निर्णय नं. १४४६ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४४६ - अंश भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३८/०१/१५ २८०६ निर्णय नं. १४४६ ने.का.प. २०३८ अङ्क २ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०३६ सालको देवानी पुनरावेदन नम्बर १९२ फैसला भएको मिति : २०३८।१।१५।२ मा पुनरावेदक : का.जि. का.न.पं. वडा नं. २८ भेडासिंह खिल्ह टोल बस्ने गर्भलाल प्रधानाङ्ग विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने तुम्बकेश्वरलाल प्रधानाङ्ग मुद्दा : अंश (१) एकपटक बण्डापत्र भएपछि पुनः बण्डा गरिपाउँ भनी अंशबण्डाको १ नं. ले नालेस लाग्न सक्ने कानूनी व्यवस्था नदेखिने । (प्रकरण नं. १३) फैसला न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर प्रतिवादीको निवेदनबाट पुनरावेदनको अनुमति पाई लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ । २. पिताजी प्राणेश्वर लालको २ पत्नीमा मेरो आमा जेठी लक्ष्मी देवी विपक्षीको आमा दिव्य लक्ष्मी भएको, पिता मेरो आमातर्फबाट म १ छोरा र कान्छीतर्फबाट विपक्षी १ र छोरी ३ भएका, पिता र मेरो आमा परलोक हुनु भएबाट अंशियारमा विपक्षी र विपक्षीको आमा भएको विपक्षीको आमाको छोरीहरूले विवाह खर्च समेत गर्ने गरी अरू घर जग्गाको दावा नलिई रौतहट जिल्लाको जग्गा विगाहा ४ लिने अरू २ भाइले बराबर बाँडी लिने गरी मधेशको जग्गा र भादगाउँको घर अंशबण्डा गरी २०२१ साल कार्तिक १९ गते बण्डापत्र पारित गरी छुट्टि भिन्न भएको थियो । मधेशको जग्गा कुनै विपक्षीको नाउँमा कुनै मेरो छोरा त्रिभूवनलालको नाउँमा दर्ता गराई मालपोत बुझाई भोगचलन गरी आएकोमा मेरो हकको जग्गासमेत विपक्षी र विपक्षीको आमा मिली बाबुका नाउँमा जग्गा पारित भएको बण्डापत्र छँदा–छँदै सो बण्डापत्र दवाई बाबुको हक खाने म वाहेक अरू हक खाने हकदार कोही छैन भनी निवेदन दर्खास्त दिने विपक्षी र छोराको नाउँमा गरे मञ्जूर छ भन्ने निजको आमा भई जालसाजी नाउँसारी गराएकोले जालसाजीमा र नाउँसारी बदरमा नालेस गरे कै छु बण्डापत्रमा अबण्डा राखेको भक्तपुरको घर र विपक्षी आमाले लिनु भएको ४ विगाहा कटाई बाँकी विपक्षी र मेरो छोराको नाउँमा दर्ता भएको जग्गाको तायदाती लिई आधी–आधी गरी अड्डैबाट छुट्याई पाउँ भन्ने समेत वादी । ३. त्रिभुवनलालका नाउँमा समेत नालेश नभएको त्रिभुवनका नाउँमा दर्ता भएको जग्गा मबाट तायदाती लिई बण्डा छुट्याई पाउँ भन्ने फिराद दावा कसरी लाग्छ ०२१ सालमा बण्डापत्र पास भई छुट्टिभित्र भइसकेपछि अबण्डा बाँकी भएजस्तो कि सोही पास बण्डपत्रमा लेखिएको छ भक्तपुरको घर अबण्डा हुन बण्डा हुन बाँकी त्यस्तै मधेशको जग्गा पनि लेखिनु पर्ने नलेखिएबाट बण्डा हुन बाँकी अबण्डा भन्ने फिराद लेख मै झुठ्ठा छ । यदि बण्डा हुन बाँकी भए के कति विगाहा चौहदी मोल बिगो खुलाई कोर्टफी राखी उजूर गर्नु पथ्र्यो बण्डा उठी पास भई छुट्टी सकेपछि अंशबण्डा भन्ने प्रश्न आउँदैन फिरादीका छोरा त्रिभुवनलालका नाउँमा दर्ता भएको ४ विगाहा जग्गा आमालाई अंश बापत दिई अरू जग्गा म गर्भलालले खाने बन्दोबस्त भई दर्तावाला त्रिभुवनले छोडपत्र गरी दिई यिनै फिरादी लिखतको अन्तर्गत साक्षी बसी पास भएको छ सो लिखतबाट मेरो एकलौटी हक देखिनेमा बण्डा छुट्याई पाउँ भनी झुठ्ठा उजूर गरेमा वादीलाई सजाय गरिपाउँ भन्ने समेत प्रतिवादी । ४. एकपटक बण्डा भई सो पछि फेरि तायदातीलाई अंश दिलाई पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने हुँदा वादी वादी फजुल ठहर्छ भन्ने का.जिल्ला अदालतको ०३३।६।२४।१ को फैसला ।