निर्णय नं. ८८७७ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८७७ - उत्प्रेषणसमेत भाग: ५५ साल: २०६९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६९/०५/१८ ३१५४ ने.का.प. २०६९, अङ्क ८ निर्णय नं. ८८७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधशि श्री वैद्यनाथ उपाध्याय २०६८–WO–०१४२ आदेश मितिः २०६९।५।१८।२ विषयः— उत्प्रेषण समेत । निवेदकः महोत्तरी जिल्ला, नैन्ही गा.वि.स.वडा नं. ४ घर भई अञ्चल सशस्त्र प्रहरी गुल्म बागमतीमा प्रहरी जवान पदमा कार्यरत रहेका बखत प्रहरी सेवाबाट हटाइएका मृत्युञ्जयराज पाण्डेय विरुद्ध विपक्षीः मध्यक्षेत्र प्रहरी कार्यालय, हेटौंडा, मकवानपुर समेत § कसैबाट कुनै कसूर भएकै अवस्थामा पनि कानूनले अख्तियारी दिएको अधिकारी वा निकायले मात्र कसूरदार ठहर गरी सजाय गर्न सक्दछ । कानूनद्वारा अख्तियार प्राप्त नगरेको व्यक्ति वा निकायले नोकरीबाट हटाउने निर्णय गरेकोलाई विधिवत् छ भनी भन्न नमिल्ने । (प्रकरण नं.३) § अधिकारक्षेत्रको अभावको कारण उत्प्रेषणको आदेशद्वारा बदर हुने स्थितिमा त्यस्तो अनधिकृत व्यक्तिले निर्णयमा मिति उल्लेख गर्यो गरेन, प्रतिवादको मौका दियो दिएन र त्यस्तो मौका दिनुपर्ने हो होइन भन्ने यावत कार्यविधिगत प्रश्नतर्फ प्रवेश गरिरहनु नपर्ने । § न्याय निरोपण गर्ने सिलसिलामा न्यायसम्पादनकै प्रयोजनका लागि बिवादमा उठेका लिखत दस्तावेज, तथ्यगत प्रश्न र कानूनी प्रश्नको विश्लेषण गरिन्छ । न्यायसम्पादनको प्रयोजनार्थ जति विश्लेषण र व्याख्या गर्नुपर्ने हुन्छ त्यतिमै न्यायसम्पादन गर्ने कार्य स्वयम् नियन्त्रित हुनुपर्दछ । आवश्यकता भन्दा वढी सबै विषयमा विश्लेषण गर्नु वान्छनीय नहुने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय हरी उप्रेती र जग्गनाथ महतो सिंह विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे अवलम्बित नजीरः सम्बद्ध कानूनः § प्रहरी ऐन, २०१२ को दफा ९(३) § प्रहरी नियमवली, २०४९ को नियम ९३ को देहाय (१) देखि (११), आदेश न्या.वैद्यनाथ उपाध्यायः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७ (२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनसहितका सम्पूर्ण कागजातहरूको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :— म निवेदक मिति २०६३।४।२१ मा नेपाल प्रहरी जवान पदमा स्थायी नियुक्ति पाई सेवा प्रवेश गरेदेखि राष्ट्र र जनताको सेवा निरन्तर गर्दै आफ्नो विभागीय आदेश एवं नीति निर्देशनअनुरूप जिम्मेवारी पूरा गर्दै आएको थिएँ । यसै बीचमा मेरो बृद्ध हजुरआमा सिकिस्त विरामी भएको खवर टेलिफोनबाट सुन्दा मिति २०६५।११।३० मा म निवेदक तत्कालै २।३ दिनेको आउट क्या.वि.विदा माग गरी नदिएकोले अपर्झट घरतर्फ हिड्ने परिस्थिति आईपरेकोले घरमा आएको थिएँ । घरमा आउने वित्तिकै हजुरआमा सिकिस्त विरामी भएकोले उपचारको निम्ति डाक्टरलाई लिनु जानु परेकोले सोही क्रममा बाटोमा मिति २०६५।१२।२ गते मोटरसाइकल दुर्घटना भई मेरो दायाँ खुट्टा (घुँडाको जोर्नी) भाँचिएकोले जनकपुर अञ्चल अस्पतालका सर्जरी विभाग (हाड जोर्नी, नसा रोग विशेषज्ञ) डा.अनीलकुमार ठाकुरको जनकपुर स्थित क्लिनिकमा उपचार गराउँदा बेड रेष्टमा बस्न सल्लाह दिएकोले मिति २०६५।१२।२ गतेदेखि मिति २०६६।३।२ सम्म उपचारमा नै थिए । उपचारबाट घर फर्की आउँदा मलाई नोकरीबाट हटाइएको सूचना मेरो घरमा आमालाई २०६६।२।२० मा बुझाएको पत्र हेर्दा अञ्चल सशस्त्र प्रहरी गुल्म बागमती दरवन्दीका प्र.ज.मृत्युञ्जयराज पाण्डेय मिति २०६५।११।३० गतेदेखि कसैलाई नसोधी आफूखुशी गैरहाजीर रहेकोले प्रहरी टोली खटि गई खोज त