निर्णय नं. ३२८२ - उत्प्रेषण जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२८२ - उत्प्रेषण जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११ फैसला मिति :२०४४/०८/२२ २५२८ निर्णय नं. ३२८२ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको रिट नम्बर १५०२ विषय : उत्प्रेषण जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। निवेदक : जि.बाँके महादेवापुरी गा.पं. वडा नं. ७ बस्ने कुल बहादुर कुँवर । विरुद्ध विपक्षी : प्र.जि.अ., जिल्ला कार्यालय बाँके । मालपोत अधिकृत,मा.पो.का. बाँके। काम्दी चौकी बाँके । जिल्ला प्रहरी कार्याल,बाँके । प्रधानपञ्च,महादेवपुरी गा.पं. कार्यालय बाँके । सचिव,महादेवपुरी गा.पं. कार्यालय,बाँके। प्र.ज.हर्क बहादुर थापा,काम्दी चौकी,बाँके । जि.सल्यान रामपुर गा.पं. वडा नं४ बस्ने चन्द्र बहादुर वली । ऐ.ऐ बस्ने नोखी बलिनी । आदेश भएको मिति: २०४४।८।२२।३ मा निवेदकको हकको जग्गा निखी बलिनीको नाममा मालपोत कार्यालय बाँकेबाट रजिष्ट्रेशन पारीत भएको भन्ने कुरा प्रत्यर्थीहरूले समेत स्वीकारेकै देखिन्छ, निवेदकको हकको प्रमाणहरू सामेल गरी नियमानुसार नै पारीत गरेको भन्ने मालपोत कार्यालयको लिखित जवाफबाट देखिँदा बेहोश अवस्थामा मालपोत कार्यालयमा लगी सहिछाप गराएको भन्ने निवेदकको कथन विश्वासनीय नदेखिने । (प्रकरण नं. १४) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने । प्रत्यर्थी तर्फबाट: विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.प्रचण्डराज अनिलः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. २०४३।२।१५ गते म निवेदकलाई विपक्षी कार्यालयले जवरजस्ती कागज गराएकोमा सो कागज र विपक्षीहरूका सम्पूर्ण काम कारवाही बदर गरिपाउँ भनी सम्मानीत अदालत समक्ष रिट निवेदन दर्ता गरेकोमा उक्त रिट नं. २५२९ मा कारण देखाउ आदेश जारी भएको छ । ३. म निवेदकले सम्मानीत अदालतमा रिट निवेदन दर्ता गरी घर गएपछि मलाई बोलाई २०४३।३।१४ देखि १९ गतेसम्म जि.प्र.का.मा थुनामा राखी चन्द्र बहादुरकी श्रीमतीलाई बुझाउन बाँकी रु. किन नबुझाएको मैले गरेको कारवाहीमा मुद्दा गरे २० वर्ष थुनी दिन्छु भन्ने धम्की दिई विपक्षी कार्यालयका प्रहरीसाथ लगाई मलाई अचेत अवस्थामा अर्को कार्यालयमा लगी केही प्याडमा र केही कागजमा सहिछाप गराइयो । ४. मुलुकी ऐन रजिष्ट्रेशनको महलको १ नं.ले रजिष्ट्रेशन पारीत गर्दा हकभोगको प्रमाण समेत राख्नु पर्ने कानुनको विपरीत म संग कुनै पनि प्रमाण नभएको र म बेहोस रहेको अवस्थामा जग्गा पारीत गर्न वा अन्य कुनै व्यहोराको कागज गराउनु रजिष्ट्रेशनको १० नं. को प्रतिकूल समेत भएको हुँदा विपक्षीहरूको करकाप र अनुचित प्रभावबाट मेरा ईच्छा विरुद्ध बाध्य पारी कागज गराउन सक्ने अधिकार कुनै पनि कानुनले दिएको नहुँदा विपक्षी कार्यालयको काम कारवाही अ.बं. ३५ नं.ले बदरभागी छ । तसर्थः सम्मानीत अदालतमा गैरकानुनी रुपले गराएको कागज र काम कारवाही बदर गरिपाउँ भनी निवेदन दर्ता गरी कारवाही भइरहेको अवस्थामा २०४३।३।१४ गते पक्राउ गरी कुटपिट र खान नदिई २०४३।३।१९ गते विपक्षी मालपोत कार्यालयले विपक्षी झगडियाका नाममा म बेहोस भएको अवस्थामा प्र.जि.अ.को आदेश भनी हकभोगको प्रमाणको नक्कल नभई गैरकानुनी रुपले मेरा नाममा दर्ता रहेको महादेवपुरी गा.पं. को ०–१३–७ १/२ जग्गा मध्ये के कति जग्गा विपक्षीको नाममा