निर्णय नं. २६९५ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६९५ - अंश भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०४/०६ २२८७  निर्णय नं. २६९५ ने.का.प. २०४३ अङ्क -४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको दे.पु. नं. ५३६ फैसला भएको मिति : २०४३।४।६ मा पुनरावेदक/वादी : काभ्रेपलान्चोक जिल्ला खोपासी गा.पं.वार्ड नं.३ बस्ने तेजप्रसाद भारती विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ख्याकु बस्ने चेतनाथ भारती मुद्दा : अंश (१) यस अदालतमा उपस्थित हुन आएका विवादको विषयमा यसै अदालतबाट तहकिकात गरी निर्णय गर्दा निर्णयबाट विपरीत असर पर्ने पक्षले एकपटक पनि पुनरावेदन तहबाट विचार भई इन्साफ पाउने मौलिक हकबाट समेत बञ्चित हुन जाने भएकोले सो गर्नु न्यायोचित देखिन नआएको विवादको विषय यसै अदालतबाट इन्साफ दिन नमिल्ने । (प्रकरण नं. १७) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गान र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधर फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् । २. बाजे शिवप्रसादका ३ श्रीमती जेठी बजेका गर्भबाट जन्मेका २ छोरा मध्ये जेठा मेरा बाबा हरिलाल जीवितै रहेको र माहिला उसै बखत परलोक हुनुभएका थियो । माहिला र कान्छी बजैको गर्भबाट ७ वटा सन्तान जन्मी मेरा बाबु समेत गरी आठ अंशियारहरू कायम रहेकोमा काका यादवप्रसाद २०२६ साल भन्दा अगावै परलोक भई सक्नु भएको थियो । २००३ सालमा म ३ वर्षको नाबालख हुँदा आमा परलोक हुनुभएका र बाबा २००५ सालमा भारततर्फ जानु भएकोले घरमा मेरो पालन पोषण हेरचाह समेत नगरेकोले मामा निलकण्ठ गिरीले मलाई आफ्नो घरमा लगि पालन पोषण विवाह व्रतबन्ध समेत गरी दिनु भएको थियो । बाबु भारतबाट नफर्केको र चिठीपत्र समेत नपठाएकोले मरे बाँचेको कुनै खबर हुन सकेन । २०२५ सालमा बाजे शिवप्रसादको समेत निधन भएपछि विपक्षीहरूले आफ्नो आफ्नो अंशबण्डा गरी मेरो बाबुको अंश नै नलगाएकोले मेरो बाबुको अंश कहाँ छ देखाई दिनुहोस् भन्दा तिम्रो बाबु हरिलालले बेहोर्नु पर्ने कृया खर्च वेहोर अनि अंश दिन्छौं, २०२५ साल फाल्गुण १ गते रु.११००।– कृया खर्च समेत काका चेतनाथ भारतीको हातमा दिए । मेरो अंश भाग छुट्याई दिनुहोस् भन्दा तैले अंश पाउँदैनस् जे गर्छस् गर भनी २०२५।११।२ गतेका दिन भनेकाले उक्त २०२५।११।२ भन्दा अघिल्ला दिनसम्मको चल अचल सम्पत्तिको तायदाती लिई घर व्यवहार चलाउने काका चेतनाथ भारती लगायत ७ अंशियारबाट ८ अंश लगाई मेरा बाबु हरिलालको अंश १ भाग छुट्याई पाउँ भन्ने फिरादपत्र । ३. हामीहरूको परस्परमा कुरा नमिलेकोले हामीहरूको पिता शिवप्रसादबाट विपक्षीका पिता हरिलालले २००१ सालमा आफ्नो भाग अंश लिई भिन्न हुनुभएका थियो । विपक्षीका बाबुको अंश विपक्षीले भोग चलन गर्दै आइरहनु भएको छ । वादीका पिता हरिप्रसाद भन्ने हरिलालले आफ्नो भागको अंश मध्येको रैकर खेत माटो मुरी ।२।१०। को जग्गाहरू रु.९९।५० मा ००५।१२।२४ मा खोपासी बस्ने हर्ककुमार श्रेष्ठलाई राजीनामा गरी दिनु भएको छ । विपक्षी स्वयंले अंशका जग्गा मध्येकै घरबारी जग्गा २०३१ सालमा बिक्री गरेको छ । जुन हालसम्म कालु सिंहले नै भोगी आएको छ । भूमिसम्बन्धी ऐन नियम बमोजिम विपक्षीले आफ्नो नाउँमा फाराम भरेको छ र जोताहाको अस्थायी निस्सा समेत विपक्षीले पाइसकेको छ ।