निर्णय नं. ३०६२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०६२ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/१२/१० २२३९ निर्णय नं. ३०६२ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको रिट नं. १८६० विषय : उत्प्रेषण निवेदक : जि.पर्सा चैनपुर (बहुवारी) वीरगञ्ज स्थित नारायणी राइस मिल्स प्रा.लि.को तर्फबाट अधिकार प्राप्त शुल्कबहादुर उप्रेती । विरुद्ध विपक्षी : श्री ५ को सरकार कर विभाग, लाजिम्पाट। श्री ५ को सरकार उद्योग विभाग,काठमाडौं। श्री कर कार्यालय,वीरगन्ज । आदेश भएको मिति: २०४३।१२।१०।३ मा ०३२।१२।१६ मा इजाजत प्राप्त गरी ०३४।१०।२४ देखि उत्पादन शुरु गरेको देखिन्छ, आधुनिक किसिमको उद्योग हो भन्नेमा कुनै विवाद देखिन्न, प्रस्तुत उद्योगको स्थिर पुँजी २५ लाख भन्दा बढीको भन्ने पनि देखिन्छ, यस्तो स्थितिमा औ.व्य. ऐन, ०३० को दफा ८(ग) तथा दफा ९ (१)(ग)(१) तथा दफा ९(३)(ख) को अनुसूची २ र ऐ. ऐन, ०३८ को दफा १४(१) समेतको विपरीत हुने गरी ०३४ साल माघ देखि मात्र उत्पादन शुरु गरेको मितिले ५ वर्ष सम्म आयकर लाग्न नसक्ने प्रष्ट देखिने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की उल्लेखित मुद्दाः X आदेश न्या.गजेन्द्रकेशरी बास्तोलाः संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको संक्षिप्त व्यहोरा निम्नानुसार छ । २. आधुनिक मिल स्थापना गर्न उद्योग विभागबाट मिति २०३२।१२।१६ मा इजाजतपत्र पाई सो विभागको पत्रबाट उद्योग रहने स्थान हेटौंडाको सट्टा वीरगन्ज कायम गरी स्थान परिवर्तन भएको र सो उद्योग नारायणी राइस मिल्स प्रा.लि.को नाममा रजिष्टर्ड भई प्रमाणपत्र प्रा.लि.नं. ८३२।०३३ को प्रमाणपत्र समेत प्राप्त गरी सो उद्योग स्थापना भई मिति २०३४।१०।२४ देखि उत्पादन शुरु गरी सो उद्योग सञ्चालन गरी आएको र स्थिर पुँजी उद्योग विभागको ०४१।४।१२ को पत्रबाट २८,००,०००।– बाट वृद्धि गरी रु. ३२,६५,५८१।२० कायम भई निर्यातमूलक उद्योगको वर्गीकरण भित्र पर्दछ । तत्काल लागु रहेको औद्योगिक व्यवसाय ऐन, ०३० को दफा ९(१)(ग)(१) दफा ९(३) ख. समेतले उत्पादन शुरु गरेको मितिले ५ वर्षको शतप्रतिशत आयकर छुट पाउने हुँदा सो अनुसारको छुट होस भनी पटक पटक निवेदन दिएकोमा यस उद्योगलाई आयकर छुट दिन नमिल्ने हुँदा कर निर्धारण गर्नु भनी अर्थ मन्त्रालय कर विभागको मिति २०४२।५।२४ को आ.वा. प्राप्त भएको भनी विपक्षी नं. ३ ले उक्त उद्योगको आ.व. ०३४।३५ देखि ०३६।३७ को आयकर निर्धारण समेत गरी पठाएको मिति ०४२।५।३१ को आदेश प्राप्त भई सो कुराको जानकारी हुन आएकोले, सो मिति २०४२।५।२४ मा विपक्षी नं. १ को आ.वा. तथा सो सम्बन्धी निर्णय समेत त्रुटिपूर्ण छ । औ.व्य.ऐन, ०३० बमोजिम सहुलियत तथा सुविधा पाउने यस उद्योगको कानूनी हक र सो अनुसार सुविधा प्रदान गर्ने विपक्षीहरूको कानूनी कर्तव्य भएको स्पष्ट छ । सो ऐनले प्रदान गरेको सुविधा तथा पुँजी लगानी र रोजगारीको अनुपातमा तीन वर्ष देखि १० वर्षसम्म त्यस्तो उद्योगको उत्पादनबाट भएको खुद आय शतप्रतिशत आयकर मिन्हा दिइनेछ भन्ने र अन्तःशुल्कमा पनि पहिलो वर्षको लागि शतप्रतिशत, दोश्रो वर्षको लागि पचहत्तर प्रतिशत र तेश्रो वर्षको लागि ५० प्रतिशत अन्तःशुल्क छुट दिइने छ भन्ने व्यवस्था भएको छ । ऐनको दफा ९(१)(ग)(१) तथा दफा ९(३)(ख) समेत अनुसार आयकरको छुट पनि पाउने कुरा निर्विवाद छ