निर्णय नं. २७३७ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७३७ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०३/३१ ३६८२ निर्णय नं. २७३७ ने.का.प. २०४३ अङ्क - ६ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रि.फु.नं. ३९ आदेश भएको मिति : २०४३।३।३१।१ मा निवेदक : नेपाल बैंक लिमिटेडको तर्फबाट अख्तियार प्राप्त महाप्रबन्धक श्री आनन्दभक्त राजभण्डारी विरुद्ध विपक्षी : श्री ५ को सरकार अर्थ मन्त्रालयसमेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) संस्थाको आय व्यापारिक हो वा होइन भनी हेर्न उक्त संस्थाले संरचना गरेको मुनाफा कमाउने प्रक्रिया कस्तो छ भनी हेर्नु पर्ने । (प्रकरण नं. १४) (२) नेपाल बैंकले मौद्रिक तथा वाणिज्य सम्बन्धी कारोबार गर्ने कुरालाई स्वीकार गरेको देखिँदा कामको प्रकृति अनुसार बैंक व्यापारिक आय आर्जन गर्ने संस्था होइन भन्न मिल्ने देखिएन । तसर्थ बैंकले संरचना गरेको त्यस्तो मौद्रिक तथा वाणिज्य सम्बन्धी कारोबारबाट प्राप्त आयलाई व्यापारिक आय भन्नु पर्ने । (प्रकरण नं. १४) रिट/निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे विपक्षीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिट निर्णयार्थ डिभिजनबेञ्चमा पेश भएकोमा डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको बीचमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत रिट निवेदकको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छ । २. नेपाल बैंक एक्ट अनुसार १९९४ सालमा स्थापित नेपाल बैंक लिमिटेडलाई वाणिज्य बैंक ऐन, २०२० ले विलिन गराएकोमा त्यसलाई पनि हाल बहाल रहेको वाणिज्य बैंक ऐन, २०३१ ले आफूमा विलिन गराएपछि सो ऐनको दफा ५४(१) अनुसार वाणिज्य बैंक ऐन, २०३१ अन्तर्गत स्थापित मानिएको यस नेपाल बैंक लिमिटेडले सदा झैं आ.ब. ०३८ बै.चै. को आय विवरण कर कार्यालयमा पेश गरी सो वर्ष बैंकको खूद आय ६५,१२,६६४।१४ कायम गरी आर्थिक ऐन, २०३८ अनुसार आयकर बापत रुपैयाँ ३२,३५,५८२।८७ निर्धारण गरी आर्थिक ऐन, २०३८ बमोजिम ५ प्रतिशत थप हुने रु.१,६१,७७९।११ थप कर लगाइयो । ३. उक्त आदेश प्राप्त हुनासाथ विपक्षी कर विभागलाई ने.ट्रे.,कृ.सा.संस्थान जस्तो खरीद बिक्री गर्ने वा व्यापार गर्ने संस्था बैंक नहुँदा थप कर लाग्नु पर्ने होइन भनी ०४०।१२।९ र ०४१।२।२३ मा अनुरोध गरेकोमा सङ्गठिन संस्थाको व्यापारिक आयमा थप कर लाग्ने आर्थिक ऐन, २०३८ को अनुसूची ७ को द्रष्टव्य १ मा भएकोले कर कार्यालयबाट थप कर लगाएको कानुनसंगतै हुँदा बैंकलाई लागेको थप कर दाखिल गर्ने ०४१।५।१२ को श्री ५ को सरकारको निर्णयानुसार अनुरोध गरिन्छ भन्ने पत्र प्राप्त भयो । ४. बैंकको आय बैंकिङ्ग व्यवसायबाट हुने यसले कुनै प्रकारको व्यापार नगर्ने हुँदा यसको व्यापारिक आय विलकुलै नभएको बैंकको वासलातबाट स्पष्ट छँदाछँदै नलाग्ने ऐन लगाई गैरकानुनी तरिकाले करको दायित्व बढाई विपक्षीहरूले आर्थिक ऐन, २०३८ को त्रुटि गरेका छन् । वाणिज्य बैंक ऐन, २०३१ को प्रस्तावनानुसार देश र जनतालाई बैंकिङ्ग सेवा उपलब्ध गराउने हो । बैकिङ्ग व्यवसाय सेवा गर्ने उद्देश्यले गरिएको हो, व्यापार गरी आय गर्ने संस्था यो नहुँदा विपक्षीहरूले वाणिज्य बैं