निर्णय नं. १०७ - हक सफा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७ - हक सफा भाग: ३ साल: २०१७ महिना: पौस अंक: ६ फैसला मिति :२०१४/११/२९ २४५९ निर्णय नं. १०७ ने.का.प. २०१७ डिभिजनबेन्च न्यायाधीश श्री सिद्धिबहादुर मल्ल न्यायाधीश श्री मुक्तिकान्त मैनाली दे. डि. नं. ६५३, २४६ निवेदक : विष्णुप्रसाद जैसी विरुद्ध विपक्षी : धनपति पाध्या मुद्दा : हक सफा (१) साहु असामीको ९ नं. – खरिद बिक्री गर्नुपर्दा घरको मुख्य मानिसलाई थाहा दिनुपर्ने । निखन्न पर्दा सरहदमा भए ६ महिना म्याद पाउने । घरको मुख्य मानिसले ननिखनी हकदारले निखन्न पर्दा मुख्य मानिसले पाएको म्याद सम्ममा नै निखन्नु पर्ने । म्याद नाघेमा निखन्न नपाउने । साहु असामीको ९ नं. मा घरको मुख्य मानिसलाई थाहा दिई खरिद बिक्री गर्नुपर्ने । वादीको सराकतमा घरको मुख्य बाबु भई सरहदमै रहेको भन्ने देखिन आएकाले घरको मुख्य बाबुले ऐनका म्याद ६ महिना भित्र निखन्न इच्छा भए निखन्ने र निखनी छाडेबाट बाबुले निखन्न इच्छा नगरी हक छाडेको देखिएको । सो साहु असामीको ९ नं. मा थाहा पाउना निमित्त रहेको म्याद भई घरको मुख्य मानिसले थाहा पाए पछि अरूले थाहा नपाई जिउ पिच्छे थाहा पाउने म्याद छुट्टा छुट्टै रहने कुनै ऐनको मनसाय नदेखिंदा घरको मुख्य मानिस भएको मुख्यले थाहा पाएको म्याद नै कायम भई सो घरका मुख्यले निखन्न पाउने म्यादमा सम्म नै घरका मुख्यले ननिखने अरू हकदारले निखन्न पाउनेमा मुख्यले पाएको म्याद ६ महिना नाघेपछिको निखनाई पाउँ भन्ने वादीको उजुर म्याद नाघे पछिको उजुरी भई निखन्न नपाउने ठहराएको ०१४।१०।२१।२ को सिंगल बेञ्चको राय मुनासिब छ । (प्रकरण नं. ७) निवेदक तर्फबाट : प्लीडर हेरम्बप्रसाद उपाध्याय । विपक्षी तर्फबाट : एडभोकेट श्री कृष्णप्रसाद भण्डारी । फैसला १. यसमा मेरा ३ पुस्ता भित्रका हकदार पद्यपाणीबाट प्र. विष्णुप्रसादले २०१० साल फाल्गुन महिनामा के कतिमा हो हाम्रै भन्ने खेत मुरी ।४।१०राजिनामा गरी लिएका रहेछन् । त्यस बखतमा म घरमा नभइ हिन्दुूस्थान कलकत्तामा गएको थिएँ । हाल यही २०११ साल पौष २९ गते घरमा फर्की थाहा पाएकोले निखन्न जाँदा थैली पनि बताएनन् । निखन्न पनि दिएनन् । थैली किटान गरी हकसफा गरिपाउँ भन्ने वादी रहेछ । २. दाता पद्यपाणीका वादी भन्दा म नजीक हकदार भएकोले मैले खरिद गरी दिएको जग्गा वादीले निखनी लिन नपाउनेमा पनि मो. रु. १५०० मा १०।११।१२ गते मैले जग्गा राजिनामा गरी लिएपछि ऐजन चैत्र महिनामा वादी घरमा आई फेरि कलकत्ता गएको थियो । वादीको एकाघरको बाबु चक्रपाणी घरमै भई ६ महिनाको म्याद भित्र ननिखनेकोले पनि वादीले निखन्न नपाउने हुनाले वादीले झुट्टा उजुर गरेको हो भन्ने प्रतिवादी रहेछ । ३. वादीको उजुर खारेज हुने ठहर्छ भनी बाग्लुङ अदालतले ०१२।५।१४।३ मा फैसला गरेको रहेछ । ४. वादीले जग्गा हक सफा गर्न पाउने ठहर्छ भनी पाल्पा अपीलले २०१३ साल आषाढ ६ गते फैसला गरेको रहेछ । ५. पाल्पा अपीलको इन्साफ मुनासिब छ भनी सर्वोच्च अदालत सिंगल बेञ्चबाट ०१४ साल जेठ १७ गते फैसला भएको रहेछ । ६. रिभ्यु गरी पाउँ भन्ने प्रतिवादीको तो. नं. ४१९ को बिन्तिपत्रमा रिभ्युको निस्सा दिई वादी प्रतिवादीहरू को साक्षीले घुस खाई बके भन्ने मिसिल र झगडिया समेत छलफलमा झिकाई पेश गर्नु भन्ने सिंगल बेञ्चका ०१४।३।१५।६ को आदेश बमोजिम छलफलमा वादीलाई झिकाई सिंगल बेञ्चमा पेश हुँदा अपीलको र सिंगल बेञ्चको फैसलासँग राय नमिली वादीको उजुर खारेज गर्ने गरेको शुरुको इन्साफ मुनासिव देखिनाले डिभिजिन बेञ्चमा पेश गर्नु भन्ने सिंगल बेञ्चको ०१४।१०।२१।२ को आदेश रहेछ ।