निर्णय नं. २६९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०२/०८ २३४८ निर्णय नं. २६९१ ने.का.प. २०४३ अङ्क - ४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् ०४२ सालको रिट नं. २०४४ आदेश भएको मिति : २०४३।२।८।५ मा निवेदक : जि.हुम्ला सिमिकोट गा.पं.वार्ड नं. ५ बस्ने देवीबहादुर रोकाया विरुद्ध विपक्षी : जिल्ला कार्यालय हुम्लाको प्रमुख जिल्ला अधिकारीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) पुनरावेदनको तहको बाटो नअपनाई रिट क्षेत्रमा प्रवेश गरेको देखिँदा प्रस्तुत रिट निवेदनमा विचार गर्नु नपर्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षीतर्फबाट : विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भनी रिट निवेदन मिति ०४१।१२।२७ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : निवेदक विगत २४ वर्षदेखि निजामती सेवा नियमावली, २०२१ अन्तर्गत श्री ५ को सरकार हुलाक सेवा विभागमा कार्यरत छु । मध्य पश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालयको मिति ०४१।८।३ का पत्र संख्या १५।०४१।४२ च.नं. १०९० अनुसार हाल निवेदकलाई राप्ती अञ्चल रोल्पा जिल्ला हुलाक अन्तर्गत थावाङ्ग छोटी हुलाकको खरिदार पदमा सरुवा गरिएको छ यसबाट स्पष्ट हुन्छ निवेदकले बडो दुःख र कष्ट सहेर पनि अति दुर्गम क्षेत्रका जनतालाई बढी बफादारी र इमान्दारीका साथ सेवा गर्दै आएको छु । म सेवामा कार्यरत रहेको विभागले खरिदार पदमा रोल्पा सरुवा गरेर मलाई जिम्मेवारी बहन गराएको छ भने विपक्षी प्रमुख जिल्ला अधिकारीले केही सार्वजनिक अपराध तथा सजायँ ऐन, २०२७ अन्तर्गतको अभियोगमा अनुसन्धानको सिलसिलामा मलाई जि.प्र.का.हुम्लाको मिति २०४१।४।३० को पत्रानुसार थुनामा राखिएकोलाई नैतिक पतन देखिने फौज्दारी अभियोगमा गिरफ्तार भएको संज्ञा दिई नि.से.नि., २०२१ को १०.७ को ४ बमोजिम सस्पेण्डमा राखिएको व्यहोरासँग अवगत भएको छ । उक्त ०४१।४।३० को पत्रमा मलाई नि.से.नि. १०.६ को २ मा वर्णित राजनीतिमा भाग लिएको आरोप लगाइएको छ । निज प्रमुख जिल्ला अधिकारीले ०४१।५।२१ मा सस्पेण्ड बारेलाई नै लिएर अर्को पत्र दिनु भयो । सो पछिल्लो पत्रमा म उपर नि.से.नि.को १०.६ को ४ को अभियोग आरोपित गर्दै ऐन १०.७ को १ को (क) र (ख) अन्तर्गत सस्पेण्डमा राखिएको व्यहोरा जनाइएकोछ । प्रथमतः केही सार्वजनिक अपराध र सजायँ ऐन, २०२७ अन्तर्गतको विवाद नैतिक पतन देखिने फौज्दारी मुद्दामा सर्वथा होइन । एकछिनलाई नैतिक पतन देखिने फौज्दारी अभियोगमा गिरफ्तार भएको मानेकै खण्डमा पनि नि.से.नि.को नियम १०.७.४ ले सस्पेण्डमा थुनिएको अवधिभर मात्र क्रियाशिल रहने व्यवस्था गरेको छ निवेदकलाई २०४१।४।२८ मा गिरफ्तार गरिएको हो र त्यसको २४ दिन पछि रु.७२५।– धरौटी राखी छुटेको हुँ । यसबाट प्रष्ट हुन्छ, विपक्ष प्रमुख जिल्ला अधिकारीको म माथिको कारवाही पूर्वाग्रहबाट अभिप्रेरित छ । विपक्षी प्रमुख जिल्ला अधिकारीले मलाई दिनु भएको ०४१।४।३० को पत्रमा म उपर नि.से.नि. को नियम १०.६.२ र ०४१।५।२१ को पत्रमा ऐनको १०.६.४ अन्तर्गत कसूर गरेको आरोप लगाइएको छ । जस अनुसार पहिलोले राजनीतिमा भाग लिएमा कुनै पनि निजामती सेवाको कर्मचारी नियम १०.६ बमोजिम नोकरीबाट बर्खास्त गर्न कारण ब