निर्णय नं. ९१०३ - नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१०३ - नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने । भाग: ५६ साल: २०७१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७०/१०/०७ ५८६५ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु. प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय फैसला मिति : २०७०।१०।७।३ ०६६–CR–०३६८ मुद्दाः नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने । पुनरावेदक/प्रतिवादी M जिल्ला पर्सा, वीरगंज उपमहानगरपालिका वडा नं. २ बस्ने शेष नैमुद्दिन विरूद्ध प्रत्यर्थी/वादी M प्रमोद विक्रम शाहसमेतके उजूरीले नेपाल सरकार तत्कालीन नेपाल नागरिकता ऐन, २०२० को दफा (३क) मा “झूठो विवरण वा बयान दिई जन्म वा वंशजको नाताले नेपाली नागरिक हो भनी झुक्याई कसैले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा थाहा हुन आएमा श्री ५ को सरकारले त्यस्तो प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकताबाट हटाउन आदेश दिन सक्नेछ” भन्ने उल्लेख भएको व्यवस्थाले कसैले प्राप्त गरिसकेको नेपाली नागरिकताबाट हटाउन आदेश गर्ने अधिकार तत्कालीन श्री ५ को सरकारमा नीहित रहेको भए पनि सो हटाउन सक्ने कार्यको अख्तियारी प्रयोग गर्ने अख्तियारवाला श्री ५ को सरकारले फरेबद्वारा वा झूठ्ठा बयान वा विवरण दिई नागरिकता प्राप्त गरेको हो भन्ने कसूरजन्य तथ्यको पुष्टि गर्नुपर्ने । पुनरावेदक प्रतिवादीले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र लिँदा पुनरावेदकले फरेब गरी वा झूठ्ठा बयान वा विवरण दिएको हो भन्ने कुराको पुष्टि हुन नसकिरहेको अवस्थामा निजलाई नागरिकताबाट हटाउने निर्णयलाई यथोचित मान्न नमिल्ने । (प्रकरण नं.९) पुनरावेदक/प्रतिवादीका तर्फबाट M विद्वान अधिवक्ता श्री प्रशन्नकुमार दास प्रत्यर्थी/वादीका तर्फबाट M विद्वान उपन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल अवलम्बित नजीर M सम्बद्ध कानून M नेपाल नागरिकता ऐन, २०२० को दफा (३क) प्रमाण ऐन, २०३१ को दफा २३ (७) शुरू निर्णय गर्ने M– माननीय गृह मन्त्री श्री धर्मबहादुर थापा पुनरावेदन तहमा फैसला गर्ने M– मा.न्या.श्री हरिराम कोइराला मा.न्या.श्री जनार्दनबहादुर खड्का फैसला न्या.बैद्यनाथ उपाध्याय M पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६३।५।१८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम दोहोर्याई हेरी पाऊँ भन्ने यस अदालतमा निवेदन परी निस्सा प्रदान भएर पुनरावेदनको रोहमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– शेष नैमुद्दिनले बाबु शेष जाहिर हुसेन र ठेगाना जिल्ला पर्सा, वीरगंज उ.म.न.पा. वडा नं. २ देखाई मिति २०४७।७।१८ मा जिल्ला प्रशासन कार्यालय, पर्साबाट ना.प.नं. १६०३१९३९८ को वंशजको नेपाली नागरिकता प्रमाणपत्र लिएको देखिन्छ । भारत बिहार प्रदेश पूर्वीचम्पारण अञ्चल छौडादानों थाना दरपा गाउँ नरकटिया १३ आदापुर (विधानसभा) भाग संख्या मतदान केन्द्र संख्या ९१, गृह संख्या ५५४ मा नामरहेको शेष नैमुद्दिनले २०३३ सालमा अङ्गीकृत नागरिकता लिन नाम दर्ता गराएकोमा सो प्राप्त नगरेपछि पुनः २०४७ सालमा वंशजको नागरिकता लिएको, निजको बाबु शेष जाहिर भारतमा नै घरबास गरी बसेकोले भारतीयको छोराले वंशजको नागरिकता पाउन नसक्ने भएको हुँदा छानबिन गरी कानूनी कारवाही गरी पाऊँ भन्ने प्रमोद विक्रम शाहसमेत विभिन्न व्यक्तिले विभिन्न मितिमा उजूरी निवेदन गरेको । उजूरी निवेदन परेपछि गृह मन्त्रालयमार्फत पत्राचार भई जिल्ला प्रशासन कार्यालय, पर्साबाट छानबिन भै कारवाही अगाडि बढेको देखिन्छ