निर्णय नं. ९१५१ - उत्प्रेषण/परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१५१ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७०/०९/०८ ४६०४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती आदेश मिति : २०७०।९।८।२ २०६९–WO–०६४९ मुद्दा : उत्प्रेषण/परमादेश । निवेदक : जिल्ला सिरहा, मझौरा गा.वि.स. वडा नं. ८ बस्ने भोलाई साहु तेलीको छोरा वर्ष २७ को खुशीलाल साह विरूद्व प्रत्यर्थी : नेपाल सकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत § अमूक कुनै राजनीतिक दलहरूको सिफारिशमा कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा उन्मुक्ति दिँदै जाने हो भने कानूनी शासनको सिद्धान्तको बर्खिलाप हुनजानुका साथै दण्डहीनताले प्रश्रय पाई राज्य व्यवस्था सञ्चालनमा समेत कठिनाई उत्पन्न हुन जाने कुरालाई नकार्न नसकिने । § कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा अभियुक्तहरूलाई कानूनको कठघारमा नउभ्याई सिधै राजनीतिक दलको सिफारिशका आधारमा उन्मुक्ति दिँदै जाने हो भने जघन्य अपराधको श्रृङ्खला बढ्दै गई नागरिक असुरक्षित हुँदै राज्य व्यवस्था नै सञ्चालन गर्न नसकिने अवस्थामा पुग्न जाने । § कस्ता प्रकृतिका मुद्दाहरू फिर्ता लिन सकिने भनी विभिन्न मुद्दाहरूमा नजिर प्रतिपादन भईरहेको अवस्थामा प्रतिपादित सिद्धान्त विपरीत गई सरकारले निर्णय गर्न मिल्ने देखिन नआउने । (प्रकरण नं.४) § अदालतबाट जारी भएका आदेशभित्र रही सरकारले प्रस्तुत सरकारवादी फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धमा प्रक्रिया अगाडि बढाई निर्णय गरेको देखिन नआउने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्य एवम् विद्वान अधिवक्ता सुभाष आचार्य विपक्षीका तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सन्जिव रेग्मी अवलम्बित नजीर : सम्बद्ध कानून : § सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २९ § ज्यानसम्बन्धीको महलको १३ (३) नं. आदेश न्या. सुशीला कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७ (२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भै पेश हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एंव आदेश यस प्रकार छ : मिति २०६७।०४।१५ गते म निवेदकको घरमा आएका पाहुनाले छिमेकी पल्टु वा बिन्टु यादवको खेतमा रहेको पैनी (नाला) मा दिसा पिसाब गरेको कुरालाई लिएर मेरो पिता भोलाई साहुसँग वादविवाद गरी सोको पर्सिपल्ट मिति २०६७।४।१७ मा नारायण कामैताको घर दरवाजामा पञ्चायत राखिएको भनी मेरो पितालाई त्यहाँ बोलाएको हुँदासमेत त्यहाँ गयौँ । त्यहाँ जाहेरी तथा अभियोगपत्रमा उल्लिखित प्रतिवादीहरू हातहतियारसहित परिपञ्च मिलाई बसिरहेका रहेछन् । मेरो पिता भोलाई साहु त्यहाँ पुग्नसाथ चारैतर्फबाट घेरा हाली लट्ठी, इट्टा, ढुङ्गा, खुकुरीले लखेट्दै हानी काटी सोही कारणले मेरो पिताको मृत्यु हुन गएको हो । उल्लेख भएबमोजिम गरिएको सुनियोजित हत्याको घटनाबाट पीडित म निवेदकले प्रतिवादीहरूउपर हदैसम्मको कारवाहीको निम्ति जाहेरी दिई मुद्दाको कारवाही चलिरहेको अवस्थामा मिति २०६९।०८।२१ मा विपक्षीद्वारा मुद्दा फिर्ता लिने निर्णय भएको कुरा जानकारी हुन गयो । मिति २०६९।०७।१७ को गृह मन्त्रीस्तरबाट निर्णय भै मिति २०६९।०८।२१ मा प्रधानमन्त्रीबाट स्वीकृत भै भएको भनिएको उक्त गैरसंवैधानिक एवम् गैरकानूनी निर्णयमा जिल्ला सिरहा, गा.वि.स. मझौला गा.वि.स. वडा नं. ८ बस्ने खुशीलाल साहसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सिरहा, मझौला गा.वि.स. वडा नं. ८ बस