निर्णय नं. २९५५ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९५५ - निषेधाज्ञा भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :2040/09/15 २४३५ निर्णय नं. २९५५ ने.का.प. २०४४ अङ्क १ फुल बेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३६ सालको दे.फु.नं. २९ मुद्दा : निषेधाज्ञा पुनरावेदक/प्रतिवादी : का.न.पं. वडा नं. ३२ डिल्लीबजार बस्ने उमादिव्यश्वरी थापासमेत विरुद्ध विपक्षी/वादी : ऐ. ऐ. बस्ने माकली थापासमेत फैसला भएको मिति : २०४०।९।१५।६ मा § वादी बसेको कोठामा तथा घरमा समेत वादीको हक पुगेको प्रमाण वादीबाट आउन सकेको देखिएन निर्विवाद हक नदेखिएकोमा निषेधाज्ञा जारी गर्न नमिल्ने । (प्रकरण नं. १५) प्रतिवादी, पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना वादी, विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी फैसला न्या.त्रिलोकप्रताप राणाः- प्रस्तुत मुद्दा डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय सहमत हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजम यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. वादीहरू र प्रतिवादीहरू सगोलमा बसी आएका अंशियार भएकोमा प्रतिवादीहरूले वादीहरू बसी आएको घरबाट जबरजस्ती उठाउने तथा निजहरूको घर कोठामा प्रवेश गरी घरबाट निकाली दिने धम्की दिने गरेको तथा सो घर जग्गाको सम्पत्ति तथा ज्यान सुरक्षामा समेत आघात पर्ने शंका उत्पन्न भएकोले सो नगर्न प्रतिवादीहरूको नाममा निषेधाज्ञा जारी गरिपाउँ भन्ने व्यहोराको बागमती अञ्चल अदालतमा परेको मिति ०३३।४।१०।१ को वादीको निवेदनपत्र । ३. वादीहरू मिति ०२०।३।२१ मा नै पति, बुबा केशरजंग छँदै छुट्टि भिन्न भइसकेको र प्रतिवादीहरू पनि मिति ०१६।५।१ मा नै निज केशरजंगसंग भिन्न बसेकोमा प्रतिवादीहरू उपर वादीहरूले अंश मुद्दामा गरेको उजूरीबाट नै वादीहरूको हक कायम हुने नहुने निर्णय हुने हुनाले यो उजूरी खारेज हुनु पर्ने वादीले दावा लिएको घर निजहरूको नभई हामीहरूले नातेदारको हैसियतले बस्नको लागि एउटा कोठा दिएको र छोडी दिनु पर्‍यो भन्दा निजहरूले छोडी गइसकेको पनि हुँदा यस मुद्दाबाट निषेधाज्ञा जारी हुन नपर्ने भन्ने समेत व्यहोराको विपक्षीहरू ३ जनाको संयुक्त लिखितजवाफ । ४. प्रतिवादीहरूले पेश गरेको रजिष्ट्रेशन पास भएका लिखतहरूको बोलीबाट वादी समेतले घरका हक समेत छोडी दिई सकेको देखिँदा र अंश बारे समेत दुवै पक्षको मुद्दा नै परिरहेको स्थितिमा वादीको दावीको घरमा निजको हक बारेमा निषेधाज्ञाको रिट जारी गर्न नमिल्ने हुँदा निवेदन खारेज हुने ठहराई गरेको बागमती अञ्चल अदालतको मिति ०३३।५।३१।५ को फैसला । ५. उक्त निवेदन खारेज गर्ने गरी गरेको फैसलामा चित्त बुझेन निषेधाज्ञा जारी गरिपाउँ भन्ने समेत व्यहोराको वादीहरूको पुनरावेदन । ६. वादीहरूले हाम्रो घर छाडी अन्यत्र गई बसेका छन् भन्ने प्रतिवादीहरूले लिएको जिकिरतर्फ विचार गर्दा वादीहरू दावीको घरबाट उठी सकेको भए अन्यत्र कहाँ गई बसेका छन् यो कुरा तथ्य रुपमा भन्न खुलाउन सकेको देखिएन । अंश मुद्दा र प्रस्तुत निषेधाज्ञाको मुद्दा चलाउने वादीहरूले बसिरहेको घर छोडेको होला भन्ने अवस्था पनि देखिँदैन । वादीहरू अंशियार भएको कुरामा विवाद नभएको र बुबा पतिसंग अंश लिई छोडपत्र गरी सकेको जिकिरतर्फ दायर रहेको अंश मुद्दाबाटै निरोपण हुने हुँदा कानूनी बाटो बेगर बसिरहेको कोठाबाट निकाल्न नपाउने हुनाले निवेदकहरूले बसिआएको घर कोठामा जबरजस्ती प्रवेश गरी निकाला नगर्नु भनी प्