निर्णय नं. ८८२१ - लिखत दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८२१ - लिखत दर्ता बदर भाग: ५४ साल: २०६९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६८/११/१८ ४९३४ ने.का.प. २०६९, अङ्क ५ निर्णय नं.८८२१ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री तर्कराज भट्ट माननीय न्यायाधीश श्री कमलनारायण दास मुद्दा नं. २०६७ –DF– ००१४ फैसला मितिः २०६८।११।१८।५ मुद्दा :— लिखत दर्ता बदर । पुनरावेदक वादीः सोलुखुम्बु जिल्ला, नेले गा.वि.स.वडा नं ४ घर भई हाल भक्तपुर जिल्ला सिरुटार गा.वि.स.वडा नं. ६ बस्ने महेन्द्रबहादुर कार्की विरुद्ध प्रत्यर्थी प्रतिवादीः सोलुखुम्बु जिल्ला, नेले गा.वि.स.वडा नं ४ घर भई हाल भक्तपुर जिल्ला सिरुटार गा.वि.स.वडा नं. ६ बस्ने वीरेन्द्रमाया कार्की समेत शुरु फैसला गर्ने :– मा.न्या.श्री बिनोदप्रसाद शर्मा पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री अली अकबर मिकरानी मा.न्या.श्री जनार्दनबहादुर खड्का यस अदालतमा रायबाझी फैसला गर्ने :– सं.प्र.न्या.श्री रामप्रसाद श्रेष्ठ मा.न्या.श्री कृष्णप्रसाद उपाध्याय § अंश नभएको सगोलको अचल सम्पत्ति कुनै ब्यहोराले बिक्री वा हक हस्तान्तरण गर्दा अनिवार्य रुपमा अंशियारको मञ्जूरी लिनुपर्ने हुन्छ । यसरी हक हस्तान्तरण गर्दा अंशियारले साक्षी नबसेको र हक छाडी दिन मञ्जूर नगरेमा त्यस्तो अंशियारको हक जाने स्थिति नरहने । § ऐनले आफूखुश गर्न पाउने सम्पत्तिको हक हस्तान्तरण गर्दा भने सँगै बस्नेको मञ्जूरी लिनु पर्ने आवश्यकता नरहने । (प्रकरण नं.३) § आफ्नो हक छाडी सकेको छोराको मञ्जूरी नलिई अर्को छोरालाई मात्र साक्षी राखी राजीनामा पारित गरेको कार्य कानूनविपरीत भन्न नमिल्ने । (प्रकरण नं.४) § अन्य अंशियारलाई बण्डा गर्नु नपर्ने आफूखुसी गर्न पाउने र बिक्री बितरण गर्दा कसैको मञ्जूरी समेत लिन नपर्ने भएकोले घरको मुख्य व्यक्तिको हैसियतले आमाले आफ्नो पालामा आर्जेको अचल सम्पत्ति राजीनामा पारित गरी हक हस्तान्तरण गरेको कार्यलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताद्वय हरिप्रसाद उप्रेती तथा जगन्नाथ सिंह महतो प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता नमस कार्की अवलम्बित नजीरः सम्बद्ध कानूनः § लेनदेन व्यवहारको १० नं. § अंशबण्डाको १८ र १९(२) नं. फैसला न्या.रामकुमारप्रसाद शाहः यस अदालतको संयुक्त इजलासमा रायबाझी भै सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :– मेरो समेत हक लाग्ने सगोलको जग्गा हो भन्ने जानी जानी आमा वीरेन्द्रमाया र भाइ योगेश्वर कार्कीको मिलोमतोमा कि.नं. १८९ को ज.रो. १–०–०–० जग्गा आमा वीरेन्द्रमायाले देवकी महतलाई राजीनामा गरी दिएको हुँदा मेरो मञ्जूरी बेगर मेरो हक मार्ने नियतले गरेको उक्त राजीनामा लिखत बदर गरी पाउन मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं., जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. बमोजिम तथा अ.बं.८२ नं.बमोजिम फिराद गर्न आएको छु । मिति २०६०।४।२३ को राजीनामामा उल्लिखित कि.नं. १८९ को क्षेत्रफल १–०–० जग्गा र सो जग्गामा बनेको घर मेरो अंश हक जति ३ भागको १ भाग लिखत दर्ता बदर गरी मेरो नाममा दर्ता समेत गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र । हामी बीच मिति २०४२।७।१७ गते बण्डापत्र भै अलग बसेका छौं । सोही अवस्थामा आफ्नो मात्र हक लाग्ने, हालैदेखिको बकसपत्रवाट प्राप्त गरेको सम्पत्ति कानूनतः आफूखुश गर