निर्णय नं. ९०८१ - ज्यानमार्ने उद्योग र चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०८१ - ज्यानमार्ने उद्योग र चोरी भाग: ५५ साल: २०७० महिना: फागुन अंक: ११ फैसला मिति :२०७०/१०/१५ ३७०५ नेकाप २०७० अङ्क ११ नि.नं.९०८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की फैसला मिति : २०७०।१०।१५।४ स.फौ.पु.नं. ०६७-CR-०७४३ मुद्दा : ज्यानमार्ने उद्योग र चोरी । पुनरावेदक : जिल्ला झापा, अनारमनी गा.वि.स.वडा नं. ४ घर भै हाल कारागार कार्यालय, झापामा थुनामा रहेका रविन थापासमेत विरूद्ध प्रत्यर्थी/वादी : रतन बराइलीको जाहेरीले नेपाल सरकार § प्रतिवादीहरूले जाहेरवालालाई फायर गर्दाका साथसाथै गुहारगुहार भनी जाहेरवाला कराएको कारणले तुरून्त गाउँलेहरूको उपस्थिति भई एकैछिनमा धेरै जमात अगाडि आई प्रतिवादीहरूलाई लखेट्दै लगेको कारणबाट पनि अन्य फायर हुन नसकेको अवस्था देखिँदा हारगुहार गर्दासाथै गाउँलेहरूको भीड तुरून्त अगाडि आउनु नै तेस्रोतत्त्वको उपस्थिति भएको देखिने । (प्रकरण नं.४) § पेस्तोल जस्तो जोखिमी हतियारले पूर्ण मनसायपूर्वक जानीजानी जाहेरवालामाथि पेस्तोल प्रहार गरी घाइते पारी ज्यान मर्नेसम्मको काम गरेको तर कुनै तरहले ज्यान मर्न नपाएको हुँदा यी प्रतिवादीहरूले ज्यान मार्ने उद्योगको कसूर गरेको ठहर्ने । (प्रकरण नं.६) शुरू तहमा फैसला गर्ने : न्या.शालिग्राम कोइराला पुनरावेदन तहमा फैसला गर्ने : न्या.विष्णुदेव पौडेल न्या.मोहनबहादुर कार्की पुनरावेदकका तर्फबाट : प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजीर : § नेकाप २०४२, अङ्क ७, नि.नं.२४४०, पृष्ठ ६९८ सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ र चोरीका महलको १४ नं. फैसला न्या.गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, इलामको मिति २०६७।१।८ को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– जिल्ला झापा, बुधबारे गा.वि.स.वडा नं. ७ स्थित पूर्वमा बुधबारे बजारबाट पूर्व लाइन, पश्चिम बुधबारे बजार जाने बाटो, उत्तरमा आदर्श राइस मिल, दक्षिणमा तुलसीराम विमलीको खाली जग्गा यति चार किल्लाभित्र रहेको सानो बाटोमा रेजिना ज्वेलर्सबाट रतन बराइलीले सुन पसल बन्द गरी सुनको तथा नगद पोको लिई घरतर्फ आईरहेको अवस्थामा निज रतन बराइलीको हातबाट उक्त सुन तथा नगदको पोको तीनजना लुटेराहरूले हतियार फायर गरी लुटेको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का । जिल्ला झापा, शान्तिनगर गा.वि.स.वडा नं. १ स्थित पूर्वमा चिलिमगढी जङ्गल, पश्चिममा चिलिमगढी खोला, उत्तरमा जनज्योती सामुदायिक वन, दक्षिणमा सोही जङ्गल यति चार किल्लाभित्र रहेको जङ्गलको बीच भागमा ३ जना लुटेराहरूले रतन बराइलीको साथबाट सुन तथा नगदको पोको लुटी लगी भाग्दै गर्दाको अवस्थामा स्थानीय मानिसहरूले निजहरूको साथबाट लुटिएको सुन तथा नगदको पोको थान १, कटुवा पेस्तोल थान २ तथा सोही पेस्तोलमा फायर भई चेम्बरमा खोका थान १/१ रही रहेको अवस्थामा खोसी प्रहरी टोलीलाई बुझाइएको भन्नेसमेत व्यहोराको बरामदी मुचुल्का । मिति २०६५।६।३ गते अन्दाजी १७.३० बजेको समयमा म बुधबारे चोकतिर थिएँ । एक्कासी बजारमा सुन लुटे भन्ने आवाज सुनी हल्ला भएतिर जाँदा बजारका करीब २००० भन्दा बढी मानिसहरू पूर्वतर्फबाट दौडदै गएको देखी म पनि सोहीतिर दौडदै गएँ । रतन बराइलीको करीब १० तोला सुन लुटी हतियारबाट फायर गरी रतन बराइलीलाई घाइते बनाई निजहरू सुन त