निर्णय नं. ८८८२ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८८२ - उत्प्रेषणयुक्त परमादेश भाग: ५४ साल: २०६९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६९/०५/१९ २७४७ ने.का.प. २०६९, अङ्क ८ निर्णय नं. ८८८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की रिट नं. २०६८–WO–०४१३ फैसला मितिः २०६९।५।१९।३ मुद्दा :– उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १४ स्थित नेपाल महिला उत्थान केन्द्र ललितपुरको तर्फबाट अख्तियारप्राप्त उपाध्यक्ष तथा कार्यकारिणी सदस्य बटुकृष्ण कार्की समेत विरुद्ध विपक्षीः पाल्पा जिल्ला, तानसेन न.पा. वडा नं ४ बस्ने चन्द्रलालको छोरा सुदीप पौडेल समेत § कुटपीट गरेको भनी स्वीकार गरेको अवस्थामा घा जाँच भएन भनेर कुटपीट नभएको अर्थ गर्नु अनुचित र आग्रहयुक्त हुने । (प्रकरण नं.३) § स्पष्टीकरण सोध्दा कानूनको दफाकै उल्लेखन आवश्यक पर्दैन । कानूनमा भएको व्यहोराको उल्लेखन भएमा सो दफा लेखिए सरहकै अवस्था मान्नु पर्ने । § कानूनद्वारा निषेधित कार्य गर्ने छूट कसैलाई हुँदैन । सम्बन्धित श्रमिक कर्मचारीले आरोपित कार्य गर्यो गरेन र गरेको भए विधिसम्मत् प्रक्रियाअनुसार कारवाहीको उठान भए भएनन् र कानूनले तोकेको सजाय भयो वा भएन न्यायिक अधिकारीले हेर्नुपर्ने । (प्रकरण नं.६) § आफैले कुटपीट गरेको भनी लगाएको आरोप स्वीकार गरेको र कुटपीट गरेको तथ्य प्रमाणित भई कुटपीटको कार्य श्रम ऐन, २०४८ को दफा ५१(क) को दायरा (Ambit) भित्र पर्ने अवस्थामा व्यवस्थापकले त्यस्तो कर्मचारीलाई सेवाबाट हटाउनु पूर्व सोधिएको स्पष्टीकरणमा श्रम ऐन, २०४८ को दफा ५१ को खण्ड (क) को कसूर गरी खराब आचरण गरेको भन्ने सो दफामा उल्लिखित शब्द जस्ताको तस्तै स्पष्टीकरणमा उल्लेख नगरिएको र दफा ५३(१) बमोजिम अभियोग र सजाय नकिटिएको भन्न न्यायोचित् र विवेकसम्मत नहुने । (प्रकरण नं.७) निवेदकहरूका तर्फबाटः विद्वान अधिवक्ता श्री श्यामनारायण श्रेष्ठ विपक्षी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रमेश वडाल अवलम्बित नजीरः सम्बद्ध कानूनः § श्रम ऐन, २०४८ को दफा दफा ५०(घ), ५१, ५१(क), ५२, ५२(४), ५३(१) फैसला न्या.प्रकाश वस्तीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) अन्तर्गत यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :– नेपाल महिला उत्थान केन्द्र ललितपुरले प्रत्यर्थी सामाजिक परिचालक सुदीप पौडेललाई तामाघाट शाखाबाट दोलालघाट शाखामा २०६५।९।१ देखि लागू हुने गरी सरुवा गरिएको थियो । निज सरुवा भएको शाखामा नगएकोले २०६५।९।७ मा कार्यकारी प्रमुखले सरुवा भएको शाखामा नगई गैरहाजीर हुनुको कारण बारे स्पष्टीकरण सोधी मिति २०६५।९।१४ मा नसिहतको सजाय समेत दिएको थियो । त्यसपछि यी विपक्षीले तामाघाट कार्यालयमा कार्यरत् पूजा गिरीलाई कुटपीट गरी जीउधन क्षति गर्ने धम्की समेत दिएको रहेछ । सो घटनापछि पूजा गिरीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजूरी दिएको बुझिन आएकोले यथार्थ बुझी प्रतिवेदन पेश गर्न प्रवन्धक सुमन महर्जन समेतलाई तोकेको थियो । निज सुमन महर्जनले यी विपक्षी सुदीप पौडेलले कुटपीटको घटना घटाएकोले पूजा गिरीले प्रहरीमा उजूरी गरेको भनी उजूरीको प्रतिलिपि समेत राखी प्रतिवेदन दिएकोले सो विषयमा मिति २०६५।१०।२० मा ७ दिनभित्र स्पष्टीकरण पेश गर्नु भनी स्पष्टीकरण सोधिएकोमा सुदीप पौडेलले २०६५।१०।२४ मा पूजा गिरीलाई एक झापड हिर्काएको भनी स्पष्टीकरण पेश गरेकोले निजलाई २०६५।१०।२६ को कार