निर्णय नं. ३१२६ - गर्भपतन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१२६ - गर्भपतन भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०४/११ ४३६७ निर्णय नं. ३१२६ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको फौ.पू.नं. ४१२ मुद्दा : गर्भपतन । पुनरावेदक/प्रतिवादी:जि.धनुषा जदुकोहा गा.पं. वडा नं. ६ बस्ने कृष्णलाल यादव । विरुद्ध विपक्षी/वादी: प्र.ह.मेघराज कोइरालाको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति: २०४४।४।११।२ मा एउटा स्त्री जातीले आफ्नो लोग्ने भएकै अवस्था खास तथ्यको अभावमा अर्को संग करणी लिनुदिनु भएको हो, जसबाट गर्भ पनि रहयो र गर्भ पतन समेत भयो भनी सिलसिलेवार रुपले घटना क्रमको वर्णन गर्दै कसैको नाम लिनु पर्ने अवस्था पर्न नआउने । (प्रकरण नं. २०) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री महादेव यादव विपक्षीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री जीतबहादुर कार्की उल्लेखित मुद्दाःX फैसला न्या.महेशरामभक्त माथेमाः पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ आज यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा यस प्रकार छ । २. जदुकोहा बस्ने धनिकालाल यादवकी छोरी इश्वरीदेवी माइति घरमा बसिरहेकी अवस्थामा नमालुम कस्को गर्भ बोकी ५।६ महीनाको गर्भ भएपछि २०३५।५।२८ गते गर्भ गराएको रहेछ भन्ने थाहा पाई पत्ता लगाउँदा निज इश्वरीदेवीलाई कृष्णलाल यादवको घरमा राखी निज इश्वरी देवीका बाबु समेत भई उपचारको निमित्त जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको भन्ने व्यहोराको प्र.ह. मेघराज कोइरालको मिति ०३५।६।२ को प्रतिवेदन । ३. माइतीमा बस्दा किसुनलालसँग सम्पर्क भइराखेकोमा चैत्र महीना देखि मेरो मासिक नभएको कुरा किसुनलाललाई भन्दा जे परेको म बेहोर्छु भनेकोले म चुप लागी बसें । गर्भ रहेको ५ महीनापछि एकदिन किसुनलालले पहेंलो रंगको पाउडर जस्तो धुलो औषधि खा भनी दिंदा मैले मानिन् त्यसको ३, ४ दिनपछि म घाँस काटी घरतर्फ आउँदै गर्दा बाटोमा पर्ने शिवधारी यादवको भूसघरमा मिश्रिलाल यादव, रामसागर यादव, किसुनलाल यादव बसिरहेका रहेछन, किसुनलालले मलाई बोलाई भूसाघरमा तीनै जना मिली जबरजस्ती औषधि खुवाए, सो कुरा घर पुगी कसैलाई पनि भनिन । भोलिपल्ट विहान उठ्दा देखि मेरो भगबाट रगत खस्न लाग्यो, साँझ घाँस काट्न गएका बखत पेटमा सारै पीडा भएको किसुनलाललाई भनेपछि निजले सोही भूसाघरमा लिई आए तहाँ नै मेरो गर्भपतन भयो, बेहोस जस्तै हुँदा मलाई केही थाहा भएन भन्ने समेत व्यहोराको इश्वरी देवीको कागज । ४. इश्वरीदेवी यादवलाई ०३५।५।३० मा शारीरिक जाँच गर्दा २८ हप्ता भन्दा बढीको बच्चा हालै पतन भएकै लक्षण सबै पाइन्छ भन्ने व्यहोराको जनकपुर अञ्चल अस्पतालको मेडिकल बोर्डको रिपोर्ट । ५. चन्दर यादव र इश्वरी ग्वार्नीको लसपस भई गर्भ रहन गएको सुनेको हुँ । ०३५ साल भदौ २७ गतेका दिन डाक्टर सीतारामले सुई दिई गौरीशंकरले दवाई खुवाए, शिवशंकर यादव, पलट यादव, काशी यादव, चन्दर यादव, धनिकलाल समेत भई इश्वरीको गर्भपतन गराएको हो, रिसइवीबाट मलाई झुठ्ठा पोलाएका हुन, म निर्दोष छु भन्ने समेत व्यहोराको किसुनलाल यादवको कागज । ६. आजभन्दा १ वर्ष अघि देखि नै इश्वरी र कृष्णलाल यादव घाँस दाउरा काट्न र खेतीपाती गर्न जाँदा समेत संगै हिड्ने, हाँस ख्याल गर्ने गरेको, २।३ महीना देखि इश्वरीको पेट केही बढ्दै आएको थियो, गाउँको सबै जनाले कृष्णलालको गर्भ हो भनी हल्ला गर्दथे, के कसरी गर्भपतन गराएको हो थाहा छैन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ७