निर्णय नं. ९०६१ - कीर्ते जालसाज
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०६१ - कीर्ते जालसाज भाग: ५५ साल: २०७० महिना: माघ अंक: १० फैसला मिति :२०७०/०३/३१ ३१८४ नेकाप २०७० अङ्क १० नि.नं.९०६१ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की फैसला मिति : २०७०।३।३१।२ ०६८–CR–०३९६ मुद्दाः– कीर्ते जालसाज । पुनरावेदक/प्रतिवादी : जिल्ला सप्तरी, गाउँ विकास समिति रामनगर वडा नं. ८ बस्ने धर्मनाथ यादवको मु.स.गर्ने बुधनी देवी यादव विरूद्ध विपक्षी/वादी : जिल्ला सप्तरी, गाउँ विकास समिति मधुपट्टि वडा नं. ७ बस्ने अक्षमित चौधरीको जाहेरीले नेपाल सरकार § भिन्नभिन्न निकायका भिन्नभिन्न विशेषज्ञले एउटै राय प्रस्तुत गरी लिखतको आधिकारिताका र त्यसको वैधानिकताका सम्बन्धमा उल्लेख गरेका तथ्यगत र वैज्ञानिक प्रमाणलाई अन्यथा भन्न मिल्ने कुनै आधार र विवाद देखाउने ठाउँ नहुने । (प्रकरण नं.५) § लिखत कीर्ते भनी विशेषज्ञले दिएको रायलाई प्रतिवादीले आधार र कारणसहित अन्यथा भनी खण्डन गर्न नसकेको अवस्थामा सम्बन्धित विषयका विशेषज्ञको विज्ञतालाई कानूनीरूपबाट इन्कार गर्न नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ता लेखनाथ अधिकारी विपक्षी/वादीका तर्फबाट : विद्वान सहन्यायाधिवक्ता खगराज पौडेल अवलम्बित नजीर : सम्बद्ध कानून : § अदलको महलको ३ नं., § प्रमाण ऐन, २०३१ को दफा २३ § कीर्ते कागजको महलको १, ३, ७, १० नं. शुरू सप्तरी जिल्ला अदालतमा फैसला गर्ने :– मा.न्या.श्री गोपालप्रसाद भट्टराई पुनरावेदन अदालत, राजविराजमा फैसला गर्ने :– मा.न्या.श्री दीपककुमार कार्की मा.न्या.श्री शम्भुबहादुर खड्का फैसला स.का.मु.प्र.न्या.दामोदरप्रसाद शर्मा : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– विदेश भारत, जिल्ला छपरा, प्रगन्ना गोठना थाना भरोंडा मौजे झकरा बस्ने विलट सिंह र गणेश सिंहसमेत २ जनाको नाममा दर्ता रहेको जिल्ला सप्तरी, गा.वि.स.मधुपट्टि वडा नं.६ कि.नं. ५१, १२५, १२६, १२७, १६१ र ऐ वडा नं.७ (क) कि.नं. १६१, ऐ वडा नं.७ (ख) कि.नं. २२ र ५० समेत जम्मा ३–६–५ जग्गा धर्मनाथ यादवले मिति २०३६.११.२९ मा र.नं. ४३५१ बाट पारीत गराई लिएको भनेकोमा निजहरू विदेशी भन्ने २०२१.१.२३ को र.नं. ९४० र २०२१.१२.२४ को र.नं. १५१५ को राजीनामाबाट देखिन्छ । निज विलट सिंह र गणेश सिंहको २०३१ र २०३३ सालमा मृत्यु भएकोमा मृतकका नामको अर्को व्यक्ति खडा गरी प्रतिवादी धर्मनाथ यादवसमेतले आफ्नो नाममा जग्गाहरू पारीत गराई कीर्ते कसूर गरेको हुँदा कीर्ते कसूर गर्ने प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त । विलट सिंहको २०३१ सालमा र गणेश सिंहको २०३३ सालमा स्वर्गवास भई निजहरूको हक अपुताली खाने कोही नभएको र विदेशी मानिसको अपुताली परेको जग्गा नेपाल सरकारको हुनुपर्नेमा कीर्ते गरी धर्मनाथ यादवले पारीत गरी लिएकोले लिखत बदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको सर्जमिन मुचुल्का । विलट सिंह र गणेश सिंहले मोहीलाई जग्गा बिक्री गर्न मालपोत कार्यालयमा आएकोमा मोहीले पैसा दिन नसक्दा सो जग्गाको मोल दिई पारीत गराई लिएको हुँ । मलाई जग्गा बिक्री गर्ने व्यक्ति जीवित छन् वा मरिसके मलाई थाहा छैन । मैले कार्यालयको रोहबरमा जग्गा खरीद गरिलिएको हुँ । लिखतमा रहेका विलट सिंह र गणेश सिंहको वतन भारत देखिएकोले र उमेरसमेत फरक देख