निर्णय नं. ६८२९ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८२९ - ज्यान भाग: ४१ साल: २०५६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५६/०६/०३ २७५३ निर्णय नं. ६८२९ ने.का.प. २०५६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल संवत २०५० सालको फौ.पु.नं. ... ८०१ फैसला मितिः २०५६।६।३।२ मुद्दाः ज्यान । पुनरावेदक वादीः लालबहादुरको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः अछाम जिल्ला विनायक गा.वि.स. वडा नं. ६ वस्ने टिका कठायत § मृतक मिना शाहीलाई प्र.टिका कठायतले मार्नु पर्ने सम्मको रिस इवी कारण नभएको र जोखिमी हतियार पनि प्रयोग नभएको, लुकी चोरीकन प्रहार गरेको पनि नदेखिएको र आफ्नो जग्गामा घास काटेको कुरामा तत्काल उठेको रिस थाम्न नसकी मार्छू भनी तल मिना शाहीलाई देख्दा देख्दै आवेशमा आई माथिबाट ढुंगा लडाउंदा सोही ढुंगाको चोट मिना शाहीको टाउको जस्तो जोखिम ठाउंमा लाग्न गई तत्कालै निजको मृत्यु भएको देखिंदा ज्यान सम्वन्धी १३ नं. आकर्षित हुन नसक्ने । § मिना शाहीको मृत्यु आफूले पाली राखेको खरकिलो जग्गामा मनाही गर्दा पनि अटेर गरी घांस काटी रहेको कारणबाट तत्काल रिस उठी सोही रिसको आवेशमा तल तिर घांस काटी रहेको मिना शाही समेतका व्यक्तिहरु भएको थाहा हुंदा हुंदै माथिबाट ढुंगा लडाई सोही लडाएको ढुंगा मिना शाहीको टाउकोमा लाग्न गई सोही चोटबाट मिना शाहीको मृत्यु भएको भन्ने कुरा मृतक मिना शाहीलाई लागेको चोट तथा लाश जांच प्रकृति मुचुल्का शव परीक्षण प्रतिवेदन एवं चश्मदित भनिएका जनक बहादुर शाही, फुयान शाही, डल्ली दमिनीको प्रहरी समक्ष गरेको कागज एवं अदालत समक्ष गरेको वकपत्रबाट पुष्टि हुन गएको समेतबाट प्रतिवादी टिका कठायतलाई ज्यान सम्वन्धी महलको १४ नं. वमोजिम १० वर्ष कैदका सजाय गर्ने ठहर्याएको शुरु अछाम जिल्ला अदालतको फैसला सदर भै पुनरावेदन अदालत दिपायलबाट भवितव्य ठहराई सजाय गरेको इन्साफ मिलेको नदेखिंदा सो हद सम्म उल्टी हुने । पुनरावेदक वादीः प्रत्यर्थी प्रतिवादीः अवलम्वित नजिरः फैसला न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत दिपायलको मिति २०५०।५।२१ मा भएको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा निर्णय यस प्रकार छ । २. मिति २०४९।३।२६ गतेका दिन श्रीमती मिना शाही गाउंकै डिल्ली साउद डल्ली दमेनी, फयाना शाही, जनक बहादुर शाही, नर बहादुर शाही सर्जन बहादुर शाही समेतको साथमा पडेनी भन्ने जंगलको केही भाग टिकाले कव्जा गरि पाली राखेको खर मेलो नजिर धार काट्न जांदा टिका कठायत सो ठाउंमा आई मेरो पाली राखेको खर मैले काटी लिने विचारले यहा आएको म यो भीर माथि गाई भैसी चराईवसी रहेको छु । तिमीहरु यहांबाट हिड होइन भने म माथिबाट पथ्थर लडाई मार्नेछु यो मीना शाहीले मथत जमाई तिमीहरुलाई यहां ल्याएकी गतवर्ष मेरो वुवाले डोका चप्पल खोसी लिंदा पनि चेतेकी छैन भनी निज टिका कठायत माथि तर्फ लागेको थियो र सो को १५-२० मिनेट पछि निज टिका कडायतले माथिबाट ठुला ढुंगा खसाली सो ढुंगाले मिनाको टाउको र कन्चटमा लागि तत्तकाल सोही ठाउंमा मृत्यु भएकोले निज टिका कठायत माथि ज्यान सम्वन्धीको ऐन वमोजिम कारवाही गरि पाउं भन्ने लाल बहादुर शाहीको जाहेरी दरखास्त । ३. पडेनी चीप्ले खोज्सो भन्ने ठाउंमा रहेको ८ फिट चौडाइ, १० फिट लम्वाइ त्रिकोण आकारको ढुंगा देखि अन्दाजी ३ फिट दक्षिण पश्चिममा रहेको घटनास्थल खनिएको ठाउंमा काटिएको ४।५ मुठा घांस रहेको सो देखि वर ६ फिट सम्मको दुरीमा घांस झारहरु माडिएको भांचिएको देखिएको