निर्णय नं. १८१ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८१ - अंश भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१९/१२/०९ २५३८ निर्णय नं. १८१ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. २१३ निवेदक, प्रतिवादी : लक्ष्मीदेवी तुलाधर्नी समेत विरुद्ध विपक्षी, वादी : सन्तमाया ज्यापुनी मुद्दा : अंश १. मुद्दा चल्दा चल्दैको अवस्थामा – अ.बं. ३४ को रीतपूर्वक भएको छोडपत्रलाई कानूनले सदर मान्नुपर्ने । मुद्दा चल्दाचल्दैको अवस्था उक्त छोडपत्र भएको देखिएतापनि फैसला नहुँदै मुद्दा परिरहेको अवस्था यस्तो लिखत गर्नु हुँदैन भन्ने कानूनी व्यवस्था नभएको । हामीलाई करकापसँग कागज गरायो भन्ने वादी सन्तमायाको उजुरी नभई त्यसमा चित्त नबुझेको भन्ने बिन्तिपत्रसम्म दिएको । यस्तो बिन्तिपत्र दिंदैमा त्यसलाई अंशबण्डाको ५१ नं. बमोजिम उजुरी पनि भन्न मिल्न नआएको र अ.बं. ३४ नं. रीतपुर्याई लिखत भएकै देखिएकोले समेत उक्त छोडपत्र लिखत कानूनले सदर मान्न पर्ने नै देखिन्छ । (प्रकरण नं. १९) २. नावालकको हकमा – छोडपत्र गरि दिएको भए अ.बं. ३४ नं. बमोजिम चित्त नबुझ्ने नाबालकले उजुर गर्न पाउने । ....... नाबालक छोराहरूको हक मेटिन गयो कि भन्नलाई आमाले छोडपत्र गरिदिएकोमा चित्त नबुझ्ने नावालकहरूले उमेर पुगेपछि उजुर गर्न पाउने अ.बं. ६४ नं. ले दिएकै (प्रकरण नं. २०) निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे, एडभोकेट मधुप्रसाद विपक्षी तर्फबाट : प्लिडर मुक्तिलाल झा फैसला १. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्याइपाउँ भनी सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐजन नियमावलीको संशोधित नियम ६३ को उपनियम ४ बमोजिम दोहर्याउने निस्सा भई दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा, २. मलाई हिराकाजीले स्वास्नी तुल्याई निजका वीर्यबाट छोरा घनश्याम जन्मेको दोश्रो गर्भ रेहपछि निजका घर मखन बाहालमा लगी राखेकोमा लोग्ने घरमा नभएको मौकामा प्रतिवादीहरूले कुटपीट गरी घरबाट निकाला गरेकाले माइत घरमा आई बसी लोग्नेसँग अंश माग्दा बाबुसँग अंश लिन बाँकी भएकाले अंश दिन मिलेन अहिले महिनाको रु. २०। का दरले माना चामल दिन्छु भनी ०६।६।६ मा कागज लेखी घ्याचलखु टोलमा राखी महिनाको रु. २० का दरले दिएको लोग्ने बिरामी भएका बखत भेट्न जाँदासमेत भेट्न नदिएको र ०७।११।११ गते लोग्ने परलोक भएकाले ऐजन १२ गते घरमा जाँदा प्रतिवादीहरूले मलाई कुटपीट गरी निकालेकाले मेरो छोरा २ को अंश विवाह खर्च र मेरो अंशसमेत प्रतिवादीबाट तायदाती लिई दिलाईभराई पाउँ भन्नेसमेत वादी सन्तमाया ज्यापुनीको बिन्तिपत्र बयान । ३. वादी मेरो चिनापर्चीको मानिस नहुनाले नाता पर्ने नपर्ने मलाई थाहा छैन । वादीलाई बाबुले घरमा ल्याइ राखेको छैन । वादीलाई बाबुले स्वास्नी तुल्याएको मलाई थाहा नहुनाले निजलाई अंश दिनुपर्ने होइन । निकाला गरे भन्ने वादी दावा फजुल हो । कुटपीट गरी निकालेको भए घा जाँच गराई उजुर गर्न सक्नुपर्ने । ०५ साल बैशाखदेखि बाबु दुवै आँखा नदेख्ने र विक्षिप्त भएको मानिसले ०६।६।६ गते बादीलाई कागज गरिदिएको होइन । बाबु छँदासम्म वादी घरमा आएकै छैन । बाबु मरेपछि अहिले नक्कली स्वास्नी बनी अंश खान खोजेको देखिएको र बाबु परलोक भएपछि वादी हाम्रो घरमा आएकी र हामीले कुटपीट गरी निकालेको समेत होइन र वादीलाई हामीले अंश दिनुपर्नेसमेत होइन भन्नेसमेत प्र. लक्ष्मीदेवीको वा समेतको ज्योतिरत्नको बयान । ४