निर्णय नं. २७०४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७०४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/२८ २०७४ निर्णय नं. २७०४ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् ०४२ सालको रिट नं. २३६३ आदेश भएको मिति : २०४३।४।२८।३ मा निवेदक : का.न.पं.वडा नं.१६ पकनाजोल बस्ने गणेशराज उपाध्याय विरुद्ध विपक्षी : केन्द्रीय तहसील कार्यालय त्रिपुरेश्वरसमेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) निवेदकको जग्गा जेथाजमानी दिई रु.४०,०००।– ऋण स्वीकृत गराएपछि पुनः रु.१०,०००।– ऋण स्वीकृत गराएको र उक्त रकममा समेत निवेदकको घर जग्गा नै धितो राखिएको देखिन्छ । तर त्यसको लागि निवेदकको सहमति लिएको कुनै कुरा मिसिलबाट देखिँदैन । यस स्थितिमा निवेदकको सहमति बेगर प्रदान गरिएको ऋणमा पनि निवेदकलाई दायित्व बहन गराउन सकिने भएन । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट विद्वान अधिवक्ता श्री भक्तबहादुर श्रेष्ठ आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. गीता राणाले विपक्षी घरेलु तथा ग्रामीण उद्योग विकास समितिबाट लिनु भएको ऋण र सो को ब्याज समेत निज गीता राणाले नबुझाउनु भएको हुँदा समितिको तर्फबाट ऐन अनुसार नियुक्त मध्यस्थ सहअञ्चलाधीश समक्ष लेनदेन मुद्दा दायर गर्नुभएको रहेछ । सहअञ्चलाधीश कार्यालयले साँवा रु.५०,०००।– ब्याज रु.४४,८८६।३६ र कोर्टफी रु.३११६।५८ र अरु दस्तूर २।५० समेत गरी जम्मा रु.९८०६६।– भरी भराउ गर्न पाउने ठहरी ०३७।१०।२८ मा फैसला भएको रहेछ । सो बमोजिम भरी भराई पाउने ठहरेको रुपैयाँ भरी भराउ गर्ने सिलसिलामा कार्यालयले ०४१।१२।१२ मा मलाई लेखेको पत्रमा गीता राणा र निजको जेथा समेत यस कार्यालयबाट खोज तलास गर्दा आजसम्म फेला नपरेकोले खोजी पत्ता लगाई १५ दिनभित्र यस कार्यालयमा बुझाउन लगाई दिनु होला अन्यथा निज गीता राणालाई तपाईले धितो राखि दिनु भएको का.न. पं.बाट सिफारिश भई रोक्का रहेको पसल सहितको घर जग्गाबाट लिलाम बिक्री गरी सरकारी रकम रु.९८०६६।– असूल उपर गरिने व्यहोरा जनाइएको । ३. समितिबाट ऋण गीता राणाले लिनु भएको हो । उहाँहरूको चल अचल सम्पत्ति नेपालमा के कति छ श्री ५ को सरकारलाई जानकारी हुने निर्विवाद छ । गीता राणा कहाँ बस्नु हुन्छ उहाँको घर जग्गा कहाँ कति छ पत्ता लगाई दिने दायित्व मैले बहन गर्नुपर्ने होइन । विपक्षी समिति र म बीच आजसम्म त्यस्तो कुनै सम्झौता भएको छैन । ०२५।३।३२।२ मा समिति र गीता राणाको बीचमा भएको सम्झौता पत्रमा रु.८,०००।– गीता राणाले ऋण लिएको र निवेदकलाई केवल साक्षी राखिएको छ । यदि मैले उल्लिखित घर जग्गा गीता राणाले लिएको ऋण बापत जमानी दिएको भए जमानी बस्नेले राखेको सम्पत्तिको विवरणको कलममा लेखिनु पर्ने तर त्यस्तो गरिएको छैन । उक्त कारोबारमा निवेदक जमानी बसेको नभई साक्षी मात्र बसेको छु । ०२५।३।३२ पश्चात गीता राणाले समितिमा मिति ०२५।४।८।३ र ०२५।१२।१५।६ मा क्रमशः रु.५,०००।– र रु.३७,०००।– ऋण लिनु भएको सम्झौता पत्रमा निवेदकको कुनै सरोकार छैन यस स्थितिमा समितिले भराई पाउने ठहर भएको रकमको लागि अभिभारा बहन गरा