निर्णय नं. २७७ - लेनदेन जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७७ - लेनदेन जालसाजी भाग: ८ साल: २०२२ महिना: बैशाख अंक: १ फैसला मिति :२०२१/१२/२४ १९६७ निर्णय नं.२७७ ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री लोकराज जोशी २०१३ सालको पहिलो रिभिजन दे.फु.नं.१ निवेदक : का.इ.ज्ञानेश्वर बस्ने बृ. ज. मोहनविक्रम शाह विरुद्ध विपक्षी : भगवतीप्रसाद उपाध्याय, सप्तरी नरधी विर्ता मुद्दा : लेनदेन जालसाजी (१) लुटपिटको अवस्था–कस्तो अवस्थाको लाई लुटेको भनी भन्न नमिल्ने । यदि सो बमोजिम नबुझाएको भए मेरो यो मानिस जिम्मा यस किसिमसँग राख्ने बन्दोबस्त गरी राखेको थिएँ भनी वादीले उल्लेख गर्न र त्यसको सबुद प्रमाण दिई गुजार्न समेत सक्नु पर्ने नसकेको र निज वादीले भोजप्रसादलाई वारिस दिंदा १५ दिन भित्रै आउने भन्ने लेखेको । सो बमोजिम मौजामा आउनु त परै रहोस् खेती र मालपोत असूल तहसिलको यामसम्म पनि मौजामा नआई बनारसबाट काठमाडौं आएको भन्ने फिरादपत्रमै लेखिएको । ठेक्का तोडेमा उजुर गरेको भन्ने पनि नदेखिएको । मालपोत तहसिल र खेतीको काममा यो व्यवस्था गरेको भन्ने पनि कतै उल्लेख गर्न नसकेको समेत हुनाले टाइममा वादी आफ्नो कबुलियत बमोजिम मौजाको काम सम्हाल्न नगए छोडेकोबाट प्रतिवादीहरू मजबुर भई मौजाको काम सम्हालेको देखिएकोले माथि उल्लेख भए बमोजिम बुझाईसकेको धान र कामतमा रहेको मालहरू चलन चल्ती गरेकोमा लुटेको भन्न मिलेन । (प्रकरण नं.१७) (२) लुटपिटको १।३ नं. ले कस्तो अवस्थालाई जनाउने–हातहाली जबरजस्ती गरी लिएको नदेखिए लुटपिटको १।३ नं.प्रयोग गर्नै नमिल्ने । आफ्नो सम्पती भए पनि अर्काको जिम्मा दिएपछि निजको मञ्जुरी बेगर लुटपिटको १।३ नं. ले हात हाली लिन नपाउने भन्ने डिभिजन बेञ्चको तर्कको हकमा तत्काल प्रचलित लुटपिटको १ नं. मा अर्काका हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपाया जग्गाको बाली समेत हात हाली जबरजस्तीसँग खोसी लुटपिट समेत गरी लैजान वा कुनै किसिमसँग नोक्सान गराई दिन समेत हुँदैन भन्ने र ऐन ३ नं. मा आफ्नै हक पुग्ने धनमाल भए पनि अर्काको जिम्मा रहे भएकोमा सो जिम्मा लिने मानिसको मञ्जुरी लिई वा नालिस उजुर दिई आफ्नो हक गराए पछि मात्र लैजानु पर्छ भन्ने समेत उल्लेख भएको यस मुद्दामा सो बमोजिम हात हाली जबरजस्ती गरी लिएको नदेखिइ उपरोक्त लेखिए बमोजिम बुझी लिएको देखिएकोले उक्त ऐनहरूको प्रयोग गर्न मिल्ने देखिएन । तसर्थ, लुटपिट गरेको नठहराएको ०९।१२।५।३ को शुरु विराटनगर अमिनी (हालको मोरङ्ग जिल्ला अदालत) को मनासिव छ । (प्रकरण नं.१८) प्रतिवादी तर्फबाट : प्लिडर ठाकुरप्रसाद खरेल, प्लिडर कृष्णप्रसाद उपाध्याय फैसला १. प्रतापविक्रम, मोहनविक्रमको मोरङ्ग सिद्धनगर समेतको जग्गा जिमिदारी विर्ताको दाम काम गर्ने साविक कारिन्दाबाट राम्रो बन्दोबस्त भई फाइदा हुन नसकेकोले ठेक्का बन्दोबस्त गर्ने भएको थाहा पाई गई कुरा गर्दा सो काममा मलाई भर्ना गरी ०६।१।१६ गते दस्तखत गरी दिएकोले कामतमा आई केही दिन काम गर्दा ठेक्का लिन इच्छा भई ठेक्का सकार गर्दा पोतका हकमा निजहरूले बुझाउने गरी पहिला बर्ष ०६ सालमा धान मन ३५०० र ०७ सालसम्म बर्ष ३ मा साल १ को धान मन ४००० को दरले बुझाउने गरी जम्मा ४ बर्षको ठेक्काको हरेक साल पौष १ गते देखि आषाढ मसान्तसम्ममा बुझाउने गरी भाखा र खेतीलाई चाहिने जिन्सी चौतरिया साहेबहरूकै धानबाटहरूवा बटैयादारहरूलाई लहना खर्च बुझाई त्यसबाट असूल भएको साँवा व्याज मैले बुझाउने र असुल नभएको कर्जि बाँकीको साबुद तमसुक बुझाई दिने र खरिद