निर्णय नं. ३३६ - लिखत पास

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३६ - लिखत पास भाग: ९ साल: २०२३ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०६/२५ २२६२ निर्णय नं. ३३६ ने.का.प. २०२३ प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री कालीप्रसाद उपाध्याय सम्वत् २०२२ सालको दे.फु.नं. १५१ निवेदक : पद्मनारायण तामाङ विरुद्ध विपक्षी : जगतप्रसाद मैनाली मुद्दा : लिखत पास (१) तत्काल प्रचलित अदालती बन्दोबस्तको ६३ नं.–दरपिट गरी हद नाघी ल्याएको फिराद फिर्ता गर्नुपर्ने मिसिलबाट गुज्रेको म्याद थामिन सक्ने अवस्थाको देखिएमा हदम्याद थामिन सक्ने अवस्थाको देखिएमा हदम्याद नाघी दर्ता भएको भनी खारेज हुन नसकी इन्साफ गर्नुपर्ने । तत्काल प्रचलित अ.बं.६३ नं.का ऐनबमोजिम दरपीठ गरी हद नाघी ल्याएको फिराद फिर्ता गर्नुपर्ने नगरी अदालतले त्रुटी गरेको र उपरोक्त मिसिलबाट गुजे्रको हदम्याद थामिन सक्ने अवस्था देखिएकाले हदम्याद नाघी दर्ता भएको भनी फिराद खारेज हुन नसकी ईन्साफ गर्नुपर्छ । (प्रकरण नं. १०) (२) खारेजी ऐनको रीत नपुगेको भनी भएमा जिकीर सबुदबाट हुनजाने निस्कर्षमा पुगेको नदेखिए सबुद बुझ्ने काम हुनुपर्ने । गैरकानूनी गरे वापतको प्रतिकृया नदेखिएमा अपील तहमा जिकीर गर्न सकिने कुरा लोप हुन जाने अ.बं.६१ नं.मा भएको व्यवस्थाबाट तल्लो अदालतलमा इन्साफ गर्न मिसिल फर्कि जाने देखिने । (प्रकरण नं. १०) दर्ता गर्दा ऐनको रीत नपुगेको भनी खारेज भएकोले कारवाईको प्रसङ्गबाट हुन गएको खारेजीलाई अमान्य गरे पनि जिकीर सबुदबाट हुन जाने निष्कर्षमा यो मुद्दा पुर्‍याइएको देखिएन । सबुद बुझ्ने काम पनि हुनैपर्छ । गैरकानूनी गरेको वापतमा हुन जाने प्रतिकृयाहरू केहि नभएकोले तत्सम्बन्धी अपील तहमा जिकीर गर्न सकिने कुराहरू पनि लोप हुन जान्छ । उसमा पनि अ.बं.६१ नं.का ऐनमा खारेज भई मिसिल फर्केकोमा गर्ने व्यवस्था भएकोबाट तल्ला अदालतमा इन्साफ गर्न निमित्त माथिल्ला तहबाट मिसिल जाँदो रहेछ भनी देखिएकै छ । तसर्थ, डिभिजन बेञ्चका फैसलाबमोजिम किनारा गर्न निमित्त मिसिल जिल्ला अदालतमा पठाईएको मुनासिवै छ । (प्रकरण नं. १०) (३) मिसिलबाट फिरादपत्र थुतेर फिर्ता गर्न नमिल्ने । तत्कालको अ.बं.१७२ हालको अ.बं.१३३ नं.बमोजिम मनासिव माफिकको कागज गराउन सकिने । कारणबस दर्ता भईसकेको फिरादपत्रमा दरपिठगरी फिर्ता गर्दा आउने जवाफ लिनु परेको छ भने तत्काल प्रचलित अ.बं.१७२ नं.को अ.बं.१६३ नं.को प्रयोग हुन सक्छ । मनासिव माफिकको कागज गराउन सकिन्छ । मिसिलबाट फिरादपत्र थुतेर फिर्ता गर्न हुँदैन । (प्रकरण नं. ११) निवेदक तर्फबाट : प्लीडर श्री दोजराज फैसला १. अन्यायवालाले मेरो बाबुबाट मोरु ९०८।५० कर्जा लिई लिखतमा लेखिएको ४ किल्ला भित्रको जग्गा राजिनामा गरी दिएको पास गरी नदिएको हुनाले निजलाई सजाय गरी पास गराई पाउन भन्ने समेत ०१६।३।३।४ को जगतप्रसाद मैनालीको फिरादपत्र । वादीबाट मो.रु.९०८।५० लिनु खानु गरी लिखत गरी दिएको होइन । भए मौकामै पास गराउनु सक्नु पर्ने म्याद नाघेपछि फिराद दर्ता भएकोले ईन्साफ नभई खारेज हुनु पर्ने भन्ने समेत ०१७।३।४।६ को पद्यनारायण तामाङको प्रतिउत्तरपत्र । २. रजिष्ट्रेशनका ११ नं.का ऐनको म्याद ६ महिना नाघेको ३५ दिन भित्र फिराद दर्ता भएको नदेखिनाले खारेज हुने ठहर्छ भन्ने समेत ०१७।४।२७।५ को का.प.ई.अ.को फैसला । ३. म्याद नाघेको भनी दरपिठ गरी दिएको भए बाबु मरी ०१६।२।२० मा कृया बस्नु परेको ब्यहोरा जनाई उजुर गर्ने थियो खारेज गरेकोमा चित्त बुझेन भन्ने समेत ०१७।८।२६।१ को जगतप्रसादको अपीलपत्र ।