निर्णय नं. २६७५ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६७५ - डाँका भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०४/१० २३१९ निर्णय नं. २६७५ ने.का.प. २०४३ २०४३ अङ्क – ४ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको फौ.पु.नं. ६१९ फैसला भएको मिति : २०४३।४।१० मा पुनरावेदक/वादी : जितबहादुर लामाको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.धादिङ पिडा गा.पं.वडा नं.८ बस्ने नरबहादुर तामाङसमेत मुद्दा : डाँका (१) कानुन बमोजिम अधिकार प्राप्त अधिकारीले दशी बरामद नगरेको वा अन्य मुचुल्का समेत नभएको अवस्थामा जाहेरवालाले भनेको मात्र आधारमा जाहेरी साथ पेश भएको काँसको दुई थान डवकालाई दशीको रुपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं. १८) (२) डाँका गरेको भन्ने तथ्ययुक्त सबूद प्रमाणको अभावमा केवल प्रहरीमा भएको बयानको आधार लिई कसूरदार ठहराउन मिल्ने अवस्था देखिँदैन । (प्रकरण नं. १९) पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणी दाहाल विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम रहेछ : २. २०३९ साल बैशाख २८ गते म घरमा नभएको अवस्था सो रातको अं.१० बजे मेरो घरमा नरबहादुर तामाङ्ग समेत आई घरभित्र पसी मेरो श्रीमतीलाई बाँध छाँद गरी बिगो रु.९००७।– को भाँडा वर्तन, लुगा, कपडा, सुना, चाँदी नगद समेत चोरी गरी लगेकाले चोरी भएको मध्ये २ वटा काँचको डवका फेला परेकाले सो डवका र नरबहादुर समेतलाई पेश गरेको छु । कानुन बमोजिम होस् भन्ने समेत व्यहोराको ०३९।३।९ को जाहेरी दर्खास्त । ३. २०३९।१।२८ गतेका दिन साँझमा चमार दोङ तामाङ्ग बुध घलान तामाङ, लोप्चन कान्छा तामाङ कप्तान माहिला थिङ्ग तामाङ समेत मेरो घरमा आई जितबहादुरको घरमा चोरी गर्न जाउँ भनेकाले ५ जना भई जाहेरवालाको घरमा गई निजकी श्रीमतीलाई बाँधी कसी सुन, चाँदी, भाडा वर्तन, नगद समेत चोरी गरी बाँडफाँड गर्दा मेरो भागमा २ वटा डवका र रु.२४०।– परेको थियो । रुपैयाँ मासी खाएँ डवका दाखिल भएको छ भन्ने समेत व्यहोराको नरबहादुर तामाङ्गको प्रहरी कागज । ४. २०३९।१।२८ मा म समेत पाँच जना भई जाहेरवालाको घरमा चोरी गरी बण्डा गर्दा मलाई रु.२४०।– दिए अरु पछि बाँडौला भनी हर्कबहादुर समेतले लगे भन्ने समेत व्यहोराको कृष्णबहादुरको प्रहरीमा कागज । ५. बुद्धिमान, लोप्चन कान्छा, हर्कबहादुर, भिमबहादुर समेतलाई खोज तलास गर्दा फेला नपरेको भन्ने प्रहरी जवान रामचन्द्र लामिछानेको प्रतिवेदन । ६. ०३९।१।२८ का दिन जाहेरवालाको घरमा नरबहादुर तामाङ्ग, चमार दोङ तामाङ, लोप्चन तामाङ्ग हर्कबहादुर तामाङ्ग, कप्तान माहिला थिङ तामाङ्ग, मीनबहादुर, लोप्चन बुध घलान तामाङ समेतले जाहेरीमा उल्लिखित माल सामानहरू चोरी डाँका गरी लगेको हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ७. जितबहादुर तामाङ्गको घरमा रातीमा पसी बिगो रु.८,१२७।– को धनमाल प्र.नरबहादुर तामाङ्ग चमार दोङ्ग तामाङ्ग भन्ने कृष्णबहादुर दोङ्ग तामाङ्ग, तर्कबहादुर लोप्चन तामाङ्ग, कप्तान माहिला थिङ्ग तामाङ, मिनबहादुर लोप्चन तामाङ, बुध घलान भन्ने बुद्धिमान तामाङ्ग समेत जना ६ ले चोरी गरी लगी भाग बण्डा गरी बाँडी लिएको सिद्ध हुन आएकोले प्र.हरूले चोरीको महलको ४, ६ नं. अनुसारको कसूर गरेको दे