निर्णय नं. ३११२ - परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३११२ - परमादेशको आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०५/०९ २०२६ निणर्य नं. ३११२ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नं. २११५ विषय : परमादेशको आदेश जारी गरिपाउँ । रिट, निवेदक: का.जि. किर्तिपुर गा.पं. वडा नं. ९ बस्ने शिव श्रेष्ठ । विरुद्ध विपक्षी : श्री भुमिसुधार कार्यालय काठमाडौका भूमिसुधार अधिकारी । का.जि.कीर्तिपुर गाउँ पंञ्चायत वा.नं.९ बस्ने नानी श्रेष्ठ । आदेश भएको मिति: २०४४।५।९।३ मा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ग) मा गरिएको व्यवस्था अनुसार झट्केलो छोरालाई परिवार भित्रको व्यक्ति भनी संज्ञा दिन मिल्ने देखिँदैन एक परिवार भित्रको व्यक्ति नदेखिए पछि निजले झट्केलो बाबुपट्टिको सम्पत्तिमा कानूनको अधिनमा रही मोहियानी हक प्राप्त गर्न सक्ने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी विपक्षीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री जीतबहादुर कार्की तथा विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदकको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदकले झट्केला बाबुराम श्रेष्ठ जग्गा धनी भएको काठमाडौं जिल्ला तत्कालीन कीर्तिपुर पञ्चायत २(ख) हाल चिढु विहार गाउँपञ्चायत कि.नं. ८८ को ६–०–० र कि.नं. ९९ को १–५–० जग्गा पहिले देखि मोही भई कमाई आएको हुँ र निवेदकको नाममा नापीको फिल्डबुक २ नं. अनुसूची र अन्य लगतमा मोही जनिनको अतिरिक्त मोहीको प्रमाणपत्र पनि छ । झट्केलो बुबा बाबुरामको देहावसान पछि मेरी आमा सुनपुतली र प्रत्यर्थी मैयानानीको संयुक्त जग्गा धनी भएको उल्लेखित जग्गामा ०४०।३।१८ गते धान रोप्न लाग्दा रोपाई कार्यमा व्यवधान खडा गरी जोत दखल गरेको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ अन्तर्गत मोही बेदखल गरेकोमा सजायँ गरी रु. २,५२०।– हर्जाना दिलाई हक सुरक्षित गरिपाउँ भनी प्रत्यर्थी कार्यालयमा निवेदन गरेकोमा अनुसूची एवं फिल्डबुकबाट समेत एउटै परिवारको ज.ध. र मोही देखिँदा बेदखली भन्न मिल्दैन, तसर्थ बेदखलीतर्फ कारवाही गरी रहन नपर्ने हुँदा मिसिल खारेज गर्ने भन्ने निर्णय २०४२।९।२५ मा गरियो । भूमिसम्बन्धी ऐनको दफा ३२ अन्तर्गत दावा गरिएकोमा त्यसमा वर्णित अवस्था विद्यमाना भए नभएको ठहर गरी वादी दावी पुग्न नसक्ने कुरा अ.बं. १८४क, १८५ र १८९ समेतको आधारमा ठहर गर्नु पर्नेमा नगरिएको निर्णय उक्त कानूनको उल्लंघन हुनुको अतिरिक्त अधिकार क्षेत्र अनुपयोग हुन गएको छ । झट्केलो छोरा एकासगोल ठहर्दैन भन्ने कुरा अंशबण्डाको १, २, र ३ नं. ले स्पष्ट गर्दा गर्दै एउटै परिवारमा ज.ध. र मोही नहुने निर्णय स्पष्ट त्रुटिपूर्ण छ । भूमिसम्बन्धी ऐनको दफा ३२ बाट संरक्षित मोही हकको विपरीत निर्णय गरिएको छ । उपरोक्त उल्लेख भए अनुसार प्रत्यर्थी अधिकारीको अवैध तथा अधिकार क्षेत्रात्मक दोषपूर्ण निर्णयले म निवेदकको संविधानद्वारा प्रदत्त मौलिक हक तथा भूमिसम्बन्धी ऐनद्वारा प्रदत्त कानूनी हकमा आघात गरेकोले परमादेश उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी प्रत्यर्थी अधिकारीको उक्त निर्णय र कारवाही बदर गरी निवेदकको उजूरीमा कानून बमोजिम कारवाही गरी निर्णय गर्नु भन्ने समेत आदेश जारी गरिपाउँ भन्ने रिट निवेदन जिकिर रहेछ । ३. विपक्षीहरू