निर्णय नं. ३२९० - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३२९० - कर्तव्य ज्यान । भाग: २९ साल: २०४४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४४/०९/०८ २१९७ निर्णय नं. ३२९० ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४३ सालको फौ.पु.नं. ५३९ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी: जलील अन्सारीको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: जि.नवलपरासी फवलीहवा गा.पं..वडा नं. ५ बस्ने हनिफ अन्सारी । ऐ.ऐ बस्ने पदिना निसा अन्सारी । ऐ. वडा नं. ३ बस्ने अली हुसेन अन्सारी । फैसला भएको मिति: २०४४।९।८।४ मा आफ्ना स्वास्नी माथी जबरजस्ती करणी गर्न खोजी परास्त भएको अवस्थामा श्रीमतीकै गुहारबाट लोग्ने कोठामा पुग्दा निज मृतकलाई भेटी तत्काल उठेको रिसको आवेगमा चक्कूले हानेको र निजको मृत्यु भएकोमा चक्कू समेत बरामद भै आएको देखिएको र निज प्र.हनीफको बयान तथा सरजमीनको भनाईबाट समेत प्रमाणित भएको आधार प्रमाणबाट आफ्नो सतित्व बचाउन कराउनेलाई जबरजस्ती करणीको महलको ८ नं.ले केही सजायँ नगर्ने र सालालाई अदालतमा तथा प्रहरीमा गरेको इन्कारी बयान समेतको आधारमा सफाई दिने र हनीफ अन्सारीलाई ज्यानसम्बन्धीको १७(३) अनुसार कैदवर्ष १।६ १ वर्ष ६ महिना गर्ने गरी शुरुले गरेको इन्साफ सदर गरी गरेको इन्साफ मिलेको हुँदा मनासिब ठहर्छ । (प्रकरण नं. १६) पुनरावेदक, वादी तर्फबाट: विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी. विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री जयनारायण हुजेदार उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।२।१५ का फैसला उपर वादी श्री ५ को सरकार तर्फबाट यस अदालतमा पुनरावेदनको अनुमतिको लागि निवेदन परी यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. २०३९।४।३२ गते रातको ९ बजेको समयमा हनिफ मुसलमानको घर तर्फबाट मेरो दाई समसुदिन अन्सारीले ज्यान मारे भनी जोडले कराएको आवाजले म विउँझी त्यहाँ जाँदा हनिफ मुसलमानको घर आँगनमा दाई भूँईमा लडेको र हनिफ मसुलमान, निजको श्रीमती मादिना निसा र निजकै साला अली हुसेन अन्सारी समेत ३ जना सोही ठाउँमा उभिएको देखिएकाले जाहेर गरेको छु भन्ने समेत जलिल अन्सारीको जाहेरी दर्खास्त । ३. २०३९ साल श्रावण महिनाको सोमबारको दिन हो म दिदीको घर गएको थिएँ । खानाखाई भिनाजु र म गोठ घरमा सुतेका थियौं । रातको १० बजेको समयमा दिदी सुतेको कोठाबाट गाईगुईको आवाज आयो, त्यहाँ समसुदिन अन्सारीको लाश रक्तामय अवस्थामा छ भन्ने सुनें हेर्न गईन कसले मार्‍यो भनी सोधपुछ गर्दा मैले मारेको पनि दिदीको मुखबाट सुनें, मैले मारे मराएको हैन भन्ने समेत प्र.अली हुसेन अन्सारीको प्रहरीमा गरेको बयान । ४. साँझ ९.३० बजेको समय हुँदो हो स्वास्नीले चोर बदमास आयो भनी चिच्याएको आवाज सुनी घर भित्र गई हेर्दा गाउँकै समसुदिनलाई मेरो स्वास्नीले चक्कुले हानिरहेको देखें । त्यसबखत समसुदिन मरिसकेको थिएनन् सास छँदै थियो । श्रीमतीले यो बुढो आएर मेरो करणी गर्ने खोजेको थियो भन्दै चक्कूले हानिरहेको देखे पछि मैले पनि रिस थाम्न नसकी स्वास्नीको हातबाट चक्कू खोसी गर्धनमा २ पटक हानेपछि समसुदिन मरेको हो भन्ने समेत व्यहोराको प्र. हनिफ अन्सारीले प्रहरीमा गरेको बयान । ५. २०३९।४।३२ गते रातको १०–११ बजेको थियो एउटा भारी मानिस मेरो शरीर माथि चढेको मलाई भान भयो । म विउँझेको तत्कालै निजले म माथि चढी