निर्णय नं. २५ - बकसपत्र बदर गरी अंश आयस्ता दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५ - बकसपत्र बदर गरी अंश आयस्ता दिलाई पाउँ भाग: २ साल: २०१६ महिना: जेष्ठ अंक: ४ फैसला मिति :२०११/१०/०३ २४५४ निर्णय नं. २५ ने.का.प. २०१६ फुल बेञ्च (केही प्रश्नको निर्णय निमित्त डिभिजन बेञ्च उपर) प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री प्रकाश शम्शेर ज.ब.रा. न्यायाधीश श्री भैरवराज पन्त न्यायाधीश श्री भगवतीप्रसाद सिंह अ.नं. २६३ वादी : रानी जानका देवी समेत विरुद्ध प्रतिवादी : बनेन्द्र विक्रम साहेबज्यू मुद्दा : बकसपत्र बदर गरी अंश आयस्ता दिलाई पाउँ (१) राणा शासनका प्राइमिनिष्टरहरूले गरी दिएको खड्गनिशानामा प्राइमिनिष्टरले साक्षीसम्म भईदिनु भएको भन्न नमिल्ने । उसबखतका प्राइमिनिष्टर घरसारका व्यवहारको लिखतका साक्षी बस्ने हैसियतमा हुनुहुन्नथ्यो । श्री ३ महाराज प्राइमिनिष्टरको हैसियतमा हुनुहुन्थ्यो । श्री ५ महाराजाधिराजबाट उसबखतका प्राइमिनिष्टरहरूलाई मुलुकको शासन चलाउने सारा कार्यभार सौंपी बक्सेको थियो र जुन जुन अवस्थामा जस्तो जस्तो हुकुम, ऐन, सनद, खड्गनिशाना उहाँहरूले गरी दिनु हुन्थ्यो, त्यै माफिक मुलुकको सारा कार्य चलेको थियो । त्यस किसिमको पावर भएको अवस्थामा प्राइमिनिष्टरले सदर भनी खड्गनिशाना गरी दिएको कागजमा भएको खड्गनिशानालाई साक्षीसम्म भईदिनुभएको भन्न मिल्दैन । (प्रकरण नं. १) (२) घरसारको व्यहारको लिखतमा भएको खड्गनिशानालाई रजिष्ट्रेशन सरह मान्नु पर्ने हो, होइन ? त्यो खड्गनिशानाको ऐनबमोजिम अड्डाखानाबाट पास भएका कागजको भन्दा बढ्ता मान्यता दिई आएको छ । श्री ५ को लालमोहर पनि खड्गनिशाना भएर मात्र श्री ५ बाट हुकुम बक्सेबमोजिम लालमोहर हुन्थ्यो । प्राइमिनिष्टरको बेवर्जित हुदैनथ्यो । त्यत्रो पावर श्री ५ महाराजाधिराजबाट पाएका प्राइमिनिष्टरहरूले गरेको खड्गनिशानालाई रजिष्ट्रेशन सरह मात्रै होइन कि बढ्तै मान्यता दिनु मनासिव देखिन्छ । दिई आएको पनि हो । (प्रकरण नं. २) (३) खड्गनिशानाबाट ऐन काटिन्छ वा काटिदैन, के हो ? ऐन काटी काम गर्नु गराउनु पर्ने कुरामा खड्गनिशाना हुन्थ्यो र त्यो खड्गनिशाना माफिक कार्य हुन्थ्यो । त्यस कारण उस अवस्थामा खड्गनिशानाले ऐन नकाटिने भन्न मिल्दैन । खड्गनिशानाले लालमोहरबाट सदर भएको ऐन काटिदैन भन्ना साथ हाल लागू भईरहेका मुलुकी सवाल आदि सनद, सवाल, खड्गनिशानाहरूबमोजिम भएको काममा र अब काम गर्न समेत बाधा दिन्छ, हाल अड्डाखानाहरूबाट नयाँ ऐन, सवाल, नियमको व्यवस्था नभएका सवै कुरामा पुरानो सवाल, सनदबमोजिम काम गरी आएको छ । त्यसकारण खड्गनिशानाले ऐन काटिदैन भनी कसरी भन्नु ? (प्रकरण नं. ३) फैसला यो मुद्दा डिभिजन बेञ्चबाट निम्न लेखिए माफिकका प्रश्नको निर्णय निमित्त फुल बेञ्चमा राखिएको रहेछ । १. बकसपत्रहरूमा लागेको खड्गनिशाना महाराज जुद्ध शमशेरले साक्षीको रूपमा लगाउनु भएको हो कि महाराजाको हैसियतबाट लगाउनु भएको हो ? भन्ने प्रश्न उठेकोमा । उस बखतका प्राइमिनिष्टर घरसारका व्यहारको लिखतमा साक्षी बस्ने हैसियतमा हुनुहुन्नथ्यो । श्री ३ महाराज प्राइमिनिष्टरको हैसियतमा हुनुहुन्थ्यो । श्री ५ महाराजधिराजबाट उसबखतका प्राइमिनिष्टरहरूलाई मुलुकको शासन चलाउने सारा कार्यभार सौंपी बक्सेको थियो र जुनजुन अवस्थामा जस्तो जस्तो हुकुम, ऐन, सनद, खड्गनिशाना उहाँहरूले गरी दिनुहुन्थ्यो, त्यै माफिक मुलुकको सारा कार्य चलेको थियो । त्यस किसिमको पावर भएको अवस्थामा प्राइमिनिष्टरले सदर भनी खड्गनिशाना गरी दिएको कागजमा भएको खड्गनिशानालाई साक्षीसम्म भई दिनु भएको भन्न मिल्दैन ।