निर्णय नं. २६६४ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६६४ - लिखत दर्ता बदर भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०१/३० २४४४ निर्णय नं. २६६४ ने.का.प. २०४३ अङ्क - ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०४२ सालको दे.पु.नं. ४३० फैसला भएको मिति : २०४३।१।७।१ मा पुनरावेदक/वादी : जि.सर्लाही गा.पं.हथिऔला वडा नं.७ बस्ने रामस्वरुप सहनी मलाह विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने रामसेवक सहनी मलाहसमेत मुद्दा : लिखत दर्ता बदर (१) वादी स्वयंले भिन्न भएको भनी उल्लेख गरेपछि भिन्न भएको छैन भन्न विबन्धनको सिद्धान्तले समेत नमिल्ने । (प्रकरण नं. ११) फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : प्रस्तुत मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०४२।२।३।५ मा भएको निर्णय उपर वादीको चित्त नबुझी यस अदालतमा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन परी पुनरावेदन प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ : २. विपक्षी मध्येका रामसेवक सहनी मेरा भाइ भई निजले रीतपूर्वक बण्डापत्र नदिँदा मैले निज उपर अंश मुद्दा दिएकोमा ०३५।१२।२९ सम्मको चल अचल सम्पत्तिको तायदाती दाखेल गर्ने आदेश भई दाखेल गरेकोमा सो जग्गाहरू तायदातीमा नपरेकोले बुझ्दा विपक्षी रामसेवकको नाउँको बलरा गा.पं.वडा नं.४ को कि.नं.४५ को ज.वि.०–६–०, वडा नं.९ को कि.नं.८१ को ०–१–१०, वडा नं.९ को कि.नं.१०९ को ज.वि. ०–५–१५ जम्मा ज.वि. ०–१३–५ विपक्षी मध्येका लखन मण्डलको नाउँमा लेखत पारीत गरी दिएकोले म्यादै भित्र उजूर गर्न आएको छु ज.वि.०–६–१२½ को लिखत र दर्ता बदर गरिपाउँ भन्ने ०३६।६।७।१ को फिरादपत्र । ३. वादी दावी जिकिर तथ्यहिन एवं काल्पनिक छ ब्रज मोहनप्रसाद सिंह सितको मुद्दामा ०३४।९।२५ मा मिलापत्रमा मेरो भिन्न बसेको भाइ रामसेवक सहनी भनी उल्लेख भएबाट विपक्षी सगोलमा नरहेको दाता रामसेवक सहनीसँग भिन्न भएको हुँदा र सो जग्गाको दाताको निजी आर्जन हुँदा फिराद दावी खारेज हुनुपर्ने भन्ने ०३६।९।८ को प्रतिउत्तरपत्र । ४. प्रतिवादी रामसेवक सहनीले आफ्नो हक भोगको जग्गा लिखत गरी धनीको नालेश गरी फैसला भई पारीत भएको कुरा आफूले पहिले अदालतमा व्यक्त गरिसकेको कुरामा विबन्धनको सिद्धान्त विपरीत नालेश गरेको देखिँदा फिराद दावी पुग्न सक्दैन भन्ने समेत सर्लाही जिल्ला अदालतको ०३७।६।५।१ को फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने रामस्वरुप मलाहको ज.अं.अ. मा परेको पुनरावेदन । ६. राम स्वरुप सहनी र रामसेवक सहनी अंशियार भई घरको मुख्य व्यक्ति रामस्वरुप नै रहे भएको कुरामा आजै निर्णय भएको अंश मुद्दाबाट देखिन आउँदा रामस्वरुपको हकमा बिक्री गरेको जग्गाको आधा लिखत र दर्ता बदर हुने हुँदा सो हदसम्म शुरु इन्साफ उल्टी हुने ठहर्छ भन्ने जनकपुर अञ्चल अदालतको ०३९।३।२८।२ को फैसला । ७. ज.अं.अ.को फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा ०३४।९।२५।२ मा मिलापत्र गर्दा रामस्वरुप सहनीले मेरो भिन्न भएको भाइ रामसेवक भन्ने उल्लेख गरी निवेदन दिएकोमा सगोल भनी दावी लिन विबन्धनको सिद्धान्तले रोक लगाउनेमा आधी लिखत बदर गर्ने गरेको जनकपुर अं.अ.को इन्साफमा न्या.प्र.सु.ऐन, ०३१ को दफा २(३) अन्तर्गतको प्रश्‍नमा त्रुटि देखिँदा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने ०४०।१२।१६ को आदेश । ८. यसमा रामसेवकले लखत मण्डललाई ज.वि.०–१३–५ मिति ०३५।१२।३१ मा पारीत गरी दिएको सम्बन्धलाई लिई लिखत दर्ता बदरमा प्रस्तुत फिराद पर्न आएको देखिन्छ ।