितिः २०६८।६।५।५ मुद्दा :– परमादेश । पुनरावेदकः जिल्ला तेह्रथुम, सुदाप गा.वि.स. वडा नं. ७ बस्ने भीमबहादुर मादेन विरुद्ध विपक्षी प्रत्यर्थीः मालपोत कार्यालय, तेह्रथुम र सो कार्यालयका प्रमुख पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.श्री हरिप्रसाद घिमिरे मा.न्या.श्री ऋषिराज मिश्र § अधिकृत वारेसनामा कायम रहने अवधि किटान नगरी दिएको अवस्थामा दिनेले बदर नगराए वा मुद्दा परी बदर नभएसम्म त्यस्तो अधिकृत वारेसनामा स्वतः निष्क्रिय हुन नसक्ने । § वारेसनामा गरिदिने व्यक्ति नै परलोक भएको अवस्थामा त्यस्तो परलोक भइसकेको व्यक्तिको वारेसनामा जीवित छ भन्न नमिल्ने । § अधिकृत वारेसनामा विशेष प्रकृतिको हुने हुँदा अधिकृत वारेस दिने व्यक्ति जीवित रहेको र उबाट वारेसनामा बदर नभएमा त्यस्तो अधिकृत वारेसनामा तोकिएको कार्यसम्पादन नभएसम्म त्यसको अस्तित्व कायमै रहेको मान्नु पर्ने । (प्रकरण नं.२) § केवल अधिकृत वारेसनामा पुरानो भयो भन्ने आधारमा विलम्ब भयो भन्न नमिल्ने । § दरपीठबाट मार्का पर्यो भनी दरपीठ आदेश विरुद्ध दरपीठ भएको भोलिपल्ट नै निवेदन लिई अदालत प्रवेश गरेको अवस्थामा विलम्बको सिद्धान्त आकृष्ट नहुने । § कसैलाई कसैको कामबाट मार्का पर्यो वा हक अधिकारमा आघात भयो भने त्यस्तो मार्का परेको समयबाट सहज अनुमान गर्न सकिने अवधि वा कत्तिको विलम्ब हुन सक्छ भन्ने अवधि भन्दा पनि अत्याधिक विलम्ब गरेको अवस्थामा आफ्नो अधिकारप्रति सजग नहुने सुतेर बस्ने विरुद्ध यो सिद्धान्त आकृष्ट हुने । (प्रकरण नं.३) पुनरावेदक तर्फबाटः विपक्षी प्रत्यर्थी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § अ.वं ७१(ग) नं. आदेश न्या.वैद्यनाथ उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– म निवेदकलाई आशबहादुर लिम्बूले निजको नाम दर्ता रहेको जिल्ला तेह्रथुम, सुदाप गा.वि.स. वडा नं. ९ कि.नं. ४७१ क्षेत्रफल १४–९–० ऐ. को कि.नं. ४८० क्षेत्रफल ५–७–१, ऐ. को कि.नं. ४८१ को क्षेत्रफल ५–१२–० जग्गा बेचबिखन हक हस्तान्तरण गर्नका लागि मिति २०४३।२।१९ गते अधिकृत वारेसनामा प्रमाणित गराई लिई सो जग्गाहरूको चलन चल्तीले रुपैयाँ दिई उक्त जग्गाहरू भोगचलन गरी आएको छु । उक्त जग्गाहरू राजीनामा गरिदिनु पर्यो भनी मिति २०६६।९।१९ गते मालपोत कार्यालय तेह्रथुममा गई राजीनामा लिखत तयार गरी सकेपछि उक्त अधिकृत वारेसनामाबाट जग्गा पास गर्न इन्कार गरी मिति २०६६।९।२० गते दरपीठ गरेकोले यो रिट निवेदन लिई आएको छु । अधिकृत वारेसनामा मिति २०४३।२।१९ मा जारी भएको, सो समयमा अधिकृत वारेस दिनेको उमेर ४० बर्ष उल्लेख भएको, जिल्ला अदालत वडापत्र, २०६६ मा अधिकृत वारेसनामामा फोटो प्रमाणित हुनुपर्ने, लिने दिनेको ३ पुस्ते हुनुपर्ने अधिकृत वारेसनामा धेरै विलम्ब गरी २३ बर्ष पछि आएको अ.वा. दिने व्यक्ति जीवित रहे नरहेको थाहा हुन नसकेको र हालसम्म अ.वा. सदर बदर के छ जानकारी नरहेको भनी लिखत दरपीठ गरेको हुँदा लिखत पास गर्न इन्कार गरी गरेको दरपीठ आदेश बदर गरी आसबहादुर लिम्बूको अ.वा. म रिट निवेदक जग्गा दिने र जग्गा लिने तिलमाया लिम्बू भई तयार गरेको राजीनाम