निर्णय नं. ९०७३ - सवारी ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०७३ - सवारी ज्यान भाग: ५५ साल: २०७० महिना: फागुन अंक: ११ फैसला मिति :२०७०/०५/१३ ८२१६ नेकाप २०७० अङ्क ११ नि.नं.९०७३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की फैसला मिति : २०७०।५।१३।५ ०67-CF-0023 मुद्दाः सवारी ज्यान । पुनरावेदक/वादी : रामबहादुर तामाङको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : धादिङ जिल्ला, थाक्रे गाउँ विकास समिति वडा नं. ७ बस्ने राजकुमार तामाङसमेत § कुनै खास किसिमको सवारी साधन चलाउन कानूनले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ भने त्यसलाई जस्ताको तस्तै मान्नुपर्ने । § सवारी साधन चलाउने अनुमतिपत्र लिनुपर्ने व्यवस्था ऐच्छिक नभई ऐनले गरेको अनिवार्य व्यवस्था भएकोले सम्बन्धित सवारी साधन चलाउने अनुमतिपत्र नलिएको व्यक्तिले त्यस्तो सवारी साधन चलाउन हुँदैन भन्ने कुरालाई अन्यथा मान्न नसकिने । (प्रकरण नं.५) § सवारी साधन चलाउने अनुमतिपत्र नलिएको वा एउटा वर्गको हलुका सवारी साधन चलाउने अनुमतिपत्र लिई अर्को वर्गको भारी सवारी साधन चलाउने कार्यलाई लापरवाहीयुक्त मान्नुपर्ने । (प्रकरण नं.७) § व्यक्तिगत सवारी साधन चलाउने र सार्वजनिक भारी सवारी साधन चलाउनेको सतर्कता भिन्नभिन्न मापदण्डका हुनुपर्ने । (प्रकरण नं.९) शुरू तहमा फैसला गर्ने : मा.न्या.नारायणप्रसाद दाहाल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.रणबहादुर बम मा.न्या.हरिप्रसाद घिमिरे सर्वोच्च अदालत संयुक्त इजलासमा फैसला गर्नेः मा.न्या.ताहिर अली अन्सारी मा.न्या.सुशीला कार्की पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता ठोकप्रसाद शिवाकोटी प्रत्यर्थी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताहरू वीरेन्द्र महर्जन, विरेन्द्र कार्की र विनोद कार्की अवलम्बित नजीर : सम्बद्ध कानून : § सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (३), १६१ (४) र १६१ (५) नं. § मुलुकी ऐन, दण्ड सजायको महलको ११ क नं. फैसला न्या. गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेरी पाऊँ भनी पुनरावेदन अदालत, पाटनको मिति २०६५।३।२६ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको निवेदनमा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) को खण्ड (ख) अनुसार पूर्ण इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार रहेको छ : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजुस्थित सडकमा स्वयम्भू यातायातको बा. १ ख १२० नं. को बसले ठक्कर दिएको भन्ने घटनास्थल प्रकृति मुचुल्का । मिति २०६४।१।१५ गते काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ वनस्थलीमा १ जना पुरूष व्यक्ति अं. ३४/३५ वर्षको मानिसलाई ठक्कर दिएकोमा उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएकोले कानूनबमोजिम गरी पाऊँ भन्नेसमेत व्यहोराको प्रहरी प्रतिवेदन । काठमाडौं वीर अस्पतालको कम्पाउण्ड भित्रको इमरजेन्सीमा रहेका मृतकलाई पूर्व टाउको, दक्षिण खुट्टा भई उत्तानो अवस्थामा भएको, बायाँ कानको माथि टाउकोमा २ वटा चोट लागेको उक्त चोटबाट रगत बगेको भन्नेसमेत व्यहोराको लास प्रकृति मुचुल्का । मिति २०६४।१।१५ गते ललितपुरको एकान्तकुनाबाट १ जना मङ्गोलियन अनुहार भएका मानिस काठमाडौंको वनस्थलीमा जाने भनी चढे