निर्णय नं. २९७२ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९७२ - जग्गा खिचोला भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/१०/२२ २७३९ निर्णय नं. २९७२ ने.का.प. २०४४ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.नं. ६५४, ६५५ मुद्दा : जग्गा खिचोला पुनरावेदक/वादी : का.न.पं. वार्ड नं. २७ त्यौडटोल बस्ने विष्णुप्रसाद श्रेष्ठ विरुद्ध पुनरावेदक/प्रतिवादी : ल.पु.न.पं. वार्ड नं. २० गावहाल बस्ने राममाया श्रेष्ठ फैसला भएको मिति: २०४३।१०।२२ मा § आफ्नो लोग्नेको नाताबाटै पुनरावेदक प्रतिवादीको सम्पत्तिमा हक पुग्ने हुँदा आफ्नो लोग्नेले राजीखुशीबाट घरसम्म लिई अरु जग्गामा आफ्नो हक छाडी दिएकोमा चित्त नबुझेको भए सोही बखत कानून बमोजिम उजूर गरी आफ्नो हक कायम गराउन सक्नु पर्ने । (प्रकरण नं. १२) पुनरावेदक, वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री जयकान्तलाल दाश फैसला न्या.पृथ्वीबहादुर सिंहः म.क्षे.अ.ले गरेको इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी प्रतिवादी दुवै पक्षबाट दिएको निवेदनमा अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. पिता पारुलाल तथा माता लक्ष्मीमायाबाट विपक्षीका पति गंगाप्रसाद म वादी जन्मेका हौं । पिता पारुलालसंग चित्त नबुझी विपक्षीका पति गंगाप्रसादले आफ्नो अंश वापतमा पूर्व भाजुमानको घर, पश्चिम गल्ली र हेरामा गभाजूको घर, उत्तर सडक दक्षिण इन्द्रलाल श्रेष्ठको पाताल जग्गा यति चार किल्लाभित्रको २ नाले तीन कवले ४ तले ल.पु. गावहालको घर–१ मात्र अंश वापतमा लिई २००६।९।३ गते अंश छोडपत्रको लिखत गरी ऐ २००६।९।५ गते रजिष्ट्रेशन पारीत गराई पिता पारुलाल र म सगोलमा रही बसी विपक्षी प्रतिवादी उनको पतिले आफ्नो अंश भागमा बुझी लिएको घरमा नै बसी आएकी छन् । आमा लक्ष्मीमाया २००५ सालमा र पिता पारुलाल २००६ सालमा आफ्नो कालगतीले परलोक हुनु भयो । विपक्षीका पतिले आफ्नो अंश वापत बुझी लिएको घर बाहेक अरु सम्पूर्ण श्रीसम्पत्ति अंशबण्डाको ११ नं. र अपुतालीको २ नं. ले मेरो मात्र एकलौटी हक भएकोमा माता लक्ष्मीमायाले तुई सिंहसंग १९९७।४।३१।५ मा खरीद गरी लिएको जग्गा मध्ये केही जग्गा मैले सुर्जेबहादुर श्रेष्ठलाई भोगबन्धकी दिएको छु सो बाहेक नापी नभएको बाँकी जग्गा भोगचलन गरी पश्चिम सीमानामा मेरो पर्खाल समेत लागी सकेको जग्गामा विपक्षीले खिचोला गर्न आएकीले उक्त खिचोला मेटाई पाउँ भन्ने समेत व्यहोराको विष्णुप्रसाद श्रेष्ठको फिरादपत्र । ३. वादीले लेखेको चार किल्लाभित्रको जग्गा मध्ये सुर्जेबहादुरलाई बन्धकी दिएको भनेको घर भत्की पाताल भइसकेको सो पाताल वादी समेत कुनै कसैको भोगचलनमा नभएको र उल्लेखित चार किल्ला मध्ये पूर्व सुर्जेबहादुरलाई बन्धकी दिएको भनेको जग्गा पश्चिम सानु शाक्यको, हाल बाबुकाजी महर्जनको घर, उत्तर मेरो जग्गा, दक्षिण मूल सडक र गल्ली बाटो यति चार किल्लाभित्रको ल.पु.न.पं. वार्ड नं. २१ गावहाल टोलको उत्तर, दक्षिण लम्बाई हात १६, पूर्व पश्चिम चौडाई हात १० को जग्गा म राममायाले चन्द्रमान महर्जनसंग २००७।६।४।४ मा फार्सेपत्र गराई लिई मेरो हकभोग चलनमा भएकोमा उक्त जग्गा मेरो हकभोगको हो रु. ९९।– को राजीनामा लिखत जालसाजीबाट खडा गरेकोमा सजायँ गरिपाउँ भनी विपक्षी विष्णुप्रसादले मेरा नाउँमा फिराद गर्नु भएकोमा यस अदालतबाट जालसाजी ठहर्‍याई फैसला भएपछि म