निर्णय नं. ३१७० - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१७० - उत्प्रेषण मिश्रित परमादेश भाग: २९ साल: २०४४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४४/०४/२० २२०६ निर्णय नं. ३१७० ने.का.प. २०४४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको रिट नम्बर २५५९ विषय : उत्प्रेषण मिश्रित परमादेश । निवेदक :जि. सुनसरी भरौल कालाबन्जर स्थित श्री शौभाग्यलक्ष्मी राईस एण्ड आयल मिल्सको प्रोप्राइटर ऐ धरान बजार रत्नरोड वार्ड नं. २ घर भै हाल जि.मोरङ विराटनगर न.पं. वार्ड नं. ९ बस्ने सुरेशकुमार शर्मा । विरुद्ध विपक्षी : कर कार्यालय धरान । श्री कर विभाग लाजिम्पाट,काठमाडौं । आदेश भएको मिति: २०४४।४।२०।४ मा कर कार्यालय स्वयंको जानकारीमा रहेको कर विभागको मिति ०३७।१२।१८ र आफ्नो २०४१।१२।२१ को पत्रको सिलसिलामा कर छुट पाउने नपाउने सो विषयमा निर्णय गरी कर निर्धारण गर्नु पर्नेमा सो बमोजिम निर्णय नगरी सोझै आफैं एसेस्मेण्ट अर्डर (Assessment Order) गरी कर कार्यालय धरानको मिति ०४२।७।१२ र मिति ०४२।१२।४ मा निवेदकलाई आयकर बुझाउन ल्याउन भनी गरेको उक्त निर्णय आदेश त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुसिलकुमार सिन्हा प्रत्यर्थीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री जीतबहादुर कार्की उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २. यस राइस मिलले रु. ८,००,०००।– को स्थिर पूँजीबाट पुरानो हलर सिष्टमलाई छाडी नयाँ सेलर सिष्टमको स्वचालित राइस मिल बनाई आधुनिकीकरण गर्न मिति २०३४।५।१० मा उद्योग विभागबाट इजाजत प्राप्त गरी सेलर सिष्टमको स्वचालित आधुनिक राइस मिल खडा गरिसकेपछि हलर सिष्टमको प्लान्टबाट उत्पादन बन्द गरी नयाँ सेलर सिष्टमको आधुनिक राइस मिलबाट मिति ०३४।१०।१९ देखि उत्पादन शुरु गरेको र यस चामल उद्योगले औद्योगिक व्यवसाय ऐन, २०१८ अन्तर्गत यस अघि कुनै आयकरको सुविधा नपाएको हुँदा तत्कालिन औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(३)(ख) र ऐ.को अनुसूची–२ अन्तर्गत ३ वर्षसम्म शत प्रतिशत आय करको छुट पाउनु पर्ने हक प्राप्त भइरहेको छ भन्ने कुरा यस्तै किसिमको अन्य स्वचालित सेलर मिल्स जुगल राइस मिल विराटनगरको आयकर सम्बन्धी रिटमा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तबाट प्रष्ट छ । (ने.का.प. २०३९ अंक ४ पृष्ठ २६ नि.नं. १५१५ मा प्रकाशित छ) यस आधुनिक राइस मिल उद्योेग माथि आ.व. २०३४।०३५ मा उत्पादन मिति ०३४।१०।१९ देखि पूँजीको आधारमा औद्योगिक व्यवसाय ऐन, २०३० को अनुसूची–२ बमोजिम ३ वर्ष अर्थात् २०३४।०३५, २०३५।३६ र २०३६।०३७ तथा २०३७।०३८ मा श्रावण देखि माघ १८ सम्म शत प्रतिशत आयकर छुट प्रदान गरेको अवधिको कर निर्धारण गर्न नहुनेमा कर लगाई सो रकम दाखिल गर्न माग गर्नुभएको अनाधिकार देखिएको प्रष्ट छ । यस उद्योग माथि आ.व. २०३४।३५ र २०३५।३६ को अघि नै कर निर्धारण भई कर दाखिला गर्न माग गर्नुभएको हुँदा औ.व्य. ऐन अन्तर्गत आयकर सुविधा पाउन रिट नं. २३९७ यसै सम्मानीत अदालतमा दायर भई सो कज भई कारवाही चलिरहेको छ । औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(३)(ख) ले यस चावल उद्योगलाई औद्योगिक व्यवसाय ऐन, २०३० को अनुसूची २ बमोजिम उत्पादन शुरु गरेको मिति २०३४।१०।१९ देखि ३ वर्षसम्म अर्थात् २०३७।१०।१८ सम्म आयकरको छुट सुविधा अवधिको आयकर निर्धारण हुनु नपर्नेमा आयकर ऐ