निर्णय नं. ८८८१ - उत्प्रेषण परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८८१ - उत्प्रेषण परमादेश भाग: ५४ साल: २०६९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६९/०६/२८ ३७५० ने.का.प. २०६९, अङ्क ८ निर्णय नं. ८८८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की २०६५–WO–०२२१ आदेश मितिः २०६९।६।२८।१ विषय : उत्प्रेषण/परमादेश । जिल्ला निवेदकः गोरखा, पृथ्वीनारायण नगरपालिका वडा नं. ४ पदेलथोक बस्ने मंगलबहादुर थापा विरूद्ध विपक्षीः गृह मन्त्रालय समेत § विधायिकाको विवेकअनुसार निर्माण भएको कानूनको प्रयोग सो कानून निर्माण गर्दा विधायिकाद्वारा अपेक्षा गरेअनुरूप नै हुनुपर्ने र सोको अन्तिम परीक्षण गर्ने संवैधानिक दायित्व यस अदालतलाई प्रदान गरी असाधारण अधिकारक्षेत्रसमेतको सुनिश्चित व्यवस्था भएको अवस्थामा कानूनको त्रुटिलाई अनदेखा (Overlook) गर्नु मनासिब नहुने । (प्रकरण नं.५) § कानूनी त्रुटिको प्रश्न पुनरावेदन पत्रमा वा यस अदालतमा दायर गरिएको रिट निवेदनमा उल्लेख नगरेको वा नउठाइएको भन्ने मात्र आधारमा विशुद्ध कानूनी प्रश्नका हकमा यस अदालतले विचार गर्न नसक्ने भन्न नमिल्ने । § अधिकारक्षेत्र र विधिसम्मत प्रक्रियाका प्रश्न तथ्यका नभई कानूनी प्रश्न हुन् । कानूनद्वारा निर्धारित प्रक्रियाको परिपालना नगरी कुनै पनि व्यक्तिको हक अपहरण गर्न नसकिने । § निर्णय कानूनद्वारा निर्धारित प्रक्रियाअनुसार नभएको प्रथम दृष्टिमै देखिन्छ भने यो प्रश्न निवेदकले पुनरावेदन पत्र वा रिट निवेदनमा उल्लेख नगरेको भन्दैमा गैरकानूनी निर्णयले स्वतः वैधता वा कानूनसम्मत निर्णयको रूप ग्रहण गर्न स्नसक्ने । (प्रकरण नं.६) § चुनौती दिइएको निर्णयको परीक्षण गर्दा विचारणीय कानूनी प्रश्नका हकमा निवेदनमा नलेखिएको भन्ने मात्र आधारमा सो प्रश्नमा प्रवेश गर्न मिल्दैन भन्न कानूनसंगत नहुने । (प्रकरण नं.७) निवेदक तर्फबाटः विद्वान अधिवक्तहरू इन्द्र खरेल, चन्द्रकान्त ज्ञवाली र सन्तोष राना मगर विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता महेश शर्मा पौडेल अवलम्बित नजीरः § नेकाप २०५०, असार, नि.नं. ४७०८, पृ. १३३ सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) § प्रहरी ऐन, २०१२ को दफा ९(४), ११(१) § प्रहरी नियमावली, २०४९ को नियम ८८(ङ), ८४(छ), ९३(२)(ख), ८८(ङ) आदेश न्या.प्रकाश वस्तीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र धारा १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिटको संक्षिप्त तथ्य एवम् आदेश निम्नानुसार रहेको छ :– म निवेदक मिति २०५८।६।१५ को नेपाल सरकारको निर्णयअनुसार नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत लमजुङ्ग जिल्लाको बाहुनडाँडा प्रहरी चौकीमा नियुक्ति पाई अविच्छिन्न रूपमा सरकारले लगाएको काममा अनुसशासित तवरले इमानदारिताकासाथ काम गरी आएको एक कर्मठ प्रहरी जवान हुँ । कारागार शाखा कपिलवस्तुमा आफ्नो नियमित डुयूटी पूरा गरी आएको स्थितिमा म निवेदकलाई मिति २०६३।५।७ गते राति १२ बजेदेखि ऐ. ८ गते बिहान ३ बजेसम्मको तौलिहवाको कारागारको उत्तरतर्फको पोष्ट नं. ३ मा कारागार सुरक्षार्थ सुरक्षा गार्डको रूपमा ड्यूटीमा खटाइएको थियो । ड्यूटी सुकबहादुर गुरूङ्गसँग बुझेको थिएँ । राति ३ बजे प्रहरी हबल्दार रविशंकर मिश्रले ७ बजेदेखि ३ बजेसम्मको समयमा कैदी तथा बन्दीहरू चेकजाँच गर्दा ठीक हालतमा भएको जानकारी भयो भनी मेरो ड्यूटी बुझारथ गरी ३ बजेपछाडि निवेदकलाई पालो दिन आउने प्र.ज. कुमार रानालाई हातहतियार गोलिगठ्ठा बुझाई ड्यूटीफ्री भएको थिएँ । यस्तो स्थ