निर्णय नं. ३०५४ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०५४ - ज्यान भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४४/०२/०७ १९५८ निर्णय नं. ३०५४ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको फौ.पु.नं. ५०९ मुद्दा : ज्यान पुनरावेदक/वादी: सोनादेवी लोहार्नी समेतको जाहेरीले श्री ५ को सरकार। विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जि. नवलपरासी जगसाथपुर गा.पं. वा.नं. ३ डिविनी बस्ने दुधनाथ गुप्ता। फैसला भएको मिति: २०४४।२।७।५ मा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३(३)(छ) मा उपदफा (४) अन्तर्गत अदालतमा प्रस्तुत भएको प्रहरी प्रतिवेदनमा उल्लेखित अपराधको अभियोग वा अभियुक्त बारेमा अदालतले आवश्यकतानुसार आफैं वा अन्य प्रहरी कर्मचारी वा सरकारी अभियोक्ता प्रचलित नेपाल कानून बमोजिम पुनः तहकिकात गरी गराई मुद्दामा पूरा तवरले इन्साफ गर्ने यो दफामा लेखिएको कुनै कुराले बाधा पुर्‍याएको मानिने छैन भन्ने किटानी व्यवस्था भएको पाइन्छ यस्तोमा इन्साफ नगरी शुरुले तामेलीमा राख्ने ठहर्‍याएको आदेश मनासिब ठहर्‍याई गरेको फैसला कानून अनुरुप मिलेको नदेखिने । (प्रकरण नं. १५) पुनरावेदक, वादीतर्फबाट: विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा उल्लेखित मुद्दाः X फैसला न्या.सुरेन्द्रप्रसाद सिंह: श्री पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन भनी यस अदालतमा वादी श्री ५ को सरकारको परेको पुनरावेदनको तथ्य तथा विवरण संक्षेपमा निम्नानुसार छ । २. जिल्ला नवलपरासी जगन्नाथपुर गा.पं. वा.नं. ३ बस्ने दुधनाथ गुप्ताले मेरो बाबुलाई ललाई फकाई घडेरी र जग्गा समेत परासी मालमा गई पास गराई भोलिपल्ट घरमा आएका थिए । नामालुम कुन औषधि खुवाई उक्त दिनको राती नै बुबाको मृत्यु भएछ, भोलिपल्ट हामी नजिकको छोरीहरूलाई खबर नगरी आफू र आफ्नो मानिस लगाई बुबाको लाश जलाई दिएछन् । हामी लोहारको र निज दुधनाथ गुप्ता तेली जातको मानिसले त्यसरी जलाउनु नपर्ने निजलाई प्रहरीद्वारा पक्राउ गरी के खुवाई कर्तव्य गरी मारेका हुन खुलाई कानून बमोजिम कारवाही गरिपाउँ भन्ने सिहसनी लोहार्नी र सोना लोहार्नीको एकै मिलानको जाहेरी दर्खास्त । ३. २०३६।१०।२० गते म र शीतल लोहार परासी मालमा जग्गा विगहा १–२–३ को घडेरीको ०–०–६ समेत मलाई पास गरिदिन भनी जम्मा रु. २६,९९९।– निज शितल लोहारलाई दिई घरमा आएको हो । भोलिपल्ट निजको मृत्यु भएको हो मैले डाक्टरी औषधिको दुकान खोलेको छु, औषधिहरू बिक्री गर्दछु । शितल लोहारको मृत्यु भएपछि जाहेरवालाको लोग्ने र गाउँका मानिस समेत नारायणी नदीमा लगी जलाइएको हो, मैले कुनै औषधि खुवाई मारेको होइन भन्ने समेत दुधनाथ गुप्ताको मौका कागज । ४. ०३६।१०।२१ गते मर्ने शीतल लोहारको मृत्यु भयो भन्ने कुरा भोलिपल्ट थाहा पाएको थियो, कसरी मृत्यु भयो थाहा भएन । यस अघि निज विरामी पनि थिएनन् । दुधनाथ गुप्ताले औषधि खुवाई नखुवाई मारे नमारेको कुरा मौकामा नदेखेको हुँदा हामीलाई थाहा हुन सकेन, निजको भतिजोलाई थाहा होला भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ५. मेरो बुबाको दमको व्यथा भएको हुँदा दुधनाथ गुप्ता राती भई आई सेतो औषधि खुवाएको केही छिन पछि बुबाको मुखबाट रगत आएको थियो, बुबाको मुखबाट रगत आएको देखि म रुन लागें दुधनाथले मलाई नरो हल्ला पनि नगर भनेको हुँदा डरले कसैलाई पनि भनिन र हल्ला पनि गरिन मेरो भाइ रामजी लोहारले पनि रोकेनन्, जलाउन जाँदा पनि रोकिएन