निर्णय नं. ९०६५ - जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०६५ - जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग भाग: ५५ साल: २०७० महिना: माघ अंक: १० फैसला मिति :२०६९/१०/१७ ५३०२ नेकाप २०७० अङ्क १० नि.नं.९०६५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री सुशीला कार्की फैसला मिति : २०६९।१०।१७।४ ०७६-CR-१२५० र ०६७-CR-१३०५ मुद्दा :– जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग । पुनरावेदक/वादी : नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : कैलाली जिल्ला, मोहन्याल गाउँ विकास समिति वडा नं. १ बस्ने रमेश भन्ने बीरबहादुर सार्की पुनरावेदक/प्रतिवादी : जिल्ला कैलाली, मोहन्याल गाउँ विकास समिति वडा नं. १ घर भई हाल कारागार कार्यालय, डोटीमा कैदमा रहेको वर्ष २१ को रमेश भन्ने बीरबहादुर सार्की विरूद्ध प्रत्यर्थी/वादी : नेपाल सरकार § जबर्जस्ती करणीको कसूर स्थापित हुन पीडितको कन्याजाली च्यातिएको हुनुपर्ने अवस्थालाई पूर्वशर्तको रूपमा लिन मिल्दैन । Hymen is intact भएको अवस्थामा पनि जबर्जस्ती करणीको कसूर स्थापित हुन सक्ने । § घटनाबाट पीडित व्यक्तिले घटनाको सम्बन्धमा अदालतमा व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) बमोजिम प्रत्यक्ष प्रमाणको रूपमा अदालतले ग्रहण गर्नुपर्ने । (प्रकरण नं.३) § ज्यानसम्बन्धी अपराधहरूमध्ये कर्तव्य ज्यान (Murder) र यसको उद्योग (Attempt to Murder) को बीचमा अपराधका तत्त्वहरूको रूपमा रहेका आपराधिक कार्य (Actus reus) र आपराधिक मनसाय (Mens reus) को संयोजनात्मक उपस्थितिको दृष्टिबाट भिन्नता रहेको हुँदैन । दुबै प्रकृतिका अपराधमा सो अपराध गर्ने व्यक्तिले पीडितको मृत्युको मनसाय राखेर आफ्नो कार्यबाट आपराधिक कार्य सम्पन्न गरेको हुन्छ । तर ज्यान मार्ने उद्योगको अपराध कायम हुनको लागि कुनै कारणले कर्ताको अपेक्षाअनुसार पीडितको मृत्यु भएको हुँदैन । ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम मनसाय तत्त्वको विद्यमानता आवश्यक हुन्छ र यस्तो मनसाय अभियुक्तको क्रियाबाट स्पष्ट हुन्छ । ज्यान मार्ने मनसाय रहेको अवस्थामा ज्यान मार्न नपाएको स्पष्ट कारण र अवस्था देखिनुपर्ने । (प्रकरण नं.४) पुनरावेदक/वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं., जबर्जस्ती करणीको महलको ३(2) शुरू तहमा फैसला गर्ने :– मा.न्या.श्री हिमालयराज पाठक पुनरावेदन तहमा फैसला गर्ने :– मा.न्या.श्री दीपकराज जोशी मा.न्या.श्री रामप्रसाद खनाल फैसला न्या.रामकुमारप्रसाद शाह : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, दिपायलको मिति २०६७।१०।५ को निर्णयउपर वादी एवं प्रतिवादी दुबैतर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार रहेको छ :– मेरी छोरी वर्ष ११ की कमलाकुमारी साउद मिति २०६५।९।२२ गतेका दिन बाख्रा चराउन भनी गाउँकै जङ्गलमा गएको अवस्थामा दिउँसो १२ बजेको समयमा जिल्ला कैलाली, मोहन्याल गाउँ विकास समिति वडा नं. १ विरखेत बस्ने वर्ष २१ को बीरबहादुर सार्कीले जबर्जस्ती करणी गरी छोरीको टाउको, हात, खुट्टामा ढुङ्गाले हानी सख्त घाइते बनाई छोरीको बायाँ गालामा दाँतले टोकेको र वेहोश अवस्थामा घटनास्थलमै भेटिएकीले छोरीको स्वास्थ्य परीक्षण, घाँउजाँच, केश फाराम गरी निज बीरबहादुर सार्कीलाई पक्राउ गरी कानूनबमोजिम गरी पाऊँ भन्नेसमेत व्यहोराको मिति २०६५।९।२४ गतेको नरमीदेवी साउदको