निर्णय नं. २९७८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९७८ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/१०/२३ ३३५८ निर्णय नं. २९७८ ने.का.प. २०४४ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४३ सालको फौ.पु.नं. ४५६ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी: गोविन्द गिरीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी: जि. बझाङ भैरवनाथ गा.पं. वा.नं. १ सुडि खोला बस्ने देव गिरी। फैसला भएको मिति: २०४३।१०।२६।२ मा § आफ्नो मानसिक सन्तुलन ठीक भई होस भएको अवस्थामा गृहस्थ जीवनको सर्वोपरी जीवन सहारा आफ्नो श्रीमतीलाई मार्न सम्मकै व्यवहार गरी घाइते पार्नुको साथै बालक छोरा माथि आघातित क्षति गरी मार्न सक्नु र आफ्नो प्राण रक्षाको मुख्य साधनको लागि राखेको अन्न पात धन पैसा र बास बस्ने घर समेतमा आगो लगाई नष्ट भ्रष्ट पार्नु इत्यादि दुर्भिक्ष प्रकृया होश भएको कुनै मानव जातिबाट घट्न सक्ने सम्भाव्य घटना हो भन्न र होश भएकै अवस्थामा यी घटना घटेका हुन् भनी ठहर्‍याउन मिल्ने स्थिति जाहेरी देखि लिएर बुझिएको साक्षी सरजमीन तथा घाइते भई बचेकी अभियुक्त श्रीमती जसमा समेतका घटना घटेका क्रमको बकाई लेखाई समेत आधार प्रमाणबाट समेत मुलुकी ऐन दण्ड सजायँको १ नं. बमोजिम अभियुक्तलाई सजायँ नगर्ने गरी गरेको इन्साफ मिल्ने देखिँदा मनासिब ठहर्ने । (प्रकरण नं. १९) फैसला न्या. हरिहरलाल राजभण्डारीः सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी यस अदालतमा पर्न आएको पुनरावेदनमा प्रस्तुत मुद्दाको तथ्य संक्षेपमा निम्नानुसार छ । २. केही दिन अघि देखि मगज बिग्री गाली गर्ने, राती उठी हिंड्ने गरेका मेरा काका देव गिरीले म समेत मसानी पूज्न गएको अवस्था मिति ०४१।६।२० गते राती घरमा आगो लगाई १ वर्ष ३ महिनाको बालक दिनेशलाई समेत मारेकोले ज्यानसम्बन्धीको महल बमोजिम कानूनी कारवाही गरिपाउँ भन्ने समेत गोविन्द गिरीको मिति ०४१।६।२१ को जाहेरी दर्खास्त । ३. पूर्व पूणा गिरीको बारी, पश्चिम पन्त गिरीको बारी, उत्तर भिर, दक्षिण मूल बाटो यति ४ किल्ला भित्रको प्र.देव गिरीको छाना जलेको १३/९ हात लम्बाई चौडाई भएको दुईतले फुसको घर मूल ढोका र दुई झ्यालको बाहिर पट्टी रगत लागि सुकेको मूल ढोकाको दैलोमा गहुँ र मकै छरिएको, झ्याल ढोका साविक रहेका, घरभित्र गई हेर्दा मूल ढोकाको भित्र पट्टि र दुवै झ्यालहरूमा रगत लागी सुकेको, काठको खटिया सो नजिक भित्तामा रगतका छिट्टा सुकेको, झ्यालहरू दायाँ बायाँबाट रगत चुहिरहेको भन्ने घटना स्थल प्रकृति मुचुल्का । ४. पूर्व आँपको रुख, पश्चिम घटना घटेको देव गिरीको घर, उत्तर भिर, दक्षिण मूल बाटो यति ४ किल्ला भित्रको अभियुक्त देव गिरीको दाजु पूर्ण गिरीको दुइतले, दुई कोठा भएको फुसको घरको माथिल्लो तलाको बाहिरी कोठामा उत्तर, टाउको दक्षिण पट्टि खुट्टा भई उत्तानो परेको मृतक लाशको नाक डाँडीमा दाहिने आँखा माथि अं. ७ इन्च लामो भित्री हड्डी छिनिएको घाउ र दाहिने गाला आँखी भौं देखि कानसम्म काटिएको गहिरो चोट माथिल्लो दुई हात बाहिर देखिएको दुवै आँखा बन्द रही लाश सडी नाकबाट पानी निस्किरहेको बायाँ गाला मुखदेखि कानसम्म काटिने गरी धारिलो हतियारले काटिएको दाहिने हातको नाडी काटिई छालाले मात्र हात झुण्डिरहेको तल्लो आङमा कुनै कपडा नभएको दुवै खुट्टा रगतले पोती सकेको मृतकको लाश फर्काई घोप्टो पारी हेर्दा गर्धनमा अं. ४ इन्च लम्बाई र ४ इन्च गहिराई भित्र हड्डी समेत देखिने माथिल्लो आङमा लगाएका लुगा र