निर्णय नं. ३०५१ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०५१ - अंश भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :2044/04/19 २३९० निर्णय नं. ३०५१ ने.का.प. २०४४ अङ्क ४ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् ०४३ सालको दे.फु.नं. ८५ मुद्दा : अंश। निवेदक/प्रतिवादी: का.जि.भद्रकाली गा.पं. साविक वडा नं. ९ हाल वडा नं. ७ बस्ने भैरवबहादुर खत्री क्षेत्री। विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने तीलकबहादुर खत्री क्षेत्री। फैसला भएको मिति : २०४४।४।१९।३ मा रीतपूर्वक अंशबण्डाको लिखत नभएसम्म अथवा घरसारमा नरम करम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज गराई बण्डा बमोजिम आ–आफ्नो भागको भोग बिक्री व्यवहार गरेको कुरा व्यवहार प्रमाणबाट प्रमाणित नभएसम्म अंशबण्डा भई भिन्न भएको मान्न नमिल्ने । (प्रकरण नं. १३) निवेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी उल्लेखित मुद्दाःX फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।१२।४ को निर्णय उपर मुद्दा फुल बेञ्चबाट दोहोर्‍याई पाउँ भनी निवेदक प्रतिवादी भैरवबहादुर खत्रीको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा परेको विन्तिपत्रमा प्रस्तुत अंश मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने बक्स भई आएकोले हुकुमको प्रमाड्डी बमोजिम निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. बाबा तपबहादुर र आमा सन्तकुमारीको २ छोराहरूमा जेठा म तिलकबहादुर कान्छो विपक्षी भैरवबहादुर र एक छोरी भएकोमा बाबु छँदै हाम्रो विवाह भएको र पिताजी २०२३ सालमा परलोक हुनु भएको र आमा पनि परलोक भइसक्नु भएकोछ । कानून बमोजिम पछि बण्डा गरिदिउँला भनी जीविकाको लागि पिताजीले दिनु भएको केही जग्गा लिई २००७ साल ज्येष्ठ २० गते पिताजीसंग म तलकबहादुर मानो छुट्टिई अलग बसिआएको छु । सबै जग्गाहरू पिताजीकै नाममा छ । बण्डा गरौं भन्दा नमानी सबै सम्पत्ति घर जग्गा कब्जा गरेकोले फिराद गर्न आएको छु । विपक्षीले मलाई अंश मार्न नभएको सौतेनी आमा भनाई जिउनीमा नालेश पारेकोले त्यसमा सौतेनी आमा नभएको भनी प्रतिवाद दिएको छु । हामी २ जना बाहेक अरु अंशियार कोही छैनन्। बण्डा गर्नु पर्ने सबै सम्पत्ति विपक्षीले कब्जा गरी जिम्मा रहेकोले विपक्षीबाट बण्डा गर्नु पर्ने सबै सम्पत्ति तायदाती लिई २ भाग लगाई १ भाग अड्डैबाट दिलाई पाउँ भन्ने समेत व्यहोराको २०३५।११।१४ को तिलकबहादुर खत्रीको फिराद दावी । ३. विपक्षीले जो लिनु पर्ने अंश भाग २००७ साल ज्येष्ठ २० गते पिताजीसंग लिई भिन्न भई छुट्टिई बस्नु भएको र म र पिताजी सगोलमा बसेकोमा सोही २००७ साल आषाढमा आमा हेलथुकु भन्नेलाई ल्याउनु भएको हो । २०२१ सालमा सर्भे नापी हुँदा आफ्नो अंशभागको जति सबै जग्गा जोतपोत समेत का.जि. खड्गा गा.पं. वा.नं. ७(क) मा नापी गराई लिनु भएको छ । भद्रकाली गा.पं. वा.नं. ९(क) मा समेत आफ्नो नाममा दर्ता गराउनु भएको खड्गा गा.पं.वा.नं. ८(क) को जग्गा मोहीयामा कमाई जोताहामा लेखाउनु भएको समेत प्रमाणहरूबाट विपक्षी मानो छुट्टिई बसेको मात्र नभई आफ्नो अंश समेत लिई छुट्टिई बसेको प्रष्टै छ । पिताजी २०२३ साल कार्तिकमा र सौतेनी आमा हेलथकु २०३५ साल फाल्गुण ३ गते परलोक हुनु भएकोले अपुतालीको ६ नं. ल