निर्णय नं. २९५१ - आयकर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९५१ - आयकर भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :2040/08/20 २२५५ निर्णय नं. २९५१ ने.का.प. २०४४ अङ्क १ फुल बेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.फु.नं. ३९ मुद्दा : आयकर निवेदक/प्रतिवादी : श्री ५ को सरकार अर्थमन्त्रालय, कर विभाग कर कार्यालय विराटनगर विरुद्ध विपक्षी/पुनरावेदक : जि. मोरङ विराटनगर स्थित अरुणोदय उद्योग प्रा.लि.का तर्फबाट ऐ का सञ्चालक जि. मोरङ विराटनगर न.पं. वार्ड नं. ४ बस्ने मदनलाल अग्रवाल फैसला भएको मिति : २०४०।८।२०।३ मा § श्री ५ को सरकारबाट कुनै वस्तु मगाउन सुविधा दिने एउटा विषय हो, आयकर मिन्हा दिने अर्को विषय हो । (प्रकरण नं. १८) § उद्योगले आर्जेको बोनसबाट केही वस्तुहरू मगाउन छुट दिएकोले त्यतिकै नाताबाट औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा ९ को उपदफा (१) बमोजिम उद्योगसंग असम्बन्धित आयमा त्यस्तो उद्योगले आयकर छुट पाउँछ भन्न नमिल्ने । (प्रकरण नं. १९) § कर फछ्‌र्यौट आयोगले व्यक्तिगत धारणा बनाई अजमाइसी आधारमा आयात इजाजतपत्रको मोलको तीस प्रतिशतले खुद आय कायम गर्ने गरेको कर फछ्‌र्यौट आयोगको निर्णय र सो आधारमा कर कार्यालयले गरेको आयकर निर्धारण आदेश समेत मिलेको नदेखिने । (प्रकरण नं. २२) निवेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय विपक्षी, पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा फैसला न्या.त्रिलोकप्रताप राणा :- नेपालको संविधानको धारा ७२(ख) बमोजिम श्री ५ महाराजाधिराज सरकारबाट दोहोर्‍याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भए बमोजिम प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुन आएको छ । मुद्दाको संक्षिप्त तथ्य तथा जिकिरहरू यस प्रकार छन् : २. कर फछ्‌र्यौट आयोगको निर्णयानुसार भनी कर कार्यालय विराटनगरबाट आर्थिक वर्ष २०२८।२९ को लागि खुद आय रु. २,५४९।१९ र कर रु. १७८।४५ र जरिवाना रु. २१।५५ गरी गरेको कर निर्धारण आदेश मिति ०३४।१२।२० मा प्राप्त भएकोमा अरुणोदय उद्योग प्रा.लि.ले नेपाल औद्योगिक व्यवसाय ऐन, २०१८ अनुसार १० वर्ष आयकर छुट पाएको उद्योग हो र सोही अनुसार उक्त उद्योगलाई कर नै नलाग्ने भनी पुनरावेदकको भनाई भएकोमा कर फछ्‌र्यौट आयोगबाट आर्थिक ऐन, २०२७ को दफा १०(२) अनुसार उद्योगको औद्योगिक आयमा मात्र कर छुट हुने व्यवस्था भएको र नेपाल आयकर ऐन, ०१९ को संशोधित दफा १९(२) मा उद्योगको औद्योगिक आयमा आयकर रिहाई दिन सकिने व्यवस्था रहेको हुँदा पुनरावेदकको गैर औद्योगिक आयमा कर लगाइएको हो भन्ने जिकिर लिएको देखिन्छ । ३. अरुणोदय उद्योग प्रा.लि.ले ०२५ साल देखि नै १० वर्षसम्मको लागि आयकर छुटको सुविधा उपभोग गरी आएकोमा मिति ०२९।६।५ मा जारी भएको नेपाल आयकर ऐन, ०१९ को संशोधित दफा १९ लागु हुन सक्दैन । आयकर छुट नपाएका उद्योगको लागि मात्र आर्थिक ऐन, ०२७ को दफा १० को प्रतिबन्धात्मक वाक्यांश लागु हुने हुँदा उक्त ऐन लगाई अरुणोदय उद्योग प्रा.लि. माथि आयकर लगाउने गरेको कर फछ्‌र्यौट आयोगको निर्णय कानूनी त्रुटिपूर्ण छ । ४. यस उद्योगले प्राप्त गरेको आयात इजाजतपत्रहरूबाट व्यापारिक वस्तुहरू झिकाई व्यापारबाट प्राप्त हुने आय गैर औद्योगिक आय खुद आय कायम गरी आयकर लगाइएको हो भन्ने कर फछ्‌र्यौटको जिकिर सम्बन्धमा अरुणोदय उद्योगले नेपालबाट उत्पादित वस्तुहरू निर्यात गरी प