निर्णय नं. ३१६५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१६५ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०८/०३ २१५८ निर्णय नं. ३१६५ ने.का.प. २०४४ अङ्क ८ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट पूर्ण इजलास नम्बर ३१ विषय : उत्प्रेषण । निवेदक :का.जि.का.न.पं. वडा नं. १ नक्शाल बस्ने मथुराप्रसाद मास्के । विरुद्ध विपक्षी :जाउलाखेल डिष्टिलरी प्रा.लि.को तर्फबाट ऐ. को सञ्चालक ल.पु.जावलाखेल बस्ने विजय कुमार शाह । आदेश भएको मिति: २०४४।८।३।५ मा ठेक्काको अवधि नै समाप्त भइसकेको देखिन आएकोले तत्सम्बन्धी हक अधिकारको प्रचलनको प्रश्न सम्बन्धमा विचार गर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ,विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त अन्तःशुल्क विभागतर्फबाट: विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेम बहादुर विष्ट तथा विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात विपक्षी, रिट निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली तथा विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह: सर्वोच्च अदालत डिभिजन बेञ्जको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो भए विन्तिपत्रमा लेखिएको त्यस अदालतको डिभिजन बेञ्जबाट निर्णय भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदन सम्बन्धी मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम गरी छिनिदिनु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भइआएको हुकुम प्रमांगी बमोजिम यस इजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. आधुनिक तथा वैज्ञानिक डिष्टिलरीको स्थापना गर्न अन्तःशुल्क विभागको मिति २०३१।१०।१० को सूचनामा दर्खास्त दिएकोमा प्रकाशित सूचनाको शर्त एवं ऐन नियमको अधीनमा रही काम गर्ने गरी इजाजत दिने निर्णय भए अनुसार अन्तःशुल्क नियमहरू, २०१९ को नियम ३, ४ बमोजिम ४० यू.पी. १ सो भन्दा बढी शक्तिको निम्न खालको स्वास्थ्यकर मदिरा उत्पादन बिक्री गर्ने इजाजत पाई न्यूनतम ग्यारेन्टी रु. २,००,०००।– बुझाउने कबूलियत गरी काम गर्दै आएका छौं । सूचनाको शर्त नं. १७ बमोजिम ऐन नियम बर्खिलाप काम गरेको छैन । तसर्थ शर्त नं. ८ अनुसार अन्तःशुल्कको दरमा हेरफेर गर्न बाहेक इजाजत रद्द गर्न नसकिने कुरा प्रष्ट छ। ०३८।०३९ सम्म अनुमति पत्र नवीकरण हुँदै आएकोले ०३९।०४० को पनि नवीकरण गर्न दर्खास्त दिएकोमा बिक्री वितरणको अनुमति पत्र मिति २०३९।२।२७ मा नवीकरण भयो तर मिति २०३९।४।३ देखि मौखिक आदेशद्वारा बिक्री पनि रोक्का गर्नु भयो जुन गैरकानूनी, अनाधिकार र अन्याय पूर्ण समेत छ । ३. तपाईले मात्र काम गर्न पाए कति सम्म न्यूनतम ग्यारेन्टी दिन सकिन्छ सो को समुचित जवाफ पठाएपछि मात्र नवीकरणमा विचार गरिनेछ भन्ने पत्र आएकोले रु. ९,२५,०००।– दिने कबूल गरी जवाफ पठाएको थिएँ । नवीकरण भयो भएन कुनै जानकारी छैन । यसै बीच मिति २०३९।६।५ मा निम्नकोटीको मदिरा उत्पादन गर्ने बारे दर्खास्त आव्हान गरियो । त्यस उपर रिट नं. ९४३ मा निवेदन गरेको छु । यसरी प्रकाशित सूचना नै सम्मानीत अदालतको विचाराधीन रहेको अवस्थामा विपक्षीहरूलाई निम्नकोटीको मदिरा बनाउन र बिक्री वित