निर्णय नं. २७४२ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७४२ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असोज अंक: ६ फैसला मिति :२०४३/०५/१९ १९१७ निर्णय नं. २७४२ ने.का.प. २०४३ अङ्क - ६ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४१ सालको रिट नं.१६९३ आदेश भएको मिति : २०४३।५।१९।५ मा रिट निवेदक : जि.लमजुड्ड चण्डीस्थान गा.पं.वडा नं.७ बस्ने ललितबहादुर रिमाल विरुद्ध प्रत्यर्थी : जिल्ला पञ्चायत न्यायिक समिति लमजुड्ड, जिल्ला पञ्चायत, लमजुड्डसमेत विषय : उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) गाउँ पञ्चायत न्यायिक समितिले कूलोको पानी सम्बन्धमा गरेको निर्णय उपर जिल्ला पञ्चायत न्यायिक समितिले पुनरावेदन निर्णय गर्दा गाउँ पञ्चायत न्यायिक समितिको निर्णयलाई अन्यथा गर्नुपर्ने देखिए सो गाउँ पञ्चायत न्यायिक समितिको निर्णयबाट जित्नेलाई पनि सम्मिलित गरी निजलाई पनि आफ्नो कुरा भन्ने मौका प्रदान गरी दुवै थरको कथनलाई दृष्टिगत गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९) रिट/निवेदनतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. १९४० सालमा दर्ता भएको १९९० सालमा अंशबण्डाबाट मेरो बाबुको हक हुन आएको साविक जि.मु.धनबहादुर रिमाल हाल लोकबहादुर जिम्मा लमजुङ्ग मालमा तिरो तिरिने मिलनटार भन्ने जग्गामा ओखले छहराबाट पानी लगाई आएकोमा म विदेश गएको मौका पारी ललितबहादुरले ओखले छहराको पुछारबाट कुलो काटी निजकै तीन गरा जग्गा समेत सुखा पारी कुलो लगेको, जसबाट मेरो खेत मुरी ९।१०।२ को जग्गालाई समेत असर पर्न गएकोले ललितबहादुर कै सिरानबाट कूलो ल्याई कूलो लगाई पाउँ भन्ने समेत उजूरी विपक्षी नरबहादुर रिमालले म निवेदकका विरुद्ध चण्डीस्थान गा.पं.लमजुङ्गमा दिएको । विपक्षको दावा बमोजिम नभई २००९ सालमा म निवेदकले निजी रु.५०००।– खर्च गरी शुरबहादुर तथा चीनबहादुरको खेतमा उम्रेको पानीको मूलबाट कुलो काटी लगेको हुँ विपक्षीको खेतमा चलेको कुलो मैले रोकेको छैन भन्ने समेत प्रतिउत्तर मैले दिएकोमा उजूरीबाट नै ललितबहादुरले कूलो पछि खनेको हो भन्ने समर्थन हुन आएकोले कूलो ललितबहादुरले निजी खर्चबाट खनेको देखिन्छ । हाल फुकुवा कुलो नभएकोले भू.ऐन जग्गा आवाद गर्ने को (३) नं. बमोजिम वादीले प्रतिवादीको मन्जूर बेगर उक्त जग्गाबाट कुलो लैजान नपाउने र प्रतिवादीको निजी खर्च पनि टोलाउन नमिल्ने भनी गाउँ पञ्चायत न्यायिक समितिबाट निर्णय भएको थियो । उक्त निर्णय उपर विपक्षीको प्रत्यर्थी जिल्ला पञ्चायत न्यायिक समितिमा पुनरावेदन परेकोमा पुनरावेदकलाई पानी दिन्न भन्न नमिल्ने देखिन्छ । रु.३६७।५० पैसा नरबहादुर रिमालबाट ललितबहादुर रिमाललाई भरी भराउ गराई नरबहादुर रिमाललाई उक्त कूलोबाट पानी लगी खेत सिंचाई गर्न दिने ठहर्छ भन्ने समेत निर्णय गरियो । गाउँ पञ्चायतको निर्णयलाई उल्टाउनु अघि सो मुद्दाको म प्रतिवादीलाई अ.बं. २०२ नं. बमोजिम झिकाई मेरो सबूद प्रमाणको मूल्याङ्कन गरी मेरो आफ्नो भन्नु पर्ने कुराहरू समेत सुनी निर्णय हुनु पर्नेमा मलाई नबुझी एकतर्फी फैसला गरिनु कार्यविधि सम्बन्धी कानुन एवं प्राकृतिक न्याय सिद्धान्त समेत प्रतिकूल निर्णय गरिएको छ