निर्णय नं. १४५९ - उत्प्रेषणको आदेश जारी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४५९ - उत्प्रेषणको आदेश जारी पाउँ भाग: २३ साल: २०३८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०३८/०४/०६ २२८५ निर्णय नं. १४५९ ने.का.प. २०३८ अङ्क ४ फुल बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३७ सालको रि.फु.नं. ४० फैसला भएको मिति : ०३८।४।६ मा निवेदक : जि.सुनसरी वसन्तपुर गा.प.वडा नं. ७ बस्ने भुपेश केवरथ । विरुद्ध विपक्षी : जिल्ला भूमिसुधार कार्यालय सुनसरी जि.सुनसरी वविया गा.पं.वार्ड नं. ४ बस्ने रामकृष्ण यादवसमेत विषय : उत्प्रेषणको आदेश जारी पाउँ (१) जग्गाको साविक फिल्डबुकमा कायम भइराखेको मोहीको लगत कट्टा गरी अर्को मोही विपक्षीलाई मोही कायम गरी निर्णय गर्नलाई सो जग्गाको जग्गाधनी निवेदकलाई पनि बुझी प्रतिवाद गर्ने मौका दिई निर्णय गर्नु पर्नेमा सो बमोजिम जग्गाधनी निवेदकलाई बुझी निर्णय गरेको देखिएन तसर्थ जग्गाधनी निवेदकलाई नबुझी गरेको विपक्षी जि.भू.सु.कार्यालय सुनसरीको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीतको निर्णय देखिने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. बासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको ०३६।२।२९ को निर्णय दोहर्याई पाउँ भनी निवेदक भुपेश केवरथले दिएको निवेदनमा भएका न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहोर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : भुपेश केवरथको नाउँमा दर्ता भएको वविया गा.पं.वार्ड नं. ४(क) कि.नं. ५३ को जग्गा मध्ये पूर्व दक्षिणतर्फबाट ०।१५।५ मैले कमाई आएको मोही प्रमाणपूर्जा पाउँ भन्ने रामकृष्ण यादवको निवेदन परेकोमा फिल्डबुक मगाई हेर्दा धनेश्वर मण्डललाई भन्ने किसानको महलमा उल्लेख भएको देखिनाले साविक मोहीको नाउँमा म्याद जारी गर्दा हाजिर नभई गुजारी बसेको उक्त जग्गाको १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भई टाँस मुचुल्का समेत भई आयको देखिँदा मोहियानी स्थायी निस्सा दिने साविक मोहीको लगत कट्टा गर्ने गरी सदरको निमित्त पेश गरेको टिप्पणींमा सदर भन्ने भई ०३५।८।१ मा विपक्षी जि.भू.सु.का.सुनसरीबाट निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक भुपेश केवरथले दिएको रिट निवेदनपत्रमा मेरो वविया गा.पं.वार्ड नं. ४ स्थिति कि.नं. ५३ को जग्गा ०।१९।८ धनेश्वर मण्डलले मोहियानीमा कमाई आएको थियो निजले अब म जग्गा जोत्न सक्दिन तपाईं जग्गाधनीले नै जे गर्नु पर्छ गर्नु होस भनी आफ्नो घर भारत तिर भएकोले म आफैंले कमाई घरसमेत बनाई बसी आएको छु यसै बीच विपक्षी रामकृष्ण यादवले उपरोक्त कि.नं. ५३ को जग्गा मध्ये पूर्व दक्षिणतर्फबाट ०।१५।५ जग्गा कमाई आएको भन्ने झुठ्ठा कुराको निवेदन समेतको आधारमा विपक्षी रामकृष्णलाई मेरो उपरोक्त जग्गाको मोही ठहर्याई मोहियानी स्थायी निस्सा दिने गरी ०३५।८।१ गते टिप्पणीं सदर गरी विपक्षी भू.सु.कार्यालयबाट निर्णय गरिएको रहेछ । विपक्षी भूमिसुधार कार्यालयको उपरोक्त निर्णय अनधिकृत गैरकानूनी तथा प्राकृतिक न्याय सिद्धान्त विरुद्ध छ विपक्षी रामकृष्ण यादवलाई मैले आफ्नो जग्गा कमाउन दिएको छैन । भूमिसुधार कार्यालयले मलाई यी कुराहरू भन्ने मौका नै दिएको छैन मेरो जग्गामा बिना मेरो सोधनी स्वीकृत मञ्जूरी झुठ्ठा मोही कायम